बाबु-छोरा मिलेर ‘बहिनी’ र ‘फुपू’ नाताकी बालिकामाथि बलात्कार


१६ असार २०७६, सोमबार
Bau Chhora

वीरगञ्ज, १६ असार । बाराको निजगढ नगरपालिकामा एउटा अनौठो बलात्कारको घटना बाहिर आएको छ ।

एउटै परिवारका बाबु–छोरा मिलेर नाता पर्ने एक १२ वर्षीया बालिकालाई विगत डेढ वर्षदेखि आलोपालो गर्दै करणी गर्दै आएको उजुरी परेको बारा प्रहरीले बताएको छ । यो घटनाको क्रममा निजगढ नगरपालिका–४ कछडिया टोल बस्ने वर्ष ४० का मिनबहादुर माझी र १९ वर्षिय रिकेश माझीलाई ईलाका प्रहरी कार्यालयले करणीको मुद्दामा ५ दिनको म्याद थमाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पीडित परिवारको असार ११ गतेको जाहेरीको आधारमा सोही दिन उनीहरु दुबैलाई पक्राउ गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक विजयदास बानियाँले जानकारी दिएका छन् ।

पीडित बालिका पक्राउ परेका मिनबहादुरको काकाको छोरी अर्थात बहिनी र रिकेशको फुपू पर्ने प्रहरीले जनाएको छ । पीडित बालिकाको आमा अर्को विहे गरेर गएको र बाबु वैदेशिक रोजगारीमा रहेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

उनको संरक्षण गर्ने हजुर आमाको पनि निधन भइसकेकोले उनी एक्लै घरमा बस्दै आएकी थिइन् । एक्लै घरमा सुतिरहेको अवस्थामा कहिले बाबु त कहिले छोराले करणी गर्दै आएको पीडित बालिकाले प्रहरीमा बयान दिएकी छन् ।

पछिल्लो पटक असार ८ गते बालिकाको दाइ पर्ने मिनबहादुरले र गत जेठ २० गते भतिज पर्ने रिकेशले राति साढे ११ बजेको समयमा जबरजस्ती करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

यसअघि आफ्नै छोरीलाई बाबुले करणी गरेको आरोपमा बारा प्रहरीले जबरजस्ती मुद्दा चलाई तीर्थबहादुर सुनारलाई हिरासतमा राखेको बाराका प्रहरी नायब उपरीक्षक रन्जीतसिंह राठौरले बताएका छन् । लगातार बढेका यस्ता घटनाले त्रासदी बढाएको छ । घटनाका दोषीलाई कानून अनुसार हदैसम्मको कार्वाही हुनुपर्ने अधिकारकर्मीहरुले माग गरेका छन् ।

बारामा एक साताभित्रै दुईटा करणीको घटना भएको छ । १४ वर्षीया बालिकालाई आफ्नै बाबुले करणी गरेको घटना सेलाउन नपाउँदै अर्को घटना सतहमा आएको हो । पहिलो र दोस्रो घटना बारा निजगढ नगरपालिकाभित्र भएको हो । पहिलो घटनामा आफ्नै घरमा सुतिरहेको अवस्थामा रक्सी खाएर ४२ वर्षीया बुवा तीर्थबहादुर सुनाले आफनै छोरीको करणी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७