एकविरुद्ध अर्कोलाई प्रयोग हाम्रो नीति होइन


२६ असार २०७६, बिहीबार
prachanda

परराष्ट्र नीति भनेको देशको आन्तरिक नीतिकै विस्तारित रूप हो । परराष्ट्र नीतिका दुईटा मूलभूत पक्ष हुन्छन् । एउटा, आधारभूत पक्ष, जो अपरिवर्तनीय हुन्छ । राष्ट्रको हित गर्नु नै परराष्ट्र नीतिको आधारभूत पक्ष हो । जुनसुकै परिस्थितिमा पनि राष्ट्रिय हितको प्रवद्र्धन गर्नु, देशको स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौमसत्ताको रक्षा गर्नु यस्ता पक्ष हुन्, जो जुनसुकै राजनीतिक प्रणाली आए पनि, जस्तोसुकै राजनीतिक नेतृत्व आए पनि परिवर्तन हुन सक्दैनन् । त्यसमा हामी दह्रोसँग उभिन सक्नुपर्छ ।

अर्को पक्ष, गतिशील र परिवर्तनशील हुन्छ, आन्तरिक र बाह्य दुवै हिसाबले । आन्तरिक हिसाबले हुने राजनीतिक परिवर्तनहरू र त्यो परिवर्तनले माग गर्ने केही मूलभूत पक्षहरू, जसले हाम्रो विदेश नीतिलाई विकसित र परिमार्जन गर्छ । अर्को बाह्य रूपमा हुने राजनीतिक परिवर्तन, अन्तर्राष्ट्रियस्तमा हुने परिर्वतनहरू र त्यसले हामीलाई हाम्रो परराष्ट्र नीति परिमार्जन गर्न लिनुपर्ने, विकसित गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने र गति दिनुपर्ने केही पक्ष हुन्छन् ।

बाह्य पक्षभित्र राजनीति मात्र पनि छैन । यसका आर्थिक पक्ष पनि छन् । विश्वको अर्थतन्त्र कसरी अगाडि बढ्दै छ भन्ने र देशभित्रको अर्थतन्त्र कसरी अगाडि बढ्दै छ भन्ने कुराले पनि हाम्रा नीतिलाई परिमार्जन र विकसित गर्नुपर्ने आवश्यकतालाई घच्घच्याइराखेकै हुन्छ । त्यो मात्रै पनि होइन, प्रकृतिमा आउने परिवर्तनले पनि बेलामौकामा हाम्रा विदेश नीतिहरूलाई विकसित र परिमार्जन गर्नुपर्ने अवस्था लिएर आउँछन् ।

उदाहरणका लागि जलवायु परिवर्तनको कारण वा ग्यासियर पग्लने प्रक्रिया जसरी अगाडि बढेको छ, त्यसले हाम्रा नजिकका छिमेकीहरूसँगको हाम्रो सम्बन्धलाई नयाँ ढंगले विकसित र परिमार्जन गर्नुपर्ने र अन्तर्राष्ट्रिय समुदायसँग पनि हामीले हाम्रा सम्बन्धहरूलाई यो चुनौतीको सामना कसरी गर्न सकिन्छ भन्ने हिसाबले छलफल, बहस गर्नुपर्ने बनाएको छ ।

अहिले नेपालमा निश्चय नै एउटा विशिष्ट प्रकृतिको परिस्थिति छ । नेपालमा पहिलोपटक संविधानसभाको निर्वाचन भएर सबै राजनीतिक दलको सहमतिबाट हामीले संविधान बनाएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको छ । यो दूरगामी महत्वको परिवर्तनको घोषणा हो । यो पनि हामीले सबैको सहमति र समझदारीबाट गरेका हौं । यसले हाम्रो विदेश नीतिमा पनि अब नयाँस्तरको समझदारी, सहमति, एकरूपता विकसित गर्न जरुरी छ भन्ने कुरा माग गरेको छ ।

हिजो हामीले आन्दोलनमा, संविधान निर्माणमा या निर्वाचन प्रक्रियामा पनि अगाडि बढ्दै जाँदा जुन सहमति र सहकार्यको भावनाका साथ ती काम पुरा गर्‍यौं । अहिले हामी विकास र समृद्धिको यात्रामा सँगै अगाडि जाने हाम्रो राष्ट्रिय सहमति छ । हाम्रो अबको दिशा समाजवाद उन्मुख हुनेछ भनेर संविधानले नै दिशा निर्देश गरेको छ । हामीले सामाजिक न्याय, आर्थिक समृद्धि, निजी क्षेत्रसँगको सहकार्यको कुरा गरेका छौं ।

