डिलखर्क अर्थात् पूर्वको ‘जलजला’मा दोहोरिएको दुःख


१८ असार २०७६, बुधबार
dhilkharka पूर्वको ‘जलजला’ अर्थात् डिलखर्क

एउटा बस्तीको कथा

भोजपुर सदरमुकामदेखि उत्तर १९ कोष टाढा साल्पा सिलिछो गाउँपालिकाको एउटा सानो वस्ती हो, डिलखर्क । फाँटिलो वस्ती । शेर्पा र तामाङ समुदायको बसोबास । आलु र मकै फल्छ । डिलखर्कको शिरमा साउने पहाड छ । यो पहाड पछिल्तिर छन संखुवासभा र सोलुखुम्बुका घना जङ्गल । पहाडको फेदीमा रहेको यो बस्ती प्राकृतिक रुपमा सुरम्य छ । यहाँ तत्कालीन अध्यक्ष छिरिङ शेर्पाले गुम्बा र सामुदायिक भवनहरु बनाएका छन् ।

त्यही गुम्बा र भवनहरुमा कुनै बेला सशस्त्र जनयुद्ध गर्दै गरेको नेकपा माओवादीको पूर्वी विशेष कमाण्डको हेडक्वाटर थियो । माओवादीले भोजपुर, खोटाङ, सोलु, धनकुटा, तेह्रथुम संखुवासभा र ताप्लेजुङका उत्तरी क्षेत्रलाई समेटेर विशेष कमाण्ड बनाएको थियो ।

माओवादीको पूर्वी कमाण्ड अन्तरगत विशेष आधार क्षेत्र घोषणा गरिएको हेडक्वाटर डिलखर्कमा थियो । हेडक्वाटरमा थिए, तत्कालिन कमाण्ड इन्चार्ज तथा हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, डिभिजन कमाण्डर तथा हालका ऊर्जा मन्त्री वर्षामान पुन ‘अनन्त’, हितमान शाक्य ‘सुमन’ अग्नी सापकोटा ‘कञ्चन’ पूर्वसभामुख ओनसरी घर्ती मगर, पूर्वमन्त्री गोपाल किराती, पदम राई, हालका सांसद अमृता थापा, तत्कालीन डिभिजन सहकमाण्डर हाल नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल वासुदेव घिमिरे ‘पावेल’ लगायत ।

जनयुद्धको उत्कर्ष जस्तै थियो त्यो बेला । नेताहरु घेराबन्दीमा थिए तर उनीहरुका लागि तुलनात्मक रुपमा डिलखर्क सुरक्षित थियो । माओवादी छापामार नविन जिरेलले आफ्नो पुस्तक ‘भीषण दिनहरु’मा लेखेका छन्, ‘डिलखर्कमा पार्टी संगठन र सैन्य फर्मेसनहरुको बैठक चलिरहेको रहेछ । त्यसबीच सरकारी सेनाको गतिबिधि पनि खासै थिएन । हामी बसेको ठाउँबाट भोजपुर सदरमुकाम पुग्न घन्टौं लाग्थ्यो । ..राम्रो हावापानी, छापामार युद्धको लागि भौगोलिक अनुकूलता र जन्मसम्बन्धको कारण भोजपुर बसाई सहज थियो ।’

Badal
डिलखर्क जाने क्रममा तात्कालिन पूर्वी कमाण्डका नेता बादल हालका गृहमन्त्री

सोलुखुम्बुको सल्लेरी आक्रमण, संसुवासभाको चैनपुर आक्रमण, भोजपुर सदरमुकामको रिपिटर टावर आक्रमण, भोजपुरकै घोरेटार आक्रमण, इलामको पशुपतिनगर आक्रमण लगायतका सैन्य कारबाहीको तालिम र योजना यही डिलखर्कमा भएको थियो । आक्रमणपछि घाइतेहरुको उपचार यही क्षेत्र आसपासका गाउँहरुमा गरिन्थ्यो । यही नजिकैको सालेवामावि दोभानेमा नेता गोपाल किरातीलाई किरात जनसरकार प्रमुख पनि घोषणा गरिएको थियो । 

२०६० सालको डिभिजनस्तरीय सैन्य तालिममा सहभागी तत्कालिन युद्ध पत्रकार तथा हाल समाचार दैनिक अनलाइनका सम्पादक बबिन शर्मा डिलखर्कलाई माओवादी जनयुद्धको एउटा ऐतिहासिक स्थानको रुपमा सम्झिन्छन् ।डिलखर्क सम्झेर उनी आज पनि रोमाञ्चक हुन्छन् ।

जनयुद्धको प्रतीक अथवा सौन्दर्य जस्तै बनेको पश्चिम रोल्पाको जलजला जस्तै पूर्वको डिलखर्कलाई व्याख्या गर्छन्, उनी । पूर्वसभामुख ओनसरी घर्तीमगरको प्रेस सल्लाहकार समेत रहेका शर्मा भन्छन्,‘संकटकालिन अवस्थामा पनि पूर्वी कमाण्डको बैठक र सैन्य तालिम आयोजना भएको डिलखर्क जनयुद्ध ऐतिहासिक ठाउँ हो ।’

maobadi war in nepal
डिलखर्कमा आयोजित पूर्वी कमाण्डको बैठकमा क्रमश गोपाल किराती, हितमान शाक्य, रामबहादुर थापा ‘बादल’, वर्षामान पुन ‘अनन्त’ लगायत तस्बिर :- तस्बिरमा जनयुद्ध भाग-१

