शेरबहादुर बाल–बाल बचेको त्यो समय


२८ मंसिर २०७४, बिहीबार
sher bahadur

डडेलधुरा : नेपालको इतिहासमै पहिलोपटक दलीय प्रतिस्पर्धामा सबैभन्दा प्रतिकूल परिणाम हात पारेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैँ पनि चुनाव नजिकिँदै जाँदा कति आत्तिएका रहेछन् भन्ने बुझिन्छ, यी दृष्टान्तबाट ।sher bahadur
सरकारका जासुसी संयन्त्रबाट प्राप्त पराजयको पूर्वसूचनालाई ज्योतिषीहरूको भरमा केहीजस्तो पनि नठानेका उनी अन्तिम–अन्तिम समयमा हारिने खतरा महसुस गर्दै हेलिकोप्टरबाट डडेल्धुरा ओर्लिए । पार्टी सभापति भएका नाताले उनले हेलिकोप्टर प्रयोग गर्न त पाउँथे तर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारका क्रममा त्यो सुविधा उनीसँग थिएन । तर, निर्वाचन आयोगको सहमतिबेगरै उनी चामल, गहुँलगायत खाद्यान्नसहितका हेलिकोप्टरमा डडेल्धुराका गाउँ घुम्दै थिए ।
पहिल्यैबाट जिल्लामा खटाइएका रत्नबहादुर ऐरचाहिँ हार्ने पक्कापक्की भएको बुझेर अलि हतास मनस्थितिमा थिए । उनी नेपाल विद्युत् प्राधिकरणका १२ औँ तहका कर्मचारी हुन् । सरकारबाट होइन, कांग्रेसबाट खटाइएर उनी त्यहाँ जुटेका थिए । पहिला देउवाका निजी सचिव पनि थिए । उनले पहेँलो नम्बर प्लेटको गाडीमा जिल्लाभरि आर्थिक परिचालनको काम गरे । सदरमुकामस्थित होटेल राइनोमा थियो, उनको बसाइँ ।
एमाले र माओवादीबाट स्थानीय तहमा चुनाव जितेका र हारेका व्यक्तिलाई आर्थिक प्रलोभन दिने, प्रहरी प्रशासनमार्फत वाम गठबन्धन निकटका कर्मचारीलाई आफ्नो पक्षमा आउन दबाब दिनेजस्ता काम तीव्र भए । कतिसम्म भने, प्रहरीका उच्चपदस्थ अधिकारी, सैनिक अधिकृत र तिनका लस्कर मतदानको केही दिनअघिबाट सदरमुकाममा छ्याप्छ्याप्ती देखिन्थे ।
बजारमा चिनिएका भन्दा नचिनिएका, छोटा कपालधारीको मेला नै लागेको थियो । डिआइजी विजयराज भट्टले लेखराज भट्टको पक्षमा काम गरेको आरोप लगाएर उनलाई हटाए अनि माधवप्रसाद नेपाल लगे । जिल्लाभरिका शिक्षकलाई जिल्ला नछाड्न निर्देशन दिइयो । दार्चुला सरुवा भइसकेका सिडिओ जनकराज भट्टलाई डडेल्धुरा तानियो ।
उनी विद्यार्थी जीवनमा नेविसंघ नेता थिए । सहायक सिडिओ करुणाकर अवस्थीलाई लेनदेनको कमाण्डर नै तोकियो । नवदुर्गा जात्रामा एमालेबाट जितेका गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टलाई आफ्नो कार्यक्रम राख्न निर्देशन दिइयो । त्यो गाउँपालिका साविकका कोटेली, मणिलेक, बेलापुरजस्ता बढी जनघनत्व भएका गाविस समेटिएर बनेको हो ।
कवीन्द्रले चुनावको मुखका सामाजिक पर्वलाई दुरुपयोग नगर्ने अडान लिएपछि उनलाई सिडिओले समातेर थुन्नेसम्मको धम्की दिए । ज्वाइँ नवलबहादुर मल्ल अध्यक्ष रहेको देउवाको आफ्नै गाउँ गन्यापधुराका दलितका बस्तीमा मदिरा र मासु बोकेर नवलबहादुर आफैँ दौडिए । सरकारी गाडी पुगेको थियो, सिडिओ जनकराज भट्टको निर्देशनअनुसार । खटिएका थिए, सहायक कर्मचारी उद्धव देउवा । विभिन्न जिल्लामा पोस्टिङ भएका प्रहरीका कर्मचारी छुट्टी लिएर जिल्ला पुगेका थिए । त्यहाँ पुगेर खुलेआम शेरबहादुरलाई जिताउन खटिए ।
कृषि विकास बैंकका लेखापाल चक्र देउवा बेलापुरको सिरोडमा मतदान अधिकृत भएर गएपछि त्यहाँको बुथ कब्जा गर्न लगाइएको गाउँपालिका अध्यक्ष कवीन्द्र विष्ट बताउँछन् । त्यहाँको मतदानकेन्द्रमा वाम गठबन्धनका प्रतिनिधिलाई बाहिर निकालियो । उजुर गर्ने कहाँ रु सिडिओको कुरै भएन । प्रहरी प्रमुख चक्रराज जोशीको त बिल्ला मात्रै सरकारी, काम सबै कांग्रेसको गर्ने । गन्यापधुराको वडा नंं १ र २ मा नवल मल्ल र इन्द्र कार्की आफैँ लागेर वाम गठबन्धनका प्रतिनिधिलाई लखेटिरहेका थिए । यस्तो हुँदा त्यहाँ खटिएका प्रहरीले हेर्नेबाहेक केही गरेनन् । प्रहरीको दुरुपयोग कतिसम्म भने, दुई दिन गणेशपुरका हरेक ठाउँमा सर्वसाधारणलाई धम्क्याउन प्रहरीकै टोली खटाइयो ।
जिल्ला कृषि कार्यालयका नासु दिलबहादुर विष्टलाई देउवाका प्रतिस्पर्धी खगराज भट्टको गाउँमा सूचना संकलनका लागि ढुक्कैले खटाइयो । त्यहाँको दलित बस्तीमा पैसा बाँड्न दिलबहादुर आफैँ पुगेका थिए । कर्ण मल्ल, तारख बुढाऐरहरूको निर्देशनमा अमरगढी नगरपालिकाका कर्मचारी लालबहादुर साउद दिनरात खटिए ।
आश्वासन कतिसम्म भने, भित्री मधेसमा वन मुद्दा लागेका अभियुक्तलाई छुटाइदिने, पुसको २७ गते फैसला सुनाइदिनेसम्म भनियो । डडेल्धुराको बहुचर्चित वनमुद्दामा ४२ करोडको विगो सर्वोच्चमा विचाराधीन छ । चाहेर पनि प्रधानमन्त्री यस्तो मुद्दा मिलाउन सक्दैनन् । तर, यस्तै आश्वासनका भरमा माओवादीबाट समानुपातिक उम्मेदवार भएका नेता नै देउवाको पक्षमा उभिए ।
मतदाता शिक्षाका नाममा समेत दुरुपयोग गर्न बाँकी राखिएन । सहस्रलिङ माविकी शिक्षिका निर्मला बोगटी जिल्ला शिक्षा कार्यालयबाट मतदाता शिक्षाका लागि खटाइएको तर कामचाहिँ कांग्रेसलाई भोट हाल्न सिकाउने । १८ र १९ गते ५२ वडामा पाँच लाख रुपैयाँका दरले प्रचार खर्च पठाइएको थियो । प्रतिबुथ तीन लाख वितरण गरियो । सदरमुकामको स्याउबारी होटेलमा गाउँका प्रत्येक व्यक्तिलाई बोलाएर पैसासहित पठाइयो । नवदुर्गा गाउँपालिकाको कोटेलीमा इन्स्पेक्टर शेरबहादुर बुढाएरकै सक्रियतामा बुथ कब्जा भयो । अनुसन्धान विभागका असई चक्र देउवा चुनाव प्रचारमै खटिए । जिप्रका, मुद्दा फाँटका प्रहरी करवीर ऐरले करुणाकर भट्टलगायत वाम युवालाई अनेक तरिकाले दुःख दिइरहे ।
पेट्रोलपम्पमा कांग्रेसको झन्डा बोक्नेलाई सित्तैमा इन्धन भर्ने व्यवस्था थियो । त्रिभुवन विश्वविद्यालयका पूर्वकन्ट्रोलर रमेश जोशी र अहिलेका कन्ट्रोलर पुष्पराज जोशी पनि पैसाको बिटो बोकेर गाउँ–गाउँ दौडिरहेका थिए । यसप्रकार प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार खगराज भट्ट ६ हजार ९ सय २९ मतान्तरसहित पराजित भए । प्रदेशसभाका उम्मेदवार डा.तारा जोशी एक सय ७० मतको अन्तरले हारे ।

जनआस्था साम्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७