‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई देशकै नमूना बनाएरै छाड्छौं’


१५ असार २०७६, आईतवार
bindevi rai उपमेयर at दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका खोटाङ

नेपाली जनताको सात दशक लामो संघर्षपछि जनताद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा बनेको संविधानले देशमा तीन तहको संरचना निर्माण गरेको छ । तीन तहको सरकार निर्माण भएको छ । मलाई पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनताले उपप्रमुखको हैसियतमा निर्वाचित गर्नुभयो । हामी नयाँ संरचनाको जननिर्वाचित प्रतिनिधि भएर आयौँ । स्थानीय तह नयाँसंरचना र अभ्यास हो । नयाँ संरचना भएकाले केही चुनौती र अप्ठयाराहरु स्वाभाविक थियो र अझै पनि छ । व्यवस्थापन गर्न गाह्रो थियो । संविधान त बन्यो । संविधानमा टेकेर कानूनहरु बन्नुपर्ने कुरा, बनेका थिएन् । आफैले निर्माण गर्नुपर्ने थियो । कामहरु हामी जति सोचेका थियौँ । सरासरी जनताको हितमा काम गर्छौै भन्ने लागेको थियो । त्यो गर्ने क्रममा कानून निर्माण गर्दै जानुपर्ने भएकाले केही अप्याराहरु पक्कै पनि थिए । यसको बाबजुद हामीले दुई वर्षलाई फर्केर हेर्दा जनताको हितमा निर्वाचनका क्रम दिएका प्रतिबद्धताहरु पूरा गर्ने काम गरिहेका छौं ।

जनअपेक्षा बढिरहेका बेला काम गर्न सहज छैन् । नयाँ संरचना भएकाले स्थानीय नागरिकले पनि यसलाई केहि स्वाभाविक ठानि दिनु भएको छ । जसका कारण हामी सिक्दै र काम गर्दै अगाडि बढिरहेका छौं । आफैले कानूनहरु निर्माण गर्दै कार्यान्वयन गर्नुपर्ने भएकाले केही अप्ठयारा थिए । यस्ता चुनौतीहरुलाई सामाना गर्ने हिम्मतका साथ आएकाले सजिलै ढङ्ग ग्रहण गर्दै अगाडि बढिरहेका छौँ । अहिले एक खालको ट्रयाकमा आइसकेको छ । शुरुको वर्ष चाँहीं केही अप्ठ्यारो नै भयो । फेरि असारको १४ गते पनि निर्वाचन भयो । बजेट विनियोजन गर्न पनि केही समय लाग्यो ।
हामी निर्वाचित भएर त आयौँ । तर उल्टो भयो । पहिले काम, कर्तव्य र अधिकारहरु निर्धारण गरेर निर्वाचन गरेको भए हामीले काम गर्न सजिलो हुन्थ्यो । यसका पनि अप्ठ्यारो भयो । हामी जननिर्वाचित भएर त आयौँ । तर हामीले गर्नुपर्ने काम, कर्तव्य र अधिकारहरु स्पष्ट भइसकेका थिएनन् । त्यसपछि क्रमशः कानून पनि बन्दै गए । त्यसैलाई टेकेर हामी काम अघि बढ्दै छौं । केही अप्ठ्याराहरुका बाबजुद जनताकै राय, सुझाव र समन्वयमा विकास, निर्माणदेखि विभिन्न सामाजिक र आर्थिक गतिविधिहरुलाई अगाडि बढाइरहेका छौं ।

हामी निर्वाचित भएर आएपछि केहि न केहि काम स्थानीय तहमा भएका छन् । हामीले नै यति गर्‍यौं, उति गर्‍यो भनेर भन्ने कुरा होइन । काम जनसेवा गर्नकै लागि निर्वाचित गराइएका प्रतिनिधि हौ । यसैले गफ भन्दा काम बढी गरेर देखाउनु छ । जनताले अपेक्षा गरे जति काम पक्कै हुन सकेको छैन तर, समग्ररुपमा स्थानीय तहको स्थिति हेर्दा नगरमा हामीले सुधारको संकेत दिएका छौँ । १०० प्रतिशत काम गरियो त भन्दिन्ँ । तर, पनि हामीले निर्वाचनको क्रममा स्थानीय जनताको हातमा थमाएको घोषणपत्रमा लेखिएका कुराहरुलाई आधार बनाएर धेरै कामहरु गरेका छौँ । काम गर्ने वित्तिकै बाटो खन्ने काम, भौतिक संरचना निर्माणको कुरा मात्र बुझ्छौँ हामी । तर, हामीले मानवीय र भौतिक पाटोलाई उत्तिकै महत्व दिएर अगाडि बढेका छौँ । भौतिक संरचनामा बाटो घाटो, खानेपानी, स्वास्थ्य, शिक्षा र पर्यटनलाई महत्व दिएका छौँ ।

