सशस्त्रमा यस्तो अन्याय


१२ असार २०७६, बिहीबार
apf

काठमाडौं, १० असार । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल आएपछि संगठनमा तलतलसम्म गुटबन्दी झांगिएको छ । खनालले एकथरीलाई साथमा लिएर अर्कोथरीलाई पेल्ने काम गर्दैआएका छन् । ४ महिना जागिर अवधि भएका एसपी रत्न पोखरेललाई बंगलामुखी कार्यदलको इन्चार्ज बनाएका छन् ।

सशस्त्र मुख्यालयमा रहेको कार्यदलमा ५२१ दरबन्दी संख्या छ । तर कार्यरत ४ सय जति मात्र छन् । बाँकी आइजीपी खनालको निर्देशन अनुसार एसपी पोखरेलले नेतादेखि बिचौलियाहरुको घर घरमा चाकडीमा पीएसओ र चालकका रुपमा खटाएका छन् । ४ सयमा पनि जुनियर र सिनियर अधिकृतको संख्याबाहेक ड्युटीमा मुस्किलले ५० जनामात्र हुने गरेका छन् ।


एसपी पोखरेलले १ सयलाई आउट छोड्ने गरेका छन् । ती १ सयलाई आउट छाडेर उनीहरुको रासनबापतको रकम एसपी पोखरेलले खाने गरेका छन् । आगामी २०७६ कात्तिकमा अवकाश हुन लागेका एसपी पोखरेललाई आइजीपी खनालले आकर्षक मानिने कार्यदलको इन्चार्ज बनाएर ब्रम्हलुट गर्न छुट दिएका छन् । १ सयभन्दा बढीलाई नेतादेखि बिचौलियाको घरघरमा चाकरीका लागि पठाएका छन् ।

नेताको घरमा चाकडीमा पठाउनेदेखि रासनको पैसा खान आउट छाडेपछि बाँकी ५० जनाले ड्युटी गर्दैआएका छन् । उनीहरुलाई दिनमा १५–१६ घन्टासम्म ड्युटीमा राखी चरम सास्ती दिइएको छ । अन्यत्र भए बिरोध भइसक्ने थियो, तर चेन अफ कमाण्डमा चल्ने सशस्त्रभित्र भित्रभित्रै ती तल्ला दर्जाका सिपाहीहरु असन्तुष्ट छन् ।

बिहान ६ बजेदेखि १० बजेसम्म ड्युटी बसेका सिपाहीलाई खाना खाएर ११.४५ देखि २ बजेसम्म क्लास लिने भनेर अलमल्याउने गरिन्छ । २ बजे पुनः त्यही सिपाहीलाई ड्युटीमा ४ बजेसम्म पठाइन्छ । त्यसपछि रोलकल गर्ने, खाना खाने र ६ बजेदेखि राति १० बजेसम्म फेरि ड्युटीमा खटाइन्छ ।

कहिले राति १० देखि २ बजेसम्म पनि ड्युटीमा तैनाथ गर्दा दिनमा १५ देखि १६ घन्टा एउटा सिपाहीलाई ड्युटीमा खटाउने गरिएको छ । यसरी न्यूनतम मानवअधिकारको समेत हनन् गर्दै सशस्त्रमा ड्युटी खटाउने गरिएको छ । त्यहाँभित्रका सिपाहीहरुले उकुसमुकुस भएर नयाँपेजमा पठाएको गुनासोका आधारमा हामीले यो समाचार तयार पारेका हौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७