लडाईं हो यो


१९ असार २०७६, बिहीबार
Subash devkota poem

 

गोलीहरु गोली जसरी नै सनसनाउँदै आउने छन्
र, टाउको, छाती केही नभनी
छेडेर अघि बढ्ने छन्
रगतको आहाल, एउटा जीवनको मृत्यु, प्रियहरुको पीडाको
संवेदनाले छुदैन गोलीहरुलाई
र, गोली चलाउने हातहरुलाई

लडाईं हो यो
कहाँ घात लगाएर बसेको छ शत्रु
कताबाट आउँन सक्छ गोली
कसरी सुरक्षित कट्न सकिन्छ दुर्घटनास्थल
थाहा पाउनै पर्छ योद्धाले
गल्तीमा माफी पाइँदैन यहाँ
जीवन जस्तै सत्य हो हमला र मृत्यु

नियम हो लडाईंको
चक्रब्यूहमा पारिन्छ अभिमन्यू जसरी
प्रेम र युद्धमा जे पनि जायज हुने भन्दै
सत्यको घाँटी छिनाइन्छ
मौका छाड्दैन शत्रुले
आफैंले जोरजाम गर्नुपर्छ
छाती ढाक्ने बुलेटप्रुफ ज्याकेट
टाउको बचाउँने हेलमेट
शत्रुको प्रतिकार गर्ने शस्त्र-अस्त्र

पैतालाले ढुंगा छाम्दै
साथीको हात बलियोसँग समाउँदै
तर्न सक्नु पर्छ ज्यान जोखिम बनाउने जंघार
दायाँ-बायाँ घुमाउनु पर्छ सधैं आँखाहरु
चनाखो हुनैपर्छ कानहरु
लडाई हो, भन्न सकिन्न
साँध लगाएर खुकुरी, खुँडा र तरबार
ढुकेको हुन्छ बैरी

दया, माया, मानवता कोशौं टाढा छाडेका हुन्छ, शत्रुले
षड्यन्त्र, भ्रम, कुटिलता हतियार हुन् उसका
कति बलियो छ शत्रु
को-को छन् उसका मद्धति
के छन् उसका शस्त्र-अस्त्र
थाहा पाउनै पर्छ योद्धाले
अज्ञानता, निम्छरोपन, बेवकुफी
स्विकार्दैन इतिहासले पनि

लडाईं हो यो
विजय वा मृत्यु
अनिवार्य छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७