काठमाडौँको फोहोर उठ्न थाल्यो


१६ असार २०७६, सोमबार
Kathmandu Fohor

काठमाडौं, १६ असार । दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो । विभिन्न माग राखेर सिसडोलवासीले एक साता अघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए । सिसडोलवासीले काठमाडौँको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा सरकारले वा महानगरले अधिग्रहण गर्नुपर्ने माग गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो ।

उहाँका अनुसार स्थानीयवासीले स्वास्थ्यमा पुगेको प्रतिकूल असरका लागि समाधान खोज्नुपर्ने लगायतका माग महानगरसँग गरेका थिए । कामपाले सिसडोलवासीका समस्या समाधानका लागि वडा नम्बर–४ का अध्यक्ष विकास डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको उनले बताए ।

समितिमा महानगरका अरु वडाका अध्यक्ष, वातावरण विभाग प्रमुख र सरोकारवाला स्थानीयवासी समेत रहेका छन् । ‘समितिलाई १५ दिनभित्रमा प्रतिवेदन प्रस्तुत गर्नेगरी समयसीमा तोकिएको छ’, उनले भने, ‘त्यही प्रतिवेदनका आधारमा समाधान निकालिने छ ।’

विभिन्न मागहरू राखेर समयसमयमा स्थानीयवासीले फोहोर फाल्न अवरुद्ध गर्दै आएका छन् । महानगरले १३ वर्ष पहिले दुई वर्षका लागि भनेर सिसडोलमा फोहोर फाल्न थालेको थियो ।

१३ वर्ष बितिसक्दा पनि वैकल्पिक ठाउँ नहुँदा महानगरसँगै उपत्यकाका सबै नगरपालिकाले यहीँ फोहोर फाल्ने गरेका छन् । महानगरपालिकाले केही समय पहिलेबाट यहाँको विकल्पका रूपमा बञ्चरेडाँडामा ‘डम्पिङ साइट’ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७