आइफा अवार्डसम्बन्धी कार्य रोक्न संसदीय समितिको निर्देशन


१७ असार २०७६, मंगलवार
Iifa award in Nepal

काठमाडौं, १७ असार । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रमसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उद्देश्यबाट उक्त कार्यक्रम प्रेरित भएको भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो ।

भारतीय निजी कम्पनी बिजक्राप्ट इन्टरनेशनल प्राइभेट लिमिटेडलाई नेपालमा आइफा पुरस्कार कार्यक्रम गर्न दिने सम्बन्धमा नेपाल सरकार र उक्त संस्थासँग गरिने भन्ने सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पुर्‍याउने रहेको समितिले ठहर गरेको छ ।

सम्झौताको मस्यौदामा नेपाल सरकारले व्यहोर्न पर्ने आर्थिक दायित्व अत्यन्तै अनुचित र अस्वभाविक किसिमले ठूलो भई नेपालको आर्थिक अवस्थाको दृष्टिकोणबाट उचित नदेखिएको समितिको निष्कर्ष रहेको छ । बैठकले सरकारसँग कार्यक्रमको समग्र र विस्तृत जानकारी माग गर्ने निर्णय गरेको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७