हाम्रो नगरपालिकालाई सुन्दर बनाएर एउटा गर्व गर्न लायक नगरपालिका बनाउने हाम्रो सपना छ । यसै अनुसार विभिन्न कामहरु अगाडि बढेका छन् । यस नगरपालिकालाई सुन्दर र समुन्नत बनाउन सकिने विशेष ठाउँहरु धेरै छन् ।

हाम्रो नगरपालिकालाई सुन्दर बनाएर एउटा गर्व गर्न लायक नगरपालिका बनाउने हाम्रो सपना छ । यसै अनुसार विभिन्न कामहरु अगाडि बढेका छन् । यस नगरपालिकालाई सुन्दर र समुन्नत बनाउन सकिने विशेष ठाउँहरु धेरै छन् । यी ठाउँहरु ऐतिहासिक, सुन्दर र पर्यटकीय सम्भावना बोकेको भए पनि यसको समुचित विकास गर्न नसकिएका कारण ओझेलमै छन् । यसको विकासमा हामी योजनावद्ध रुपमा लागिसकेका छौं । हाम्रो नगरपालिकाले यी ऐतिहासिक र सम्भावनायुक्त ठाउँहरुको चौतर्फी विकास र व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम थालिसकेको छ । हामीले पर्यटकीय हिसाबले चर्चित भुलभुले (जहाँ मेला पनि लाग्छ), रुपाकोट (खोटाङ जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्य स्थल) व्यवस्थित गर्ने प्रयास गर्दैछौं ।

यस्तै बबरे भन्याङमा रुरु ताल छ । त्यहाँ पनि भ्युटावर निर्माण गर्दैछौँ । त्यहाँ टावर बनिसकेपछि आन्तरिक र बाह्य पर्यटक बढ्ने अपेक्षा हामीले लिएका छौं । निर्मलीडाँडामा रहेको साप्सु ढाप, मझुवा कालिका देवी भगवती । कालिका देवी भगवतीको लागि केही समय अगाडि हलेसी आउने पर्यटकलाई कसरी यहाँसम्म ल्याउने भनेर कार्यक्रम समेत गरेका थियौँ । किबदन्ती छ, ‘हलेसी आएर, मझुवादेवी कालिका भगवतीमा आएर दर्शन नगरेसम्म पुण्य प्राप्ती गर्न सकिंदैन् ।’ यो कुरा पुराणको पुस्तकमै उल्लेख छ । यो कुरालाई हामी प्रचार गर्दै मझुवा गढीसम्म ल्याउने प्रयास गरेका छौँ । देशभरीको शक्तिपीठहरु एकै ठाउँ गर्न सकिने सीतादेवी पीठ पनि यहाँ छ । यो पनि व्यवस्थित गरेका छौँ ।

यसैगरी हामीले विश्वकै अग्लो यलम्बर शालिकसहितको पार्क निर्माण गरिरहेका छौँ । प्रदेश सरकार र हाम्रो नगरको सहकार्यमा काम भइरहेको छ ।  यलम्बर पार्क नगरपालिकाको १४ वडास्थित बुइपामा बन्दैछ । त्यहाँको समुदायले यलम्बरको सानो प्रतिमा बनाउने भनेर लागिराख्नु भएको थियो । त्यसका लागि आर्थिक संकलनमा पनि लागिराख्नु भएको थियो । हामी निर्वाचित भएपछि उहाँहरुले देख्नु भएको सपनालाई हामीले साथ दियौं । जसका कारण योजना समेत वृहत बन्यो । खोटाङलाई माँझ किरात पनि भनिन्छ । इतिहासहरुलाई पनि जोगाउँदै जानुपर्ने हाम्रो कर्तव्य र दायित्व पनि हो । त्यसैले पनि यलम्बरको मूर्तिसहितको पार्क अलि ठूलै बनाउनु पर्छ भनेर नगर प्रमुखहरुसहित बसेर सल्लाह गरियो । त्यसपछि योजना बन्यो । स्थानीय तहको स्रोत र साधनले मात्र धान्न सकिन्न भन्ने ठम्याईसँगै प्रदेश सरकारमा प्रस्ताव लगेर गइयो । त्यसपछि प्रदेश सरकार पनि साझेदारी काम गर्न तयार हुनुभयो । अहिले काम पनि शुरु भइसकेको छ । प्रदेश सरकारसँग चाँडै एमओयु पनि हुन्छ ।

