कार्यदिशा विवादले नेकपामा एकताको बाँकी काम नै अनिश्चित

पार्टीको राजनीतिक कार्यदिशाकाबारे नेताहरु गोप्य ‘लबिङ’ मा


१२ असार २०७६, बिहीबार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

सन्तोष साह
काठमाडौं, १२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदिशा विवादले एकताको बाँकी काम टुङ्गो लगाउन अनिश्चित बनेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता भएको १३ महिना बितेसँगै अहिले आएर कार्यदिशाको बिषयमा बिवाद शुरु भएको छ । कार्यदिशाको बिवादसँगै एकताको बाँकी काम टुङ्गो कहिले लाग्ने त्यो अनिश्चित भएको छ ।

३ जेठ २०७५ मा दुई पार्टीबीचमा एकीकरण घोषणा गर्दै एकीकृत पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुने घोषणा भएको थियो । तत्कालीन एमालेले जनताको बहुदलीय जनबाद (जवज) तथा माओवादी केन्द्रले २१ औं शताब्दीको जनवाद र माओवादी कार्यदिशा छोडदै जनताको जनवादमा सहमति गरेर पार्टी एकता भएको थियो । दुबै पार्टीले मान्दै आएको कार्यदिशा तत्कालका लागि छोडने र महाधिबेशनमा बहसमा लैजाने गरी सहमति गरेका थिए ।

अन्तरिम कालका लागि समाजवाद उन्मुख जनताको जनवादमा सहमति भए पनि अहिले पार्टीको सम्पूर्ण एकता टुङ्गो नलाग्दै बिवाद शुरु भएको नेकपा स्रोतले जनाएको छ । कार्यदिशा बिषयमा बिवाद शुरु भएपछि एकताको बाँकी काम टुङ्गो लगाउन अनिश्चित भएको ती नेताले बताए ।

नेकपा स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले दुई ठूला कम्युनिष्ट पार्टीका बीचमा एकता भएपछि अलिअलि बिवाद हुनु स्वभाविक भएको बताउँदै बिस्तारै हल हुँदै जाने बताए । अहिले देखिएको कार्यदिशाको बिवाद पनि बिस्तारै समाधान हुँदै एकताको बाँकी काम पनि छिट्टै नै टुङ्गो लाग्ने उनले बताए ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री (तत्कालीन एमाले अध्यक्ष) केपी शर्मा ओलीले एमालेले अवलम्बन गर्दै आईरहेको जवजलाई पार्टीको कार्यदिशा बनाउनु पर्ने लबिङमा रहेको स्रोतले जनाएको छ । यसैगरी अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री (तत्कालीन माओवादी केन्द्र अध्यक्ष) पुष्पकमल दाहाल पार्टी एकताका क्रममा भएको सहमति अनुसार जनताको जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनु पर्ने अडानमा रहेको स्रोतको दावी छ ।

अध्यक्ष ओली निकट भनेर चिनिने पार्टी सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक कार्यक्रममै जवजको पक्षमा अभिव्यक्ति दिएपछि तत्कालीन माओवादी केन्द्रका नेताहरु झस्किएका थिए । पछिल्लो समयमा अध्यक्ष ओलीले राजनीतिक प्रतिबेदन प्रकाशन गर्नुअघि जवजलाई मानेर जान प्रस्ताव अर्का अध्यक्ष दाहालसँग गरेपछि यस बिषयमा बिवाद झनझन बढदै गएको छ ।

पार्टी एकता गर्ने समयमा भएको सहमति अनुसार जनताको जनवादलाई पार्टी सचिवालय र स्थायी कमिटी बैठकले समेत पारित गरिसकेको छ । तर, सचिवालय र स्थायी कमिटी बैठकले पारित गरिसकेको बिषयमा मतभेद शुरु भएपछि त्यसको प्रभाव पार्टी एकताको बाँकी काम टुङ्गो लगाउनमा परिरहेको छ ।

राजनीतिक प्रतिवेदन सामान्य संशोधनपछि छाप्न पठाउने र दुई दिनपछि सचिवालय बैठक बोलाउने ओली–दाहालबीच शनिबार समझदारी भएको थियो । तर, त्यसयता बैठक नै नबोलाइएको नेकपा स्रोतले जनाएको छ । त्यसपछि दुवैतर्फका नेता बीचमा एक–अर्काेलाई हेर्ने दृष्टिकोण पनि फरक हुँदै गएको छ ।

