दुई अर्ब खर्चेको बिहेमा तीन सय क्विन्टल फोहोरको चर्चा


१६ असार २०७६, सोमबार
bihe

काठमाडौं, १६ असार । भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ ।

नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिए ।

गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो । गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाईका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताए ।

निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको बताइएको छ । नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ ।

उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ ।

विवाह समारोहमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका विशिष्ट पाहुनाहरु सहभागी भएका थिए । विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७