भोजपुरमा मारिएका प्रहरी सञ्जिव सांसद सुदन किराँतीको ‘अङ्गरक्षक’


२५ असार २०७६, बुधबार
sanjeeb

काठमाडौं, २५ असार । भोजपुर भिडन्तमा मारिने प्रहरी जवान सञ्जिव राई लामो समयसम्म नेकपा नेता एवं संघीय सांसद सुदन किराँतीका सुरक्षा गार्ड रहेको पाइएको छ ।

भोजपुरबाट निर्वाचित संघीय सांसद तथा नेकपा केन्द्रीय सदस्य सुदन किरातीसँग लामो समय बसेका सञ्जिव मिलनसार र कामप्रति निष्ठावान थिए । केही समययता उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । सादा पोसाकमा उनी घुमुवा समूहमा थिए ।

विगतमा आफ्नो अङ्गरक्षकको रुपमा काम गरेका सञ्जीवको विप्लव समूहका कार्यकर्ताबाट मारिएको खबर सुन्दा दुःख लागेको किराँतीले बताएका छन् । उनले आफू जिल्लामा रहँदा लामो समय सञ्जीव आफ्नो सुरक्षामा खटिएको संस्मरण गरेका छन् ।

‘सारै असल र मेहनती थिए,’ सांसद किराँतीले भने ‘भोजपुरमा लामो समय मेरो ब्यक्तिगत सुरक्षामा खटिएका थिए ।’ भिडन्तमा मारिएका विप्लव कार्यकर्ता निरकुमार राई ‘प्रशान्त’ भोजपुर बोयाकै स्थायी बासिन्दा भएको किराँती बताउँछन् । ‘प्रशान्त (निरकुमार राई) पनि केही दिनदेखि भोजपुरमै सक्रिय थिए’, किराँतीले सुनाए ।

प्रहरीका अनुसार ओखलढुंगा इञ्चार्ज निरकुमार बेलाबखत भोजपुर आउने जाने गरिरहन्थे । उनले त्यस क्षेत्रमा चन्दा आतंक मच्चाएपछि प्रहरीले उनको खोजी गरिररहेको थियो ।

बुधबार बिहान ८ बजेर ४५ मिनेटमा विप्लव कार्यकर्तासँग गोली हानाहान हुँदा उनको मृत्यु भएको हो । भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । मारिने निरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७