नेकपाको राजनीतिक प्रतिवेदन : एक वर्षपछि माधव नेपालकै दस्तावेज हुबहु


२६ असार २०७६, बिहीबार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौं, २६ असार : पार्टी एकताको साँढे १३ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक दस्तावेज प्रकाशनमा गएको छ । एकता घोषणामै भइसकेको समझदारीलाई अनेक कोणबाट प्रश्न उठाउने, सैद्धान्तिक–वैचारिक बहसका नाममा पार्टी एकतालाई कमजोर बनाएर शीर्ष नेताहरूबीच अनावश्यक दूरी बढाउन खेलोफड्को भइरहेको बेला दस्तावेज प्रकाशनमा पठाइएको हो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दस्तावेज प्रकाशनका लागि पठाइएको वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि जानकारी गराएका छन् ।

पार्टी एकताको संघारमा तत्कालीन एमाले–माओवादीबीच एकता महाधिवेशनसम्म अबको कार्यदिशा जनताको जनवाद रहने र दुवै पार्टीले अपनाउँदै आएका जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद र माओवादलाई महाधिवेशनमा छलफलमा लैजाने सहमति भएको थियो । यो सहमतिको जगमा टेकेर एकताका निम्ति वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा दुवै पार्टीका नेता सम्मिलित कार्यदलले राजनीतिक दस्तावेज तयार पारेको थियो ।

वतर्मान कम्युनिस्ट आन्दोलन, अबको कार्यदिशा, राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थिति, विभिन्न शक्तिहरूलाई हेर्ने दृष्टिकोणलगायतका विषयमा नेपाल नेतृत्वको कार्यदलले अघि सारेको दृष्टिकोणलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गरेपछि मात्र दुई पार्टीबीच एकता घोषणा भएको थियो । उक्त दस्तावेजलाई पार्टी स्थायी समिति र सचिवालय बैठकले पारित गरिसके पनि अबको कार्यदिशा जबज कि जनताको जनवाद भन्दै बेमौसमको खेती गर्न खोजिएपछि एकता प्रक्रियामाथि नै आशंका पैदा भएका थियो ।

विशेषगरी सचिवालय सदस्य ईश्वर पोखरेलले त्यस्तो कामको नेतृत्व गर्न खोजेपछि पार्टी पंक्तिमा भ्रम पैदा गर्ने मात्र होइन, नेताहरूबीच गम्भीर अविश्वास पैदा हुने स्थिति बनेको थियो । तर, त्यस्ता प्रयासलाई पाखा लगाउँदै तीन नेताको सहमतिमा प्रकाशित दस्तावेज अब कार्यकर्ता तहमा पुग्ने भएको छ ।

नेपाल नेतृत्वले तयार पारेको दस्तावेजमा शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गरेर सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादतर्फ अघि बढ्ने जनताको बहुदलीय जनवादको दार्शनिक पक्षलाई आत्मसात् गरिएको छ ।

त्यति मात्र होइन, जबजका सबै विशेषतालाई समावेश गरेर अन्तरिम कालका लागि मात्र पार्टीको कार्यदिशाको नाम जनताको जनवाद दिइएको छ । तर, त्यो जनवाद समाजवादउन्मुख हुने किटानी गरिएको छ ।

जबजले नै सामन्तवादविरोधी क्रान्तिपछि उत्पादन र उत्पादन शक्ति, राज्यको चरित्रमा परिवर्तन गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादतिर अघि बढ्ने कार्यदिशाको बाटो देखाएको खबर बुधबार साप्ताहिकले लेखेको छ ।

त्यसैको जगमा टेकेर बनाइएको एकीकृत पार्टींको दस्तावेजलाई निरन्तरता दिँदै प्रकाशनमा पठाइएको छ । नेपालको नेतृत्वमा तयार भएको प्रतिवेदनको अंशमा सामान्य भाषिक सम्पादनबाहेक हुबहु छपाइका लागि पठाएको बताइएको छ । 

