‘स्मार्ट फिल्म सिटी’ लम्जुङमा बन्दै


१९ असार २०७६, बिहीबार
smart

काठमाडौं, १९ असार । लम्जुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ ।

निजी क्षेत्रको लगानीमा पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’ का लागि बुधवार नेपालको स्काइ इन्टरटेनमेन्ट प्रा.लि. र इटालियन निर्माण कम्पनी वर्लड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ । नेपालको पहिलो, ठूलो र अन्तर्राष्ट्रियस्तरको उक्त फिल्म सिटीका लागि अनुमानित ५ अर्ब ९० करोड लाग्ने स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले बताएका छन् ।

दुई हजार ६० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइमा निर्माण हुने भनिएको यो सिटी विश्वकै अग्लो स्थानमा भएको ‘स्मार्ट फिल्म सिटी’ हुने जानकारी दिएको छ । चाँडै फिल्म सिटीको डिपिआरको काम हुने सम्झौता कार्यक्रममा वर्लड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले जानकारी दिए । निर्माण शुरु भएको ५ देखि ७ वर्षमा काम सम्पन्न हुने अनुमान गरिएको छ ।

परियोजनाभित्र तारे होटेल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अर्गयानिक फार्म, विभिन्न खेलकुद स्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमुनाका रूपमा निर्माण गरिनेछ । परियोजना अन्तर्गत १६ वटा चलचित्र छायाङ्कनस्थल निर्माण गर्न सकिने भए पनि पहिलो चरणमा १२ वटा मात्र निर्माण गरिने जानकारी दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको उक्त समारोहमा आफ्ना भनाइ राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘स्मार्ट फिल्म सिटी’ नेपालले चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको बताएका छन् ।

‘वर्लड स्काइ सिने भिलेज नेपाल’ को नाममा निर्माण हुने फिल्म सिटीमा विश्वस्तरको प्रविधि प्रयोग गरेर फिल्म छायाङ्कन गर्ने स्टुडियो हुने छन् । साथमा गल्फ, बञ्जीजम्प, प्याराग्लाइडिङ र स्वीमिङ पुल समेत बन्ने छ । परियोजना सम्पन्न हुनासाथ आउट डोर र इन्डोर सबै छायाङ्कन गर्न सकिने अध्यक्ष अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७