जनयुद्धमा तालिम केन्द्रको रुपमा प्रयोग गरिएको डिलखर्कमा अझै पनि सुरुङ्ग र तालिमका संरचनाहरुको भग्नावशेष छ । डिलखर्कले सुरक्षा दिएका माओवादीका सयौँ नेता सांसद, मन्त्री र उच्च पदमा पुगे । तर, उनीहरु जनयुद्धपछि कहिल्यै फर्केर डिलखर्क गएनन् । नेताहरुले सम्झेनन् ।

छापामारहरुले लेखेका पुस्तक र संस्मरणमा मात्रै डिलखर्कको सम्झना गरियो । पहाडको फेदीमा रहेको सानो लेकाली बस्तीले त्यतिका माओवादी नेता तथा कार्यकर्ता र सेनाहरुलाई राख्नु कम सास्ती र अप्ठ्यारो थिएन । कहिलेकाही सरकारी सेना पुग्दाको सास्ती र अप्ठयारो भने उस्तै कहाली लाग्दो । उही पुरानो ह्याङ्गओभरबाट मुक्त हुन नपाउँदै फेरि डिलखर्कमा उही पुरानो ब्यथा सुरु भएको छ ।

१६ वर्षपछि फेरि उही दुःख
हिजो अर्थात् १६ असार २०७६ संखुवासभामाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोला हेयाङलामा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व (नेकपा) र प्रहरीविच फाइरिङ भयो । यसपछि काठमाडौंबाट नेपाली सेनाको एम आइ १७ हेलिकप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पठाइयो । सञ्चार माध्यमले लेख्यो, ‘संखुवासभाको सिलिचोङमा थप सशस्त्र प्रहरी र नेपाल प्रहरी गयो ।’ तर, संखुवासभाको सिलिचोङमा मात्रै भोजपुरको उही डिलखर्कमा पनि विप्लव नेकपाका कार्यकर्ताहरु खोज्दै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ ।

सोमबार मौसमको कारण डिलखर्कमा हेलिकप्टर बस्न नसकेपछि नजिककौ तल्लो गाउँको लिबुटार भन्ने खेल मैदानमा काठमाडौंबाट गएका सशस्त्र र नेपाल प्रहरीका टोलीलाई झारेर हेलिकप्टर फर्किएको छ । सोमबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली डिलखर्कमा छिरेको छ ।

सिलिचोङ गाउँपालिकाका विप्लवका कार्यकर्ताहरु पनि त्यही क्षेत्रमा आउने अनुमानका साथ टोली परिचालित भएको सुरक्षास्रोतको भनाई छ । त्यसो अहिले यस आसपासका सर्बसाधरणहरुले उही २०६० सालको जस्तो अनुभूति गर्न थालेका छन् । यहाँका अगुवा, शिक्षक र जनप्रतिनिधिहरु पनि उतिधेरै खुलेर कुरा गर्न चाहँदैनन् । २०६० वरिपरिको संकट भोगेका एक शिक्षक भन्छन्, ‘हामीलाई त फेरि २०६० साल जस्तै लाग्न थालेको छ ।’

प्रहरी र विप्लव नेकपाको लुकामारी
भोजपुरमा जेठ ७ गते प्रहरीले विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेलाई गोली प्रहार गरी पक्राउ गरेको तर उपचारको लागि धरान लादै गर्दा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । तर, विप्लवले भने नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरेको छ ।

भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा प्रहरीले गोली हालेको थियो । यस्तै १९ जेठ २०७६ मा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जामा लिएको हल्ला चल्यो । यी दुबैपछि घटनापछि पनि विप्लवका कार्यकर्ताहरु त्यही डिलखर्क आसपासका क्षेत्र पुगेको प्रहरीको अनुमान थियो । अनुमान सही पनि थियो, समूहमै आएर उनीहरु बसेका थिए ।

विप्लवका कार्यकर्ताहरुले फेरि यही क्षेत्रलाई आधार क्षेत्र बनाएपनि सर्वसाधारणहरुलाई कुनै त्यस्तो दुःख भने नदिएको सर्बसाधरणहरु बताउँछन् । तर, फेरि पुरानै समस्या बल्झिएकोमा भने उनीहरु चिन्तित छन् । उनीहरु भन्छन्,‘फेरि पहिलेकै जसरी पालै–पालो ‘माओवादी’ र सेना आउन थालेका छन् ।’

यसअघि भोजपुर, संखुवासभा, खोटाङ र सोलुखुम्बुका प्रहरी प्रमुख आफैं विप्लवका कार्यकर्ता खोज्न भोजपुर र सोलखुम्बुको सिमानामा गएका थिए । भोजपुरका तत्कालिन डिएसपी केशवकुमार थेवे, संखुवासभाका मीनबहादुर लामा, सोलुका शालिकराम शर्मा, खोटाङका राजकुमार केसी आफैं फिल्डमा गएका थिए । पछिल्लो समयमा यही क्षेत्रलाई विप्लवका कार्यकर्ताहरुले मुकाम बनाएका छन् । अर्थात् फेरि प्रहरी र विप्लव नेकपाका कार्यकर्ताहरुको लुकामारी जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७