लामो सकसपछिको सहमति

पछिल्लो समयमा सांगठानिक एकता नटुंगिदै सैद्धान्तिक बहस सुरु भएको थियो । खासगरी नेकपा सचिवालय सदस्य एवम् सरकारमा दोस्रो वरियतामा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्पष्ट वैचारिक कार्यदिशा नभएको भन्दै असन्तुष्टी जनाउदै आएका थिए ।

एकतापछिको एक वर्ष गुजारिसकेको नेकपामा स्पष्ट वैचारिक र राजनीतिक कार्यदिशा नभएको भन्दै नेकपाको कार्यदिशा जनताको बहुदलीय जनवाद (जबज) नै उपयुक्त भएको मत राख्दै आएका थिए ।

नेता पोखरेलले जनताको बहुदलीय जनवाद सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन, यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशानिर्देश गर्ने विचार भएको भन्दै जबजको विकल्प नभएको बताएका थिए ।

दुई नेताहरुबीच ‘जनताको जनवाद’मा सहमतिलाई उनले तत्कालिन अवस्था माओवादीको अप्ठ्यारोलाई सम्बोधन गर्न राखिएको दाबी गर्दै आएका थिए । भनेका थिए, ‘त्यस्तो सहमति माओवादीको हार भयो भनेर मनोवैज्ञानिक असर नपरोस् भनेर राखिएको हो ।’

अध्यक्ष ओलीले समेत जबज नै नेकपाको सिद्धान्त हुने दाबी सहित २१ फागुन २०७५ मा ‘सुखानी स्मृति दिवस’ को सन्दर्भ पारेर लामो लेख लेखेका थिए । नेपालखबरडटकम मा प्रकाशित आलेखमा ओलीले जनताको बहुदलीय जनवादलाई अंगीकार गरेर अगाडि नबढे पार्टी पतन र समाप्तिको बाटोतर्फ लाग्ने जिकिर गरेका थिए ।

ओलीले लेखेका थिए, ‘हामीले एकतापछि एउटाले जिते जस्तो, अर्काले हारे जस्तो नहोस् भनेर ‘जनताको जनवाद’ भनेका छौं, तर एकता गराएको केले हो वा कुन नीतिमा एकता भयो त भन्दा जनताको बहुदलीय जनवादमा भएको हो । जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनभित्र लोकतन्त्रीकरणको कुरा गरेको छ, प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली मानेको छ, संविधानको सर्वोच्चताको कुरा गरेको छ, शक्ति पृथकीकरणको सिद्धान्त मानेको छ र स्वतन्त्र न्यायालयको मान्यता स्वीकार गरेको छ कसैलाई समयमै यो कुरा बुझन अलि समस्या परेको होला । तर, अब सिर्फ तीनवटा बाटा छन्, जनताको बहुदलीय जनवादलाई बुझेर, अंगीकार गरेर सफलतापूर्वक अगाडि बढ्ने बाटो, पतनको बाटो वा समाप्तिको बाटो । यी तीन बाहेक अन्य विकल्प छैन ।’

एकता प्रक्रिया टुंगिइनसकेको नेकपाभित्र जबजको बहसपछि अर्का अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला अध्यक्षद्वय ओली र आफू आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको बारेमा पनि चर्चा सुरु गरेका थिए । पूर्व एमालेका नेताहरु जबजको पक्षमा खुल्न थालेपछि अर्का अध्यक्ष प्रचण्ड पनि सक्रिय भएका थिए ।

गृहमन्त्री रामबहादुर थापा, नेता जनार्दन शर्मा, वनमन्त्री शक्ति बस्नेत लगायतका नेताहरु प्रधानमन्त्री तथा अध्यक्ष ओली निकट कित्तामा पुगेको चर्चा भइरहेको बेला जबजको बसहले पूर्व माओवादी नेताहरुलाई एउटै ठाउँमा ल्याएको थियो । कार्यदिशा विवादले पार्टी एकतामै समस्या भएपछि अध्यक्षद्धय ओली र प्रचण्डले वरिष्ठ नेता नेपाल कार्यदलले तयार पारे अनुसार नै टुंगो लगाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७