निजी क्षेत्रसँग देशभित्रको आन्तरिक सहकार्यको स्तरलाई पनि माथि उठाउनुपर्ने र अन्तर्राष्ट्रिय रूपमा निजी क्षेत्रसँगको सहकार्यलाई पनि नयाँ ठाउँमा नउठाई समृद्धिको यात्रा हामीले ठीक ढंगले पूरा गर्न सक्दैनौं । यी यस्ता विषयहरू छन्, जसले के माग गरेको छ भने परराष्ट्र नीतिबारे पनि हाम्रो एउटै धारणा हुनु जरुरी छ । परराष्ट्र नीति देशका लागि सबैभन्दा महत्वपूर्ण, ऐतिहासिक र संवेदनशील पनि छ । त्यसमा सबै राजनीतिक शक्तिहरूका बीचमा सबै विज्ञका बीचमा पर्याप्त छलफलद्वारा राष्ट्रको एउटा साझा अवधारणा वा नीति बनाउनुपर्छ ।

त्यसमा भोलि सरकार परिवर्तन हुँदै गर्दा, पार्टीहरू नयाँ पुराना आउँदै गर्लान्, तर हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष यही हो, यसमा परिवर्तन हुँदैन भन्ने परिस्थिति सिर्जना गर्नु आजको ऐतिहासिक आवश्यकता हो । विगतमा जहिले पनि सरकार फेरिँदै गर्दा परराष्ट्र नीतिका जोडकोड पनि फेरिए । कहिले प्रो यो भन्यो, कहिले प्रो यो । कहिले दायाँ ढल्केको, अकिले बायाँ ढल्केको । सरकार फेरिँदै पिच्छे यसो भनिरह्यौं । छिमेकीले हामीलाई सोध्दा पनि कुन पार्टी कता ढल्केको र फर्केको आधारमा हेर्नुपर्ने उनीहरूलाई बाध्यता पनि र त्यसभित्र कुनै न कुनै रूपको चलखेल हुने स्थिति पनि बन्यो । अब त्यो स्थितिको अन्त्य गर्ने समय आएकै हो । अब हामी प्रो नेपालबाहेक अरू कोही पनि प्रो होइनन् ।

हामीसबै सँग मित्रताको सम्बन्ध चाहन्छौं । हामीले भन्ने गरेको सन्तुलित सम्बन्धको अर्थ बराबरी सम्बन्ध, यान्त्रिक रूपले दुवै छिमेकीसँग ५०/५० भनेको होइन । त्यस्तो हुन सक्दैन पनि । भारतसँगको सम्बन्धका आफ्नै विशेषताहरू छन्, चीनसँगको सम्बन्धका आफ्नै विशेषताहरू छन् । हामी नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिएर उनीहरूसँग ऐतिहासिकहरूले विकसित भएका विशिष्टता र सम्बन्धका सूत्रहरूलाई देशको हितमा प्रयोग गर्न चाहन्छौं । हामी एकविरुद्ध अर्कोलाई प्रयोग गर्न चाहँदैनौं ।

विगतका हाम्रा कैयौं त्यस्ता तीता अनुभव छन् । तीनले राष्ट्रलाई हित गरेनन् । जनतालाई हित गरेनन् । हाम्रो समृद्धिको आकांक्षालाई त्यसले मद्दत गरेनन् । त्यसकारण, हामी त्यसो गर्दैनौं । हामी नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर दुवै छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग पनि एउटा राम्रो मित्रतापूर्ण सम्बन्ध बनाउन चाहन्छौं । हामीले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नताको सिद्धान्त, हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र हाम्रो आफ्नो सम्मानको कुरा, पारस्परिक हितका कुराजस्ता आधारभूत कुराका आधारमा मित्रता कायम गर्न चाहन्छौं । अहिले एउटा ठूलो परिवर्तन हामी सबैले मिलेर ल्याएका छौं ।


