महिला विश्वकप फुटबल : जर्मनीलाई हराउँदै स्विडेन सेमिफाइनलमा


१५ असार २०७६, आईतवार
germany

काठमाडौं, १५ असार । दुई पटकको च्याम्पियन जर्मनीलाई स्तब्ध तुल्याउँदै स्विडेनले फ्रान्समा जारी महिला विश्वकप फुटबलको अन्तिम चारमा स्थान बनाएको छ ।

चार वर्षअघि प्रिक्वार्टरफाइनल चरणमा ब्यहोरेको पराजयको बदला लिँदै स्विडेनले फ्रान्सेली शहर ल्योनको रोहजोन पार्कमा भएको खेलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता जर्मनीले लिएको थियो ।

१६ औं मिनेटमा सारा डाब्रिट्जको पासमा मागुलले गोल गरेकी थिइन् । तर, उसको अग्रता धेरैबेर टिक्न पाएन । लिन्डा सेम्ब्रान्टको पासमा सोफिया जाकोब्सनले २२ औं मिनेटमा गोल गरेपछि स्विडेनले खेल बराबरीमा ल्यायो ।

दोस्रो हाफको शुरुमै स्विडेनले अग्रता बनायो । स्टिना ब्ल्याक्स्टेनियसले ४८ औं मिनेटमा गोल गरेकी हुन् । खेलको अन्त्यतिर जर्मनीले गोलको निकै प्रयास गरेको थियो । तर, स्विडिस रक्षापंक्ति र विशेष गरी गोलरक्षक हेदभिग लिन्दालले उत्कृष्ट बचाउ गरेकी थिइन् ।

फाइनल प्रवेशका लागि स्विडेनले नेदरल्याण्ड्ससँग प्रतिष्पर्धा गर्नेछ । इटलीलाई २–० ले पराजित गरी नेदरल्याण्ड्स ऐतिहासिक रुपमा पहिलोपल्ट विश्वकपको सेमिफाइनलमा पुगेको हो । अर्को सेमिफाइनल भने इङ्ल्याण्ड र साविक विजेता अमेरिकाबीच हुनेछ । क्वार्टरफाइनलमा इङ्ल्याण्डले नर्वे र अमेरिकाले घरेलु टोली फ्रान्सलाई पराजित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७