मोटरसाइकललाई ‘साइड’ दिन खोज्दा नहरमा खस्यो स्कुल बस


२२ असार २०७६, आईतवार
school bus

मोरङ, २२ असार । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोक नजिकैको नहरमा एक स्कुलको बस खसेको छ ।

आइतबार नहरमा जेभियर्स बोर्डिङ स्कुलको बस आइतबार खस्दा दुई शिक्षिका र एक विद्यार्थी घाइते भएको स्थानीयले जानकारी दिएका छन् । दुर्घटनामा को १ ख १९८२ नम्बरको बसमा सवार दुई शिक्षिका र एक विद्यार्थी घाइते भएका हुन् ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिने क्रममा चिप्लिएर नहरमा खसेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा सोही विद्यालयकी शिक्षिका बुढीगंगा–३ की २२ वर्षीया सम्झना अधिकारी, २४ वर्षीया रिविसा घिमिरे र कक्षा ३ की ८ वर्षीया बालिका सुरक्षा पौडेल घाइते भएका छन् । घाइते सबैको विराट टिचिङ अस्तालमा उपचार भइरहेको छ । बसमा एक चालक, दुई शिक्षिका र १६ जना विद्यार्थी गरेर १९ जना सवार रहेको डीएसपी श्रेष्ठले बताए ।

बस पल्टिएर नहरमा खसेपछि बसमा सवार सबैलाई पानीमा भिजेको अवस्थामा उद्धार गरिएको थियो । पानी बगिरहेको नहरमा बस खसे पनि तत्काल सबैको उद्धार गर्न सकिएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

बसलाई क्रेनको सहायताबाट बाहिर निकालिएको थियो । बस र चालक बुढीगंगा–१ का ५२ वर्षीय बलराम खतिवडालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ । घटनापछि आइतबार विद्यालय पनि विदा दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७