बलिउडको प्रतिष्ठित आइफा अवार्ड काठमाडौंमा हुने


१२ असार २०७६, बिहीबार
Iifa award in Nepal

काठमाडौं, १२ असार :  बलिउडको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) सिने अवार्ड काठमाडौंमा हुने भएको छ। आइफा अवार्ड बलिउडको प्रतिष्ठित र चर्चित कार्यक्रम हो ।
आइफा अवार्ड कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मा पर्यटन बोर्डलाई दिइएको छ । सहआयोजक काठमाडौं महानगरपालिका हुनेछ ।

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विहिबार मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी अवार्ड कार्यक्रम गरिने जानकारी दिए ।

अवार्डमा ६ सयभन्दा धेरै प्रतिनिधि रहनेछन भने ६० भन्दा धेरै भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहने बताइएको छ ।

सन् २००० बाट सुरु गरिएको यो अवार्ड कार्यक्रम पहिलोपटक लन्डनमा आयोजना गरिएको थियो। यो वर्षको कार्यक्रम भने थाइल्यान्डमा भएको थियो। सरकारले कार्यक्रमका लागि पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको नेतृत्वमा समिति पनि बनाएको छ ।

यो कमिटिमा काठमाडौं महानगरपालिकाका मेयर, पर्यटन, गृह, अर्थ, सञ्चार, परराष्ट्र, भौतिक मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष, भ्रमण वर्ष २०२० का संयोजक रहने छन् । 

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष, चलचित्र विकास बोर्डका अध्यक्ष, उद्योग परिसंघको अध्यक्ष, चेम्बर अफ कर्मसका अध्यक्ष, नेपाल पर्यटन बोर्डका सिइओ र होटल संघका नेपालका अध्यक्ष कमिटीमा रहने छन्। सरकारले पर्यटन वर्ष २०२० लक्षित गरी यो अवार्ड समारोह गर्न लागेको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७