‘आइफा’ अवार्ड हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा

‘आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार छैन’


१७ असार २०७६, मंगलवार
Gokul Baskota

काठमाडौं, १७ असार । भारतको प्रतिष्ठित ‘आइफा’ अवार्डका विषयलाई लिएर वहस र विरोध दुबै चलिरहेका बेला सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आइफा अवार्ड हुने स्पष्ट पारेका छन् ।

मन्त्री बाँस्कोटाले आइफा अवार्ड नेपालमा आयोजना हुने भए पनि बजेट दिने सोचाइमा सरकार नरहेको बताएका छन् । मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरेका छन् ।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले त्यस अवार्डबारे प्रश्न उठाएपछि उनले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको प्रष्टयाएका हुन् ।

मन्त्री बास्कोटाले आइफा अवार्डको प्रसङ्ग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने बताएका छन् । उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले आइफा अवार्ड आयोजना गर्न स्वीकृति दिएको पनि बताएका छन् ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले त्यस अवार्डका लागि अरबौंको बजेट दिन लागेको भन्दै आपत्ति जनाएका छन् ।

समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा सञ्चालन गर्दै आएको त्यस अवार्डको आयोजनामा नेपाल सरकारले नै लगानी गर्न किन पर्‍यो ? भनि प्रश्न पनि गरेका थिए ।

६ सय हाराहारी भारतीय कलाकार सहभागी हुने भनिएको आइफा अवार्डका लागि काठमाडौं महानगरपालिकाले ४४ लाख रुपैंयाँ बजेट विनियोजन गरिसकेको छ । आइफा अवार्डका लागि नेपालको अर्ब रुपैंयाँ खर्च हुने भएको छ ।

यहि बाहिर आएपछि अहिले नेपाली कलाकारहरुले मात्र होइन, विपक्षी दलका नेता र सत्ता पक्षका नेताहरुले नै आइफा अवार्डका नाममा देशको यति ठूलो रकम खर्च गर्न नहुने बताउँदै आएका छन् । सत्तारुढ दलका शीर्ष नेता माधवकुमार नेपाल, भिम रावललगायतले आइफा अवार्ड नेपालमा गर्ने सरकारको निर्णय नेपालको हितमा नभएको बताइसकेका छन् ।

यो पनि पढ्नुस्
आइफा अवार्ड’ प्रति असन्तुष्टि जनाउँदै भने, ‘नेपालीले दुःख पाउने र विदेशी रमाउने निर्णय नगर्नुस्’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७