हामी समृद्धिको यात्रातिर अगाडि बढ्ने कुरा पनि गरेका छौं । तर, अहिले हामीले देखेका छौं, विभिन्न शक्ति राष्ट्रहरूका बीचमा प्रतिस्पर्धा नयाँ चरणमा उठेको छ । इतिहास साक्षी छ, शक्ति केन्द्रहरू सिफ्ट भइराख्छन् । पहिला एसियामा थियो । सभ्यताको केन्द्र, आर्थिक विकासको केन्द्र, संस्कृतिको केन्द्र, शक्तिको केन्द्र एसिया थियो ४/५ सय वर्षअघिसम्म पनि । त्यो सिफ्ट भएर युरोपतिर गयो । युरोपबाट पनि सिफ्ट भएर अमेरिका गयो ।

सायद अब बिस्तारै फेरि फर्केर एसियातिर आउने सम्भावना बढ्दो छ । यो यस्तो फेनोमेना हो, जो मान्छेको इच्छाबाट नियन्त्रण हुँदैन । विकासको आफ्नो स्वतन्त्र नियमले प्रकृति, समाज र मानवचिन्तनको विकास प्रक्रियाले नै निर्धारित गर्दै गएको हुन्छ । र, हामीले त्यसको विशेषतालाई बुझेर आफ्नो राष्ट्रिय हितलाई विकसित गर्न, परिमार्जित गर्न, परिभाषित गर्न सिपालु हुनुपर्ने हुन्छ । कुनै सुपर पावरहरू आफूखुसी सुपरपावरको हैसियतबाट तल खस्न कोही पनि कहिल्यै पनि चाहँदैनन् ।

उदांगो अर्थतन्त्र भएका देशहरूलाई पनि त्यति सजिलै स्विकारिएको पनि छैन । त्यहाँ कहीँ न कहीँ प्रतिस्पर्धा हुन्छ । त्यो प्रतिस्पर्धा कहिलेकाहीँ ठूलाठूला द्वन्द्वमा जान्छ । कहिलेकाहीँ ठूलाठूला युद्धका रूप पनि लिन्छ । हजारौं, लाखौं मान्छेको ज्यान जाने खतरा पनि हुन्छ । तर, अहिले विज्ञान प्रविधिको विकास, मानव जातिले इतिहासबाट आर्जन गरेका ज्ञान अनुभवका आधारमा युद्धलाई अस्वीकार गर्ने, शान्ति र स्थिरतालाई प्रोत्साहन गर्ने र सामाजिक न्यायसहितको विश्व निर्माण गर्ने उद्देश्यमा केन्द्रित भएर छलफल गर्‍यौं भने विगतका जस्ता युद्धका विभिषिकाबाट यो भूमण्डललाई बचाउन सम्भव छ । त्यसका दार्शनिक, राजनीतिक, वैज्ञानिक, आधारहरू पनि छन् ।

त्यसकारण अहिले हामी इतिहासको जुन चरणमा आइपुगेका छौं, हाम्रा केही यस्ता विशेषता छन् । हामीले नेपालमा मौलिक ढंगले शान्ति प्रक्रिया अगाडि ल्यायौं । सामाजिक रूपान्तरणको बडो मौलिक प्रक्रियाद्वारा राजनीतिक स्थायित्व हासिल गर्नेतिर अगाडि बढेका छौं । हामीले यो चीजलाई विश्वका अगाडि राम्रोसँग बिक्री गर्न सक्नुपर्छ । स्थापित गर्न सक्नुपर्छ । हाम्रो शान्तिका अनुभवहरूलाई राम्रोसँग लैजान सक्नुपर्‍यो ।

यी कुरा पनि हाम्रो अहिलेको विदेश नीतीसँग जोडिनुपर्‍यो । यसरी हामी एउटा एक रूप विचार कायम गर्ने र अब राष्ट्रलाई नयाँ एकतासहित, नयाँ बुझाइसहित परराष्ट्र मामिला मुख्यतः बढी संवेदनशील छ । हामीले कर्मचारी संयन्त्रलाई परिमार्जन गर्ने भनौं या साधानसम्पन्न भनौं । त्यो संरचनालाई बलियो बनाउनुपर्छ । राज्यको तर्फबाट त्यस्ता विज्ञ तयार गर्न लगानी गर्नुपर्छ । त्यसले एकरूप विचारसहित हाम्रो परराष्ट्र नीति अक्षुण्ण हुन्छ भन्ने कुरा ग्यारेन्टी गर्नु आवश्यक छ ।

(सम्बोधनमा आधारित)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७