युवतीलाई यातना दिने ‘धर्ती माता’ माथि प्रहरीले थाल्यो अनुसन्धान


१२ असार २०७६, बिहीबार
dharti mata

काठमाडौं, १२ असार । एक युवतीलाई यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले आफूलाई ‘धर्ती माता’ दावी गर्दै आएकी महिलामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि ‘धर्ती माता’ ले युवतीलाई संगीन आरोप लगाउँदै यातना दिएको विषयमा प्रहरीले छानविन थालेको हो ।
सामाजिक सञ्जालमा महिलाले युवतीलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले छानविन थालेको हो ।

अनुसन्धान अधिकृतका अनुसार त्यसरी कुटपिट गर्ने महिला बुटवलकी विष्णु कुँवर भएको खुलेको छ । प्रहरीले उनीसँग टेलिफोनमा सम्पर्क पनि गरिसकेको छ । तर, उनले आफू बसेको ठेगाना भने बताएकी छैनन् ।

‘हामीले उनलाई पनि कार्यालयमा बोलाइसकेका छौं’, काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘अब पीडितको पहिचान भएपछि थप कार्बाही अघि बढ्छ ।’ कुँवरबाट पीडित महिलालाई नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

‘पीडितको जाहेरीपछि हामीलाई कानुनी कार्बाहीका लागि सहज हुन्छ’, उनले भने, ‘भिडियोमा देखिएको बाहेक अन्य कोही पीडित हुनुहुन्छ भने पनि सम्पर्कमा आउनु होला ।’ भिडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भनेर गाली गरेकी छन् ।

उनले ‘तेरो मासु खाम्ला, मलाई चिन’, जस्ता शब्दको पनि प्रयोग गरेकी छन् । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए । अनुसन्धान अधिकृतले ती प्रहरी भीड नियन्त्रणका लागि त्यहाँ खटिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा भने युवतीमाथि आक्रमण भइरहँदा प्रहरी र अन्य सर्वसाधारण मौन बसेको भन्दै आलोचना भएको थियो ।

अघिल्लो वर्ष १ भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७