११ मा के पढ्न कति जीपीए ल्याउनुपर्छ ?


१२ असार २०७६, बिहीबार
nepal mega college126

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टा–छुट्टै सार्वजनिक गरेको हो ।

नतिजाअनुसार सामुदायिक र निजी विद्यालयका गरी कुल ४ लाख ५९ हजार २ सय ७५ जना उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयका ३ लाख २५ हजार ३३० र निजीका १ लाख ३३ हजार ९४५ जना उत्तीर्ण भएका छन् ।

संघीय संरचना अनुसार गरिएको परीक्षामा मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए ।

के पढ्न कति जीपीए ल्याउनुपर्छ ?
ग्रेडिङ प्रणाली अनुसार सबै विद्यार्थी उतिर्ण भएका छन् । तर यसपछि +२ मा विषयगत ग्रेड अनुसार भर्ना लिइन्छ । कुन समूह अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति हुनुपर्ने भन्नेबारे आधार तय गरेको छ ।

२ जीपीए ल्याउने विज्ञान, १.६ ल्याउने मानविकी, शिक्षा र व्यवस्थापन गत वर्षको निर्णयअनुसार १.६ जीपीएसम्म ल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन् । तर निश्चित विषयमा पनि ग्रेड पूरा गरेको हुनुपर्छ ।

विज्ञान समूह अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएकै हुनुपर्छ । नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस आएको हुनुपर्छ ।
त्यस्तै व्यवस्थापन समूहका विषय अध्ययन गर्न १.६ जीपीए र विषय ग्रेडमा अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।

मानविकी समूह अध्ययन गर्न पनि १.६ जीपीए अनिवार्य छ । तीन सय पूर्णांकको विषय छनोट गर्दा एसईईमा अनिवार्य विषय अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस आएको हुनुपर्छ ।  अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार, ग्रामीण विकास रोज्दा जीपीए १.६ ल्याउनुपर्ने हुन्छ । अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस मात्रै ल्याउनुपर्ने हुन्छ । विज्ञान र गणितमा ई ल्याए पनि अध्ययन गर्न पाइन्छ ।

शिक्षा समूह अध्ययन गर्न पनि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ । साधारणतर्फको विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूह अध्ययन गर्न सामाजिकमा डी प्लस ल्याएको हुनुपर्छ ।

 यसैगरी प्राविधिक विषय लिई कक्षा ११ मा भर्ना हुन चाहनेले एसएलसी परीक्षामा सबै विषयमा ‘सी प्लस’ ल्याउनुपर्छ ।   प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहमा स्वास्थ्य विषय अध्ययन गर्न गणित, विज्ञान, अङ्ग्रेजी र समग्रमा ‘सी’ तथा अन्य विषय अध्ययन गर्न गणित, विज्ञान तथा अङ्ग्रेजीमा ‘सी’ एवं समग्रमा जुनसुकै ग्रेड ल्यााए पुग्छ ।

यसैगरी संस्कृतबाट एसएलसी दिएका विद्यार्थीले अन्य विषय अध्ययन गर्न चाहेमा कक्षा १० का विषयसँग मिल्दोजुल्दो विषयमा कक्षा ११ मा पढ्न सक्ने व्यवस्था छ ।

प्राविधिक धार अध्ययन गर्न गणित, विज्ञान र अंग्रेजीमा सी ग्रेड ल्याउनुपर्नेछ । सीटीईभीटीले सम्बन्धन दिएका शैक्षिक संस्थामा स्वास्थ्यतर्फका विषय अध्ययन गर्न २।० जीपीए र अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्ने हुन्छ ।

इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस आएको हुनुपर्छ । कृषितर्फका कार्यक्रम अध्ययन गर्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याएका विद्यार्थीले समेत डिप्लोमा अध्ययन गर्न पाउनेछन् ।

कति प्रतिशत ल्याउँदा हुन्छ जीपिए ?

९० वा सो भन्दा माथि ए प्लस ४ जीपीए
८० देखि ९० को बीचमा ए जीपीए ३.६
७० देखि ८० को बीचमा बी प्लस जीपीए ३.२
६० देखि ७० को बीचमा बी जीपीए २.८
५० देखि ६० को बीचमा सी प्लस जीपीए २.४
४० देखि ५० को बीचमा सी जीपीए २
३० देखि ४० को बीचमा डी प्लस जीपीए १.६
२० देखि ३० को बीचमा डी जीपीए १.२
२० भन्दा कम अंक ल्याउने ई जीपीए ०.८

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७