मूर्ति १०० फिट अग्लो हुनेछ । १३ करोडको डिपिआर तयार भएको छ । ३२ रोपनी जग्गा रहेको छ । प्रतिमासँगै किरात संस्कृति झल्काउने विभिन्न खालको संरचनामा पनि निर्माण हुने क्रममा छ । निर्माण पश्चात आन्तरिकसँगै बाह्रय पर्यटकको आर्कषणको केन्द्र बन्नेछ भन्ने हाम्रो विश्वास छ ।
हामीले विकास निर्माणका काम गर्दा सबै क्षेत्र समेटिनु पर्छ भन्ने मान्यता राखेका छौं ।

पर्यटकीय क्षेत्रहरुलाई योजनासहित व्यवस्थित गर्न भनेर लागिरहेको छौँ । सबै कामलाई उत्तिकै प्राथमिकता दिइरहेका छौँ ।

हामी यहाँको जनताप्रति उत्तरदायी छौं । नेपाल कृषिप्रधान देश हो । ७० प्रतिशत भन्दा धेरै नागरिक कृषिमा संलग्न छौँ । तर हाम्रो कृषि व्यवस्थित छैन् । सामान्यरुपमा खेतीपाती गर्ने, सानो रकम आउने, घर चलाउने किसिमको मात्र छ । यसलाई बृहत र व्यावसायिक बनाउँदै लैजानु पर्छ भन्ने हाम्रो मान्यता र सोंच छ । हामीले युवा स्वरोजगार कार्यक्रम, पकेट क्षेत्र कार्यक्रम पनि चलाइरहेका छौ । लिची खेती हुने क्षेत्रलाई लिची पकेट क्षेत्र, कागती हुनेलाई कागती पकेट क्षेत्र, अलैची हुनेलाई अलैँची पकेट क्षेत्र घोषणा गरी सोही अनुसार कार्यक्रमहरु ल्याएका छौँ । हामी किसानको आर्थिक पाटो सवल बनाउने सोंच र योजनाका साथ किसानको सहयोगी बनेर पनि काम गरिरहेका छौँ । 

हामी किसानको आर्थिक पाटो सवल बनाउने सोंच र योजनाका साथ किसानको सहयोगी बनेर पनि काम गरिरहेका छौँ । 

केही व्यक्तिहरु धनी हुँदैमा सबै जनता सुखी हुँदैनन् । केही मान्छे जान्ने हुँदा सबै हुँदैनन् । त्यसैले समतामुलक समाज निर्माण गर्ने अभियानमा छौँ । हामीले तल्लो वर्गका मानिसहरुलाई माथि उकास्न कार्यक्रमसहित अगाडि बढेको छौँ । जो गर्न चाहनु हुन्छ, अगाडि बढ्छु, आर्थिक रुपले सम्पन्न बन्छु भनेर आउनु भएको कृषकहरुको लागि पनि कार्यक्रम दिएका छौँ ।

शुरुको अवस्थामा कानून अभावका कारण धेरै काम गर्न अन्योल थियो । तर अहिले २४ वटा कानूनहरु राजपत्रमा प्रकाशित भइसकेका छन् । यसमा यहाँको भूगोल नागरिकको आर्थिक, सामाजिक अवस्था विचार गरेर सोही अनुसारका कानूनी व्यवस्था भएका छन् । संघीय सरकारले पनि हाम्रो काममा आइ पर्ने असजिलामा सहजीकरण गरिदिने गरेको छ । तर, अझै पनि यदाकदा समसइा देखिन्छन् । तर, स्थानीय जनताकै राय सुझाव अनुसार उहाँहरुकै सहभागितामा समाधान खोज्दै कामहरु गरिरहेकाले हाम्रो कामप्रति नागरिकको साथ सहयोग पनि राम्रो छ ।

संविधानको धारा ११७ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था छ । जसको नेतृत्व उपप्रमुखको संयोजकत्व कार्यपालिको दुई सदस्य राखेर तीन जनाको समिति रहने व्यवस्था छ । हामीलाई एउटा निश्चित क्षेत्राधिकार तोकिएको छ । आएको विवादहरुलाई निरुपण गर्नुपर्ने र मेलमिलापको माध्यमबाट समस्या र विवाद निरुपण गर्नुपर्ने हुन्छ ।

