प्रसुति वार्डबाटै अपहरित १३ दिने शिशुको उद्धार, नन्द-भाउजु पक्राउ


२६ असार २०७६, बिहीबार
apaharan

सुनसरी, २६ असार । प्रहरीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अपहरित १३ दिने शिशुको उद्धार गरेको छ ।

शिशुको बुधबार राति प्रसुति वार्डबाटै अपहरण भएको हो । अपहरणमा भोक्राहा–१ की बबिता मेहताको १३ दिने छोराको तीन घण्टापछि उद्धार गरिएको हो । बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुई जना महिलाले १३ दिनको नवजात शिशुको अपहरण गरेको पाइएको छ । अपहरण भएको थाहा पाउन साथ प्रहरीमा खबर गरेपछि शिशुको उद्धार गरिएको थियो ।

शिशुको अपहरणमा संलग्न दुई महिलालाई समेत प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । अपहरणमा संलग्न धरान १५ माइती भई भारतको दिल्ली घर भएकी वर्ष २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू (विक) लाई पक्राउ गरिएको छ ।

डीएसपी न्यौपानेले अपहरणमा परेका नवजात शिशुलाई अपहरणकारीले भारतको डिल्ली लैजाने तयारी गरिरहेको अवस्थामा उद्धार गरिएको बताएका छन् । लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको प्रहरीलाई बयान दिएकी छिन् । नवजात शिशुको अपहरणमा संलग्न महिला नन्द–भाउजू नाताको रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७