अब मोवाइलमै ट्याक्सी, यो एप्सबाट ट्याक्सी सेवा लिन सकिने


१८ असार २०७६, बुधबार

काठमाडौं, १८ असार । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सीसेवा दिन शुरु गरेको छ ।

उपत्यकाका ५ हजार भन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको शुरुवात गरेको हो । ‘इजीट्याक्सी नेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परीक्षण गर्दै आएको छ । अब भने समाजले इजीट्याक्सी नेपालमार्फत आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो ।

इजीट्याक्सी नेपाल ट्याक्सीसेवा हाल काठमाडौं उपत्यकाभरी सञ्चालनमा आईसकेको छ । यसको लागि ‘इजीट्याक्सी नेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नु पर्दछ ।

यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिने छन् ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा शुरु भएको छ । सरकारले पर्यटकहरु नेपाल भित्र्याउन भिजिटनेपाल २०२० अभियान गर्दैछ भने इजीट्याक्सी नेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।’

सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने अध्यक्ष छानेले स्पष्ट पारे । पहिलो चरणमा २७ सय भन्दा बढि ट्याक्सीमार्फत सेवा शुरु गरिएको छ भने अन्य ट्याक्सी तथा चालकहरु सो एप्समा जोडिँदै छन् ।

हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधाको तयारीमा लागेको छ ।
काठमाडौं उपत्यकाभर आफ्नो सेवा संचालन गरिरहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज विसं. २०७५ सालदेखि संगठितरुपमा सक्रिय रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७