हामी विकास भन्ने वित्तिकै सडक खन्ने कुरालाई मात्र बुझ्छौं, तर हामी यहाँको आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा र सँस्कृति सबै क्षेत्रलाई उतिकै प्राथमिकता दिएर योजनावद्ध कामहरु अगाडि बढाएका छौँ ।

विवाद मेलमिलाप गराउन सूचीकृत व्यक्तिहरु र मेलमिलापकर्ता चाहिन्छ । यसका लागि पहिलो वर्ष नै मिडिएसन नेपालको प्राविधिक सहयोगमा १५ वटै वडामा दुई जनाका दरले मलामिलापसम्बन्धी तालिम दियौँ । पहिले समाजमा उत्पन्न हुने सानोतिनो समस्या स्थानीय तहमा लगेर समाधान हुन्छ भन्ने समेत थाहा थिएन । अहिले विवाद र समसइा आए स्थानीय तह जानुपर्छ, त्यहाँ सहजीकरण हुन्छ भन्ने कुरा नागरिकले बुझिसकेका छन् । यहाँ सबै किसिमको समस्या आउँछन् । तर, हामीले अधिकार क्षेत्रभित्र विवाद मात्र समाधानको कोशिस गर्छौ । बाँकी अदालतमै पठाउने गर्छौ । यहाँ आउने भनेको साक्षी, मानाको विवाद, बाटो, पुल पुलेसो निर्माण, पानी, घरका विवादहरु, छुवाछुत, कुटपिटलगायत प्रकृतिका विवाद र उजुरी आउने गरेका छन् । आएको विवादहरुमध्ये केहि गम्भिर बाहेक सबैजसो विवाद स्थानीयस्तरमै समाधान गरेका छौं ।

पहाडी भूगोल भएका कारण पनि स्रोत साधनको अभाव पक्कै हुन्छ । ठूला उद्योग खोल्ने, ठूलो रोजगारी सिर्जना गर्ने तत्काल योजना छैन । तर, दिक्तेल बजारमा शहरी विकासबाट क्रृण सहयोग लिएर एउटा सपिङ कमप्लेक्स बनाउने निर्णय चाहीँ गरेका छौँ । जहाँबाट आन्तरिक आयस्रोत पनि हुन्छ । केही गर्न चाहने युवाहरुको व्यापार गर्ने व्यवस्थित ठाउँ पनि हुने सोचेका छौँ ।

संविधानले राज्यको हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चिता गरेको छ । तर, त्यहाँसम्म कसरी पुग्ने कुरा अझै जटिल छ । यसैले महिलालाई आर्थिक, सामाजि र राजनीतिक क्षेत्रमा समेत अगाडि बढाएर लैजान आवश्यक छ । उसो त विगतमा एनजिओ, आइएनजिओहरुले पनि महिलाका क्षेत्रमा काम गरेका छन् । तर, ती कार्यक्रम धेरै तालिममै सीमित भए । करेसाबारीबाट जीविकोपार्जन गर्न सक्नु हुन्छ भनेर तालिम दियो गयोे । त्यसको कुनै फलोअप गर्ने, नजिता कस्तो भयो भनेर बुझ्ने काम भएन ।

सीप नभएका महिला दिदी बहिनीलाई सीप सिकाउनेदेखि व्यवसायी बनाउनका लागि अनुदान र बजारीकरणसम्म सहयोग पुर्‍याउने कार्यक्रमहरु छन् । समष्टी रुपमा भन्दा महिलालाई उद्यमी, समक्ष र आत्म विश्वासी बनाउने खालका कार्यक्रम छन् ।

यसैले महिलाहरुको आर्थिक सामाजिक अवस्था सुधारका लागि विशेष कार्यक्रम ल्याइएको छ । मेरैं सोंच र अगुवाइमा महिलाको क्षेत्रमा पृथक ढंगमा लाग्नु पर्छ भन्ने लागेर नेपालमै पहिलो होला ‘उपप्रमुखसँग महिला’ कार्यक्रम ल्याएको छु । जुनको एकीकृत कार्यविधि नै पारित गरेको छु । जसमा १०० प्रतिशत महिलाहरुलाई समेटन सक्छ । तर त्यसभित्र पनि केही उदाहरणीय बनाउनु पर्छ भन्ने रह्यो । महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक अगाडि बढ्न सजिलोका लागि यो कार्यक्रम ल्याएको हुँ । यसमा सीप नभएका महिला दिदी बहिनीलाई सीप सिकाउनेदेखि व्यवसायी बनाउनका लागि अनुदान र बजारीकरणसम्म सहयोग पुर्‍याउने कार्यक्रमहरु छन् । समष्टी रुपमा भन्दा महिलालाई उद्यमी, समक्ष र आत्म विश्वासी बनाउने खालका कार्यक्रम छन् ।


हाम्रो नगरपालिका ठुलो रहेको छ । १५ वडाहरु रहेको छ । पहाडी क्षेत्रमा आएका बजेटहरु स्वाभाविक रुपमा प्रयाप्त हुन्न् । हामीले बनाइरहेको संरचना र कार्यक्रमहरुका लागि बजेट कम नै छ । अर्को कुरा हामीसँग आन्तरिक स्रोत समेत कम रहेको छ । हामीले पर्यटन जोड दिनुको कारण पनि यहाँको विकासको लागि आन्तरिक रुपमा केही आथिर्क संकलन गर्न सक्छौँ कि भन्ने मुल उद्देश्य हो । हामीसँग सिमित स्रोत साधन छ ।  विकास हुनुपर्छ भन्ने जनताको अपेक्षा स्वाभाविक हो । स्थानीय सरकार भनेपछि सबै कुरा प्राप्त हुन्छ भन्ने कुरामा जनताले अपेक्षा राखेका छन् । तर बजेटको अभाव छ । माथिबाट आएको बजेटले पु¥याउनु पर्नेछ ।

म केन्द्रीय वित्त परिषदमा पनि छु । केन्द्रीय अर्थमन्त्री ज्यूको संयोजकत्वमा सातै प्रदेशको अर्थमन्त्रीसहित हरेक प्रदेशबाट स्थानीय तहको दुई जना हुन्छ । मलाई १ नम्बर प्रदेशको मन्त्रीपरिषदले दमकको मेयर साप र मलाई पठाउनु भएको छ । त्यसमा हामीले पनि कुरा राखेको थियौँ । देशलाई संघीयतामा लगिराख्दा बलियो बनाउने हो कि कमजोर बनाउने भन्ने कुरा रहन्छ । सामान्य बजेटले मात्र चल्न सक्ने अवस्था छैन् ।   आन्तरिक स्रोतबाट कार्यक्रम गर्न सकिन्छ भन्न सकिन्न ।  संविधानले कल्पना गरेका जस्तो समृद्ध, समुन्नत नेपाल निर्माण गर्न पनि सबै स्थानीय तहहरु, स्थानीय जनता शसक्त हुनुपर्छ ।  त्यसको लागि पनि बजेट अभाव भइरहेकाे छ ।  

 

जे होस् हामी जनमुखी भएर अघि बढिरहेका छौं । हामी निर्वाचित भएर आएको एक, डेढ वर्षको अवधिमै २० वर्षमा नभएको काम भएको छ । जुन नागरिकले पनि महसुस गरेका छन् । यहि रुपमा नागरिकको साथ सहयोग मिलिरहे अबको १० वर्षमा हाम्रो नगरपालिका नमूना नगरपालिका बन्छ भन्ने विश्वास छ ।

 सम्पुर्ण नगरवासीको हकहितको लागि, नगरको समृद्धिको लागि तन, मन, बचन कर्मले लागि रहेका छौँ । हामी समृद्ध देश बनाउने अभियानमा छौँ । स्थानीय तह होस या प्रदेश तह होस लागि रहेका छौँ । स्थान जनताले पनि साथ दिनुपर्छ । हामीले देखेको, संविधानले कल्पना गरेका समृद्ध समुन्नत नेपाल निर्माण गर्न एकजुट भएर अगाडि बढ्नुपर्छ । विकासको लागि विकास विरोधी कोही पनि हुनुहुँदैन् । विचारमा विविधता भएपनि विकासमा एकता भएर सबै देश निर्माणमा लागौँ, अगाडि बढौँ । र सम्पुर्ण नगरवासीहरुलाई हामीले चालेको अभियानहरुमा यहाँको साथ सँधै रहनेछ भन्ने पुर्ण विश्वास छ ।

(खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयर विणादेवी राईसँग नयाँपेज डटकमका रविन राईले गरेको कुराकानीमा आधारित )

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७