यसैबीच बुधबार ओली र दाहालका बीचमा गोप्य छलफल भएको छ । दुई नेताका बीचमा रहेको फरक कुरालाई समाधान गर्दै बिगतको सहमतिकै आधारमा अगाडि बढ्ने अर्को सहमति भएको स्रोतको दावी छ । तर, पनि पार्टीको सचिवालय, स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक कहिले बस्ने भन्ने टुङ्गो अझै लागेको छैन् ।

अध्यक्ष ओलीले यसबीचमा आफू निकटका नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर पछिल्लो घटनाक्रमका बारेमा जानकारी गराएका छन् । सचिवालय सदस्य पोखरेल, महासचिव बिष्णु पौडेललगायतका नेता बालुवाटार पुगेका थिए ।

उता अर्का अध्यक्ष दाहालले खुमलटारमा आफू निकटका नेतालाई राजनीतिक कार्यदिशाका बारेमा जानकारी गराएका छन् । नेता वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङलगायत नेताहरु सहभागी छलफलमा अब कसरी अगाडि बढने बिषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।

दाहालले सचिवालय सदस्य बामदेव गौतमसँग छुट्टै छलफल गरेका छन् । यस्तै अर्का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापासँग पनि दाहालले छुट्टै गोप्य छलफल गरेका छन् ।

नेकपा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताले सचिवालय र स्थायी कमिटीले पारित गरेका विषयमा सामान्य भाषा सम्पादन गरेर छाप्न पठाउनुपर्ने पक्षमा देखिएका छन् ।

पार्टीको कार्यदिशा बिषयमा बिवाद शुरु भएपछि चितवन पुगेका अध्यक्ष दाहालले सोमबार पार्टी एकता गर्दा भएका सहमतिको पालना नभए दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् । जिल्ला कमिटी चितवनको सपथग्रहण कार्यक्रमलाई भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष दाहालले सहमति पालना नगर्नेलाई सबैले खण्डन गर्नुपर्ने बताए ।

‘पार्टी एकता हुँदा जे–जे कुरालाई आधार मानेर हस्ताक्षर गरेका थियौं, त्यसबाट पछि हटे दुर्भाग्यपूर्ण हुनेछ’ दाहालले भने, ‘जसले सहमतिको पालना गर्दैन जो बिचलित हुन्छ उसलाई सबैले खण्डन गर्नुपर्दछ ।’

पार्टी एकतामा योगदान गर्नेहरुलाई आगामी महाधिवेशनले मूल्याङ्कन गर्नुपर्ने प्रचण्डको धारणा छ । पार्टीको तत्कालीन कार्यदिशा सम्वन्धिको राजनीतिक प्रतिवेदन तयार गर्न ढिलाई भएको जनाउँदै उनले पहिला भएको सहमति अनुसार अब छिट्टै तयार हुने उल्लेख बताए ।

पार्टीको कार्यदिशाका बिषयमा बिवाद शुरु भएपछि एकताको बाँकी काम टुङ्गो लगाउन अनिश्चित बनेको छ । नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले अहिले कार्यदिशा लगायतका बिषयमा गरिएको छलफल ‘बेमौसमको बाजा’ भन्दै आवश्यक नरहेको बताए ।

अहिले मुख्यरुपमा पार्टी एकताको काम टुङ्गो लगाउँदै सरकार र पार्टीलाई प्रभावकारी एवं अझै सक्रिय बनाउनु पर्नेमा नेताहरु नचाहिने बिषयमा बहस गरिरहेको बताए । बैचारिक बहस महाधिबेशनमा गर्नुपर्ने बताउँदै उनले अहिले एकताको बाँकी काम टुङ्गो लगाउँदै पार्टीको बैठक एवम् छलफल आवश्यक रहेको साहले बताए ।


सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुङ्गो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा समेत लफडा शुरु भएको छ ।

पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभाग गठन, आयोगको गठन अझै टुङ्गो लागेको छैन् । जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभागको नेतृत्व टुङ्गो लगाउने विषयमा पार्टीभित्र विवाद रहेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७