चिया किसानद्वारा सूर्योदय नगरपालिका घेराउ


१६ असार २०७६, सोमबार
suryodaya

इलाम, १६ असार । नगरपालिकासँग आपत्ति जनाउँदै चिया किसानहरुले इलामको सूर्योदय नगरपालिका घेराउ गरेका छन् ।

उद्योगीहरुले अहिलेको ‘सिजन’ मा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएको र नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै चिया फिर्ता गरेपछि किसानहरु आन्दोलनमा उत्रिएर नगरपालिका घेराउ गरेका हुन् ।

उनीहरुले आज दिउँसोबाट नाराबाजीसहित नगरपालिका घेराउ गरेका हुन् । किसान र उद्योगीको सहमतिमा चिया खरीद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलोग्राम ४० रुपैयाँ कायम गरेको थियो । उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए ।

उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेर आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा सञ्चालित विभिन्न निजी चिया कारखानाहरुले हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरूप नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडी, नयाँ चोक र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका थिए ।

उद्योगीहरुको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एशोसिएसनमा आबद्ध ५२ चिया कारखाना एकै पटक बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिहरुबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्च स्तरीय समिति बनाएर दीर्घकालीन रूपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।

उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानहरुले आन्दोलन थालेका हुन् । नगरपालिका घेराउसहित किसानहरूले तत्काल निर्णय सच्याउन र सजहरूपमा चिया खरीदबिक्री गर्ने वातावरण बनाउन माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले गत शनिबार भएको सहमतिमा किसानका प्रतिनिधि भन्दै नगरपालिकाले आफैँ प्रतिनिधि बोलाएर हस्ताक्षर गर्न लगाएको भन्दै किसानहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले उक्त सहमति आफूहरुको उपस्थितिमा नभएको भन्दै स्वीकार्न नसकिने बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७