नयाँ स्वास्थ्य नीति : अब सबै स्थानीय तहमा अस्पताल


१७ असार २०७६, मंगलवार
upendra

काठमाडौं, १७ असार । स्वास्थ्यप्रति व्यक्ति, परिवार र समाजलाई जिम्मेवार बनाउँदै लैजाने मूल लक्ष्यका साथ सरकारले नयाँ स्वास्थ्य नीति सार्वजनिक गरेको छ ।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सोमबार नयाँ राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक गर्दै सङ्घीयतामा स्वास्थ्य प्रणालीको विकासको मार्गचित्र स्पष्ट पारे ।

नयाँ स्वास्थ्य नीतिले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्ने लक्ष्य लिएको छ । नीतिअनुसार अब हरेक वडामा आधारभूत स्वास्थ्य सेवा तथा प्रत्येक स्थानीय तहमा प्राथमिक अस्पताल हुनेछ ।

उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको भन्दै अब तत्काल स्वास्थ्य क्षेत्रको जनशक्तिको विस्तृत विवरण तयार गरिने र त्यसले नयाँ स्वास्थ्य नीति कार्यान्वयनमा प्रभावकारिता ल्याउने बताए ।

नयाँ स्वास्थ्य नीतिले ‘स्वस्थ तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिक’ सोचलाई प्राथमिकता दिएको छ । नीतिले आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिक लगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ ।

औषधिको कुशल उत्पादन, आपूर्ति, भण्डारण, वितरणलाई नियमन तथा प्रभावकारी व्यवस्थापनमार्फत सबैको पहुँचमा पुर्‍याइने भएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७