महिला विश्वकप : स्विडेन र नेदरल्याण्ड्स सेमिफाइनलमा


१६ असार २०७६, सोमबार
word cup

पेरिस, १६ असार । स्विडेन र नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फ्रान्समा जारी प्रतियोगिताको आइतबार बिहान भएको क्वार्टरफाइनल खेलमा स्विडेनले बलियो जर्मनीलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । यसैगरी अर्को क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले इटालीलाई २–० गोलले हरायो ।

यससँगै महिला विश्वकप फुटबलको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । स्विडेन र जर्मनीबीचको प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने जर्मनले लिएको थियो । जर्मनीका लागि लिना मागुलले छैटौं मिनेटमा गोल गरेकी थिइन् ।

जर्मनीको अग्रतालाई स्विडेनले २२औं मिनेटमा तोडेको थियो । स्विडेनकी सोफिया ज्याकोब्सनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि स्विडेनले दोस्रो हाफको सुरुआतमै अर्को गोल थपेको थियो । ४८औं मिनेटमा स्टिना ब्ल्याकटेनिउसले गरेको गोलनै स्विडेनका लागि निर्णायक बनेको थियो ।

यसैगरी नेदरल्याण्ड्सको जितमा भिभियाने मोइडेमले ७०औं मिनेटमा खाता खोलेकी थिइन् । ८०औं मिनेटमा स्टेफेनी भान डेर ग्राटले अर्को गोल थप्दै नेदरल्याण्ड्सको सेमिफाइनल यात्रा सहज बनाएकी थिइन् ।

नेदरल्याण्ड्स पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेदरल्याण्ड्ले स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा अमेरिका र इङ्ल्याण्ड भिड्ने छन् । अमेरिकाले आयोजक फ्रान्सलाई २–१ र इङ्ल्यान्डले नर्वेलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७