नेकपा संसदीय दलको बैठकमा मन्त्री र सांसदबीच चर्काचर्की


१७ असार २०७६, मंगलवार
communist

काठमाडौं, १७ असार । बजेट विनियोजनको विषयलाई लिएर सत्तारूढ नेकपा संसदीय दलको बैठकमा मन्त्री र सांसदबीच चर्काचर्की परेको छ ।

नयाँ बानेश्वरमा सोमबार बसेको दलको बैठकमा बजेट विनियोजन गर्दा मन्त्रीहरू आफ्नो निर्वाचन केन्द्रमा मात्र केन्द्रित भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरे । भीम रावल, लालबहादुर थापालगायतले बजेट विनियोजन विभेदकारी रहेको, गुटगत मानसिकताले हेरिएको भन्दै सरकारको आलोचना गरे ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले देशको मन्त्रीभन्दा पनि निर्वाचन क्षेत्रको मन्त्री भएर बजेट विनियोजन गरेको सांसद थापाले भनाइ राखेपछि केहीबेर चर्काचर्की परेको हो ।

‘मन्त्रीको गृहजिल्ला धनुषामा यो वर्ष राष्ट्रिय गौरवको योजनाको नाममा रणनीतिक सडक भनेर १७ र क्रमागत तथा नयाँ सडक भनेर ७९ वटा राखिएको छ । बाजुरामा यो वर्ष एउटा पनि नयाँ सडकको योजना राखिएको छैन, प्रधानमन्त्रीको एक खालको स्पिरिट छ ।

मन्त्रीको कार्यशैली प्रधानमन्त्रीको स्पिरिटमा ठेस पु(याउने खालको छ,’ सांसद थापाले भने । जवाफमा मन्त्री रघुवीर महासेठले सांसद रावलले ढाँटेको, गलत बोलेको तथा आफकहाँ पटक–पटक धाउने गरेको बताएपछि सांसद थापा जुरुक्क उठे ।

प्रधानमन्त्री केपी ओलीलाई उजुरी हाल भनियो : सांसद थापा
०७५ वैशाखमा भेट्न जाँदा म देशको मन्त्री हुँ, काम गर्छु सम्झाउनुपर्दैन गइहाल्नुस् भन्नुभयो । असारमा मन्त्रीक्वार्टरमा भेट्न जाँदा पटक–पटक आइराख्ने, कसको समय लिएर आउनुभयो भन्दै फेरि जानुस् भन्नुभयो ।

भदौमा बाढीले बाजुरा पनि प्रभावित भयो । सडक भत्कियो, बाटो, पुल अवरुद्ध भयो र कुरा राख्न जाँदा तपाईं झुट बोल्ने, पटक–पटक किन आउनुभएको जस्ता कुरा गर्नुभयो । केपी ओलीलाई उजुरी हाल भन्नुभयो । मैले प्रधानमन्त्रीलगायतलाई उहाँको व्यवहारबारे बताएँ । त्यसैको प्रतिशोधस्वरूप यो वर्ष पनि बाजुराका लागि नयाँ सडकको एउटा पनि योजना परेको छैन ।

सांसदको गुनासो– कुरा सुनिएन
दलको बैठकमा सांसदहरूले बजेट विनियोजन, सरकारले ल्याएका गुठीलगायतका केही विवादास्पद विधेयक, पार्टी एकीकरण तथा सरकार सञ्चालनबारे प्रधानमन्त्री केपी ओली तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जिज्ञासा राखेका छन् । उनीहरूले आफ्नो कुरा सरकारले नसुनेको गुनासो गरे ।

सरकारले गरेका कतिपय नियुक्ति, निर्णयलगायतको बाहिर सडकमा आफूहरूले जवाफ दिनुपरेको, तर सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री तथा मन्त्रीसँग अन्तरक्रियात्मक कार्यक्रम हुन नसकेको उनीहरूको भनाइ थियो ।

सरकारले राम्रो काम गरे पनि सकारात्मक सन्देश नगएको भन्दै सांसदहरूले धारणा राखेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘पार्टी एकता अझै टुंगो लागिनसकेको विषय, सरकारका काम–कारबाही, विधेयकलगायत विषयमा सांसदहरूले जिज्ञासा राख्नुभयो,’ नेता गुरुङले भने ।

सांसद जनार्दन शर्माले सरकारले गरेका कतिपय चित्त नबुझ्दा विषयबारे खबरदारी गर्ने ठाउँ नभएको बताए । ‘निकै पछि दोहोरो छलफल भयो । विगतमा सम्बन्धित विषयमा ब्रिफिङ गरेर हिँड्ने प्रवृत्ति थियो ।

यसपटक दुवैजना अध्यक्षले धारणा राख्नुभयो । सरकार, पार्टी एकीकरण, विधेयकका विषयमा छलफल केन्द्रित रह्यो,’ सांसद देवेन्द्र पौडेलले भने । बैठकमा प्रधानमन्त्रीसहित ३४ सांसदले आफ्ना कुरा राखे । प्रधानमन्त्रीले भने–म एक्लै हिँड्न खोजेको होइन ।

प्रधानमन्त्री भएपछि जिम्मेवारी अलिक बढी भएको हो । केही माननीयज्यूहरूले एक्लै हिँड्न खोजेको भन्नुभयो, त्यस्तो होइन । अहिले भारतको आइफा अवार्ड गर्न नेपाल सरकारले बजेट उपलब्ध गराउने भन्ने बाहिर जे चर्चा भएको छ, सही होइन ।

प्रचण्डले भने– हामीले विश्वासले पार्टी एकता गर्न खोजेका थियौँ । मैले बनाएको डकुमेन्ट अध्यक्ष केपी ओलीले नहेरी हस्ताक्षर गर्नुभएको थियो । एकता गर्दा त्यो विश्वास थियो । अहिले फरक–फरक नेताको फरक भनाइ आएको छ । आशंका उत्पन्न भएको छ । पार्टी एकता अप्ठ्यारोमा पर्ने हो कि भन्ने छ, त्यसो हुन्न दिन्नौँ । तीन महिनामै टुंगो लगाउने कुरा थियो, अब १५ दिनमा टुंगो लगाउँछौँ । तपाईंहरू चिन्तित हुनुपर्ने स्थिति छैन । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७