विषादी परीक्षण रोक्ने भारतीय पत्रको जवाफ परराष्ट्रले दिनुपर्छ : मन्त्री खनाल


२६ असार २०७६, बिहीबार
chakrapani khanal baldev oblXA1QptI

काठमाडौं, २६ असार । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले विषादी रोक्ने भारतीय पत्र परराष्ट्र मन्त्रालयमा आएकाले जवाफ पनि परराष्ट्रले नै दिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स् क्लबमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले भने, ‘त्यो पत्र परराष्ट्र मन्त्रालयमा आएको हो । हामीलाई पनि बोद्यार्थ थियो । यो पत्र भनेको दुई देशबीचको सम्बन्धको कुरा हो, डब्लुटिओअनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ ।’

उनले विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो ? भनेर चौतर्फी कुरा उठेको सुनाउँदै निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको पनि बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन र अहिले हामीसँग भएका ल्याबहरुलाई छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’ अहिले पनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको मन्त्री खनालले सुनाए ।

परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उनको भनाइ छ । हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको उनको गुनासो छ । ०७१ साल यताको रेकर्ड हेर्दा ग्रिन–जोनभन्दा तल धेरै कम मात्रामा रहेको उनले आँकडा समेत सुनाए ।

काठमाडौं उपत्यकाबाहिर अहिले पनि ६–७ वटा ल्याबहरु रहेका मन्त्री खनालले जानकारी दिए। उनले भने, ‘तर, ती सबै ल्याबहरु अहिले सञ्चालनमा छन् भनेर म भन्दिन। भएका ल्याबहरु सञ्चालन गर्न जनशक्तिको समस्या छ ।’

यता सर्वोच्च अदालतले भने बुधबार मात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्ने पनि उनले विश्वास दिलाए । भने, ‘अहिले हामीसँग भएका सबै ल्याव, साधन र स्रोत परिचालन गरेर परीक्षणको काम गर्छौं ।’

केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समूहको परीक्षण गर्ने भए पनि बाँकीमा २ वटा प्यारामिटर मात्रै जाँच हुँदै आएको उनको भनाइ छ । चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि आफूले खाद्य, पशु र प्लान क्वारेन्टाइनअन्तर्गतका १४ वटा क्वारेन्टाइन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको स्पष्ट पारे ।

मन्त्री खनालले आफ्नो कुनै पनि मन्त्रालयसँग समस्या नरहेको स्पष्ट पारे। भने, ‘हामीमा कुनै समस्या छैन। हामी अदालतको निर्णय मान्छौं।’ अहिले पनि चेकजाँचको काम नरोकिएको उनले स्पष्ट पारे। मन्त्री खानालका अनुसार अहिले २१ वटा विषादीमा प्रतिबन्ध गरिएको छ। विषादी ऐन अन्तिम अवस्थामा रहेको सुनाउँदै छिट्टै कार्यान्वयनमा आउने उनको विश्वास छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७