वर्षाको विपत : देशभर कहाँ-के भयो ?


२७ असार २०७६, शुक्रबार
Nepal Update flood

काठमाडौ, २७ असार :  मुलुकभर परेको वर्षाका कारण बाढी पहिरोमा परेर १७ जनाको मृत्यु भएको छ । विहिबार बिहानैदेखि मुलुकभर वर्षा जारी छ ।

काठमाडौं, काभ्रे, रामेछाप, भोजपुर, ललितपुर, खोटङ, मोरङ, दोलखा, धनकुटा, महोत्तरी, पाँचथर, सुनसरी, मकवानपुर, पर्सा, धादिङ, सिन्धुली र इलाममा गरी १७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ७ जना बेपत्ता छन् भने ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार खोटाङका ३, काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २र२ जनाको मृत्यु भएको छ । यसैगरी ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १/१ जनाको मृत्यु भएको छ ।

कहाँ के भयो ? 
काठमाडौं : काठमाडौंका खोला छेउमा नबस्न आग्रह

अबिरल वर्षाका कारण काठमाडौंको मुलपानीमा गएको पहिरोमा पुरिएका तीन जनाकