भाइबहिनीहरुलाई पत्र


१५ असार २०७६, आईतवार
khim panthi

खिम पन्थी

प्रिय भाइबहिनीहरु,


तिमीहरुलाइ सानैदेखि तर्साइँदै गरेको कथित फलामे ढोका अर्थात् एसईई परीक्षा उत्तीर्ण गरेकोमा बधाइ छ । बधाइ यस मानेमा तिमीहरुलाई तर्साइरहने त्यो भूत अब तिमीहरुको नजिक पर्नेछैन । अनुत्तीर्ण हुने र कम ग्रेड ल्याउने भाइबहिनीहरुलाई पनि बधाइ छ, किनकि तिमीहरुको अगाडि सिङ्गो संसार हुनेछ । तिमी रोज्न सक्छौ स्वतन्त्रताको खुल्ला बाटो जहाँ किताब पढ्नुको चाप तिम्रो रोजाइ अनुसार मात्र हुनेछ । तिमी आफ्नो साम्राज्य आफै निर्माण गर्न सक्नेछौ । जुन बाटोमा तिमिलाई तगारो बन्ने गणितका सूत्रहरु हुने छैनन् । न त हुनेछन् पटक्कै सम्झन नसक्ने अंग्र्रेजी ग्रामरका पट्यारलाग्दा सूत्रहरु ।

अबको तिम्रो बाटो हुनेछ तिम्रो रुचिको काम । पढाइ तिम्रो जिबनको महत्वपूर्ण हिस्सा बनाउन सक्ने नै छौ तर महत्वपूर्ण कुरा तिमी आफू कसरी आत्म निर्भर बन्ने र जीवन कसरी सफल बनाउने भन्ने कुरामा अबको तिम्रो समय ब्यतित गर्नेछौ । मात्र तिम्रो मेहनत केन्द्रित हुनेछ तिम्रो रुचिको फिल्डमा ।


नतिजा प्रकाशनसँगै राम्रो ग्रेड ल्याउने हुने भाइबहिनीहरु खुसियालीमा केही समय ब्यतित गर्ने नै छौ । कम ग्रेड ल्याउने भाइबहिनिहरु पनि निराश हुने छैनौं किनकि तिमीहरुको जिन्दगी एसईई ग्रेड या पास फेलले मात्र निर्धारण गर्नेछैन । तिम्रो जीवन एसईई पछि साँघुरिने छैन बरु यसले तिम्रो जीवनको समुन्नत ढोका खोल्न मद्दत गर्नेछ ।

प्रिय भाइबहिनीहरु,
दिनहरु निकै छोटा हुनेछन् । लड्डुहरु साटफेरमा रमाइलै सङ्गै बित्नेछन् । तर केही समयपछि कलेज खोजको दौडधुपमा ब्यस्त हुनेछौ । तिम्रा बा आमाका रुचि अनेक हुनेछन् । अझ तिम्रा स्कुलका प्राध्यापकदेखि तिमीलाई चिन्ने अनेक पात्रहरुको सुझाव तिमीले सुन्नुपर्नेछ । यदि तिमी बिशिष्ट श्रेणीमा उत्तीर्ण भएका छौ या प्रथम श्रेणीमा तिमीलाई बिज्ञान बिषय पढ्न दबाब दिइनेछ । तिमी डाक्टर या इन्जिनियर हुनुपर्छ भन्ने शुभेच्छा प्रकट हुनेछ । तसर्थ तिमी बाध्य हुनेछौ उमाविमा बिज्ञान रोज्न । अलि कम ग्रेडमा उत्तीर्ण गरेका छौ भने ब्यवस्थापन या कला बिषय रोज्न प्रेरित गरिनेछ । तर मात्र एउटा अनुरोध तिमीले पढ्ने बिषयको छनोट मात्र तिमी आफैं गर्नेछौ ।


प्रिय भाइबहिनीहरु,


तिमीहरुको उमेर यस्तै छ कि जहाँ भावनाको बहाव धेरै हुनेछ । परिपक्वतालाई पारिवारिक निर्णयले निर्धारण गर्नेछ । जहाँ आफ्नो ब्यक्तिगत रुचि भन्दा सामाजिक प्रतिष्ठा हासिल हुने बिषय तर्फ पारिबारिक जोड रहनेछ । जसलाइ तिमी आफै नकार्न सक्ने अवस्थामा हुने छैनौं । कि त आफू भन्दा सिनियर दाजु दिदीले कुन बिषय छाने आफू पनि त्यही पढ्नुपर्छ भन्ने मान्यतामा हुनेछौ या त बुबा आमा जे भन्नुहुन्छ त्यही पढ्नुपर्छ भन्ने निक्र्याेलमा पुग्नेछौ ।


तिम्रो दाजु हुनुको नाताले मेरो एउटै मात्र सल्लाह छ जीवन नितान्त तिम्रो ब्यक्तिगत हो भलै त्यहाँ अनेकौं सम्बन्ध जोडिएका किन नहोऊन् । तिमी बर्तमानमा जुन कुरामा रमाउन चाहन्छौ भविष्य त्यसैमा ढकमक्क फुलाउन सक्नछौे । तिम्रो रुचि र कर्मको तालमेल मिलेन भने खुशी, सफलता कहिले हात पर्नेछैन ।


हाम्रो जस्तो विकासोन्मुख देसमा शैक्षिक योग्यता हासिल गर्दैमा रोजगारीको ग्यारेन्टी हुन्छ भन्ने कल्पना सर्वप्रथम तिम्रो मस्तिष्कबाट हट्न जरुरी छ । यदि तिम्रो परिवार र समाजलाई ज्ञान हासिल गर्नु र जीबिका निर्वाहका लागि जागिर अथवा ब्यवसाय गर्नु नितान्त फरक कुरा हो भन्ने बुझाउन सक्ने भयौ भने मात्र पनि तिम्रो एकाडेमिक जीवन सफल हुनेछ । हामीसँग रोजगारीको सुनिश्चित हुने धेरै खाले बिषयहरुको प्रयाप्त पठनपाठनको ब्यवस्था त छैन तर पनि पारिवारिक स्थिति र तिम्रो आफ्नै रुचि अनुसार केही बिषयहरु जस्तो जेटिए, डेन्टिस्ट, ओभरसियर, अमीन लगायत केही केही छनोट गर्न सक्छौ जसले छोटो अवधिको पढाइमार्फत् रोजगारी प्रदान गर्न सक्छ ।


पढाइ र सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो भन्ने अवश्य बुझेकै छौ । यो लामो ज्ञान प्राप्तिको यात्रा कल्पना गरे जस्तो सजिलो नहुन पनि सक्छ । निकै उतारचढावपूर्ण समय बाट गुज्रने छौ । धैर्यता र परिश्रमको परीक्षण एकै पटक हुने छ । त्यसमा पास हुन सक्यौ भनेमात्र पनि आधा यात्रा सुखद् हुनेछ ।


अब भोलिदेखि नै तिमीहरुको ब्यापार सुरु हुनेछ । अर्थशास्त्रीहरु छाडा दलाल पूँजीवादको वकालतमा रात दिन लागेकै छन् । तिम्रा कलिला दिमागले यति अझै नबुझे पनि त्यसको प्रत्यक्ष अनुभव तिमी आफै गर्नेछौं । सायद ब्रीज कोर्सका नाममा कुनै सस्थामा पुगेकै या पु¥याइएकै होलाउ । आजका गुरुहरु पनि अलि स्वार्थी देखिदैछन् । तिम्रो पहिलो ब्यापार तिनै गुरुहरुको हातबाट हुनसक्छ । तिमीलाइ त्यहा पु¥याए बापत केही रकम कमिसन गुरु हरुको हातमा पर्नेछ । भलै सबै एकै खालका नहोलान् तर अधिकांश आधुनिक भनिने स्कुलका मालिकहरु यो धन्दामा लाग्ने नै छन् ।

त्यहाँबाट पुनः तिमीहरुलाई बिक्री गरिनेछ । थरी थरी रङका ब्रोसर सहित कलेजवाला आउनेछन् । अनेक सुबिधा भएको प्रचार गर्नेछन् । ल्याब, लाइब्रेरी, टिचर आफ्नो कलेजमा मात्र उत्कृष्ट भएको भान पार्ने नै छन् । जस्तो कि संसारका चमत्कारिक क्अष्भलतषष्अ ाष्लमष्लन तिनकै प्रयोगशालामा गरिएको होस् । तिम्रो मोलमोलाइ गर्ने क्षमतामा नै कलेजलाई तिर्नुपर्ने फी को निर्धारण हुनेछ ।

कुनै सरकारी नियम कानुनको त्यहाँ पालना गर्नुपर्ने आवश्यकता हुने छैन । किनकि तिम्रा हुनेवाला कलेज मालिकहरु अत्यन्त पहुँचदार हुनेछन् । अधिकांश कलेजमा कि कुनै दलका नेताको लगानी हुनेछ, कि सरकारका ठूला कर्मचारीहरुको ।

यो गोलचक्कर दुनियामा प्रवेश गरेपछि निकै कुरा बुझ्दै जाने नै छौ तर त्यस भन्दा अगाडि आफ्नै सुझबुझ र अभिभावकको सल्लाह महत्वपूर्ण हुनेछ । कुन बाटो हिंड्ने कुराको तय गर्नु पहिला एकपटक अवश्य आफ्नो मनलाई सोध्ने नै छौ ।

कलेजका सुरुवाती दिनहरु रमाइलै हुनेछन् । एक दिन एउटा शिक्षक, अर्को दिन अर्को शिक्षक । एउटै बिषयका थरी थरी शिक्षक ! किताबको नाम पनि अनेक थरी । लेखक उत्ती धेरै । कुन किन्ने, कुन नकिन्ने दोधार ! पाठ्यक्रम तिम्रो स्कुलको भन्दा फरक हुनेछ । त्यहाँ अलिकति ग्याप भेटिनेछ । पढाउने तरिकामा फरक पाउनेछौ । दिनदिनै होमवर्क जाँच हुने झन्झटबाट त मुक्त हुनेछौ तर प्रोजेक्ट, प्राक्टिकल, असाइन्मेन्ट के के के के । तिम्रो धेरै समय त्यतै बित्नेछ । शिक्षक रोबोट जस्ता हुनेछन् । कुनै टेक्स्ट बुकमा लेखेको कुरा सरर प्रवचन दिने र नोट लेखाइदिने । केही प्रश्नहरु घोकाउने अनि तिनैबाट प्रश्न बनाउने ! यस्तै चक्करमा तिमी मेसिन जस्तो बन्ने छौ । तिम्रो सिर्जनशिलता मर्नेछ । प्रश्न गर्ने शक्ति हराउदै जाने छ । हवस सर, हवस म्याम !

हाम्रा कलेजहरु तिम्रा प्रतिभालाई प्रस्फुटन गराउनु पर्दछ र तिमीमा अध्ययनको स्वतन्त्रता छोडिदिनुपर्दछ भन्ने कुरामा अझै बुझ्ने भइसकेका छैनन् । तिमीलाई पढाई एक रुचिपूर्ण कार्य हो र तिमीमा पढाइको भोक जगाइदिनुपर्छ अनि मात्र बुकका सिद्धान्तहरुको रेसिपी तिमीलाई पस्किदिनुपर्दछ भन्ने कुरामा तिम्रा शिक्षकहरु अझै तयार भइसकेका छैनन् । तिम्रा अभिभावकहरु तिम्रो ज्ञानको मापन तिम्रो मार्कसिटमा मात्र खोज्ने बानीबाट अझै मुक्त भइसकेका छैनन् । हाम्रो शिक्षा प्रणालीले तिम्रो एक बर्षको पढाईको मापन ३ घण्टाको परिक्षाले मात्र निर्धारण गर्न सक्दैन भन्ने मान्यताबाट उठ्न अझै सकेको छैन । खैर, तिम्रो सिकाइ र ज्ञान तिम्रो मार्र्क ्शिटले कदापी निर्धारण गर्ने छैन । तिमीले बिषयलाई आफ्नै लयमा बुझ्नु जरुरी छ । जतिखेर तिमी प्रत्येक पाठमा प्रश्न सोध्न सक्ने बन्छौ तिम्रो ज्ञान सार्थक हुनेछ । जतिबेला तिमीले पढेको कुराको प्रयोग तिम्रो घर, छिमेक, समाजमा देख्न थालनेछौ तब तिम्रो ज्ञान काम लाग्ने हुनेछ । तिमी आफ्नो किताबबाट संसारलाई नियाल्ने कोसिस गर । मानव जीवनमा तिम्रो अध्ययनले थप्न सक्ने योगदानको बारे सोचमग्न बन । तिमी आफूमा एक सुन्दर भविष्यको कल्पनामा यात्रारत एक यात्रािको छायाको बिज रोपिदेऊ ।

किताब भन्दा पनि बाहिर संसारलाई नियाल्ने यत्न गर । अनुशासनमा आफूलाई राख तर आफुलाई स्वतन्त्र छोडिदेऊ । गर्न हुने र गर्न नहुने कुराको एक सूची दिमागमा फम्र्याट नहुने गरी स्टोर गर । र, सधैं प्रश्न गर । समयको ब्यवस्थापनमा आफूलाई खरो बनाऊ । अनावश्यक बिषयमा आफ्नो ध्यान लाई केन्द्रित नगर । शिक्षक, घर र कलेजमा परनिर्भरतालाई बिस्तारै हटाउँदै जाऊ र आफूमा विश्वास जगाउँदै जाऊ ।
तिमी जेसुकै पढ तर तिम्रो जीवन सफल हुनेछ । शुभकामना ।
उज्वल भविष्यको कामनासहित, तिम्रो दाजु ।

लेखकः त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७