लोकमानसिंह कार्कीको पूर्वाग्रहको शिकार भएका पूर्वआइजीपीले न्याय पाए


१६ असार २०७६, सोमबार
basudev oli sanatkumar basnet shailedra kumar shrestha and kosharaj onta

काठमाडौं, १६ असार । लोकमानसिंह कार्कीको चरम पूर्वाग्रहको शिकार भएका सशस्त्र प्रहरी बलका चार पूर्व आइजीपीले सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेका सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी) लाई विशेष अदालतले सोमबार सफाइ दिएको छ ।

सशस्त्र प्रहरीका पूर्व महानिरीक्षकहरु बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई विशेष अदालतले सफाइ दिएको हो ।


लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनले तत्कालीन बहालवाला आइजीपी कोषराज वन्तसहित ३ पूर्व आइजीपीबिरुद्ध भ्रष्टाचार आरोपमा २०७२ फागुन १७ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका थिए । सीमा सुरक्षाका लागि गठन भएको सशस्त्र प्रहरीका चार प्रमुखबिरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गर्नुमा अदृश्य शक्तिको पनि ठूलो हात रहेको थियो ।

नेपालमा सीमा सुरक्षा बल गठन गरेको भारतलाई मन परेको थिएन । त्यही भएर लोकमानसिंह कार्कीलाई प्रयोग गरी चार आइजीपी बिरुद्ध भ्रष्टाचार मुद्दा लगाएर सशस्त्र प्रहरी बलको मनोबल गिराउने काम गरिएको थियो । जुन विशेष अदालतले दिएको सफाइबाट पनि पुष्टी भएको छ ।

विगतमा लोकमानसिंह कार्कीलाई जसले प्रयोग गरी चार आइजीपीबिरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरी सशस्त्रको मनोबल गिराउने काम गरेको थियो, त्यही शक्तिको इशारामा वर्तमान आइजीपी शैलेन्द्र खनालले तराईका भारतसँग सीमा जोडिएका जिल्लाबाट सशस्त्र प्रहरीको संख्या कटौती गरेको सशस्त्रका अधिकारी बताउँछन् ।

खरिदमा भ्रष्टाचार गरेको भन्ने आरोप जो लगाइएको थियो, त्यो भन्दा चौगुणा भ्रष्टाचार वर्तमान आइजीपी खनालले खरिदमा गरेका छन् । तर अख्तियारले यसमा कुनै खोजीनीति गरेको छैन ।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकमान जोशी तथा प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई सफाइ दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७