अध्यागमनमा सेटिङ्गैसेटिङ, अख्तियारको ध्यान कहिले जाला ?


१३ असार २०७६, शुक्रबार
immigretion

काठमाडौं, १३ असार । जनसम्पर्क हुने कार्यालयहरुमा अध्यागमन कार्यालय एयरपोर्ट पनि एक हो । अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको भ्रष्टाचारबारे त्यति चर्चा हुन सकेको छैन । ३३ किलो सुन र सनम शाक्य हत्या छानबिन समितिको संयोजकका रुपमा कतिपय निर्दोष ब्यक्तिलाई पनि अनाहकमा थुनामा पठाएका र सुन तस्करीका बादशाहहरुलाई उन्मुक्ति दिने अध्यागमन विभागका महानिर्देशक इश्वर पौडेलकै संरक्षणमा अध्यागमनमा सेटिङ भइरहेको छ ।

राजधानीका दर्जनौँ ट्राभल एजेन्सीको मुख्य काम नै मानव तस्करी हुँदैआएको छ । भिजिट भिसामा मानव तस्करी गर्ने ठूलो संजाल छ । जसको कनेक्सन एयरपोर्ट अध्यागमनका कर्मचारीसँग छ । ट्राभल एजेन्सीको सेटिङमा अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीले भिजिट भिसा बाहकलाई पनि युएई लगायतका देशमा जाने अनुमति दिने गरेका छन् । सेटिङ नभएकाहरुलाई भने उनीहरुले भिजिट भिसामा जानबाट रोक लगाउने गरेका छन् । सेटिङ भएकालाई भीआइपीलाई जस्तै काउन्टरमा लगेर पासपोर्टमा छाप हान्छन् ।

भिजिट भिसामा विदेश जान चाहिने दुईतर्फी टिकट, एक हजार अमेरिकी डलर र होटेल बुकिङजस्ता आवश्यक कागजपत्रसमेत चेकजाँच नगरी विदेश पासपोर्टमा छाप हान्छन् ।

दुवईमा अध्यागमनकै सेटिङमा मानव तस्करी हुने गरेको छ । दुवईमा नेपालीले खोलेका ट्राभल एजेन्सीको काम नै सेटिङमा मानवतस्करी हो । दुवईमा ट्राभल एजेन्सी संचालन गर्नेहरुले उताबाट सबै कागजपत्र नेपालमा पठाइदिन्छन्, नेपालमा रहेका उनीहरूका साझेदार ट्राभल एजेन्सी सञ्चालकले सोही आधारमा अध्यागमनका कर्मचारीलाई सेटिङ मिलाएर मानव तस्करी गर्दै आएका छन् ।

सेटिङमा मानवतस्करी गरी अध्यागमन कार्यालय एयरपोर्टका २०७२ मा अधिकृत पास गरेका कर्मचारीले १० करोड रुपैयाँ कमाएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । २०७२ मा अधिकृत भएका गणेश लामा, लोकराज बोहरा र चुडामणि केसीहरुले अध्यागमन कार्यालय एयरपोर्टमा सरुवा भएको ३ बर्षमै १० करोड बराबरको सम्पत्ति आर्जन गरेको उजुरी अख्तियारमा परेको छ । साविक माओवादी हाल नेकपा निकट भएकै आधारमा एयरपोर्टमा सरुवा भएका अध्यागमन अधिकृत लामा, बोहरा र केसीले ३ बर्षमा १० करोड बराबर सम्पत्तिको बारेमा अख्तियारमा छानबिन भइरहेको छ । स्रोतका अनुसार यीमध्ये अधिकांशले काठमाडौंमा घरका अलावा फ्ल्याट लिएर प्रेमिका समेत राखेका छन् ।

अध्यागमन अधिकृत प्रदीप ढकाल, इन्द्र चापागाई, उपेन्द्र न्यौपाने, नरहरि तिवारी, जनक रेग्मीको टोली पनि सेटिङ गरी अकूत आर्जन गर्नेमा पर्दछन् । अख्तियारले अध्यागमनका अधिकृत रमाकान्त अर्यालका बिरुद्ध अकूत सम्पत्तिमा मुद्दा दायर गरिसकेको छ । अरुको सम्पत्ति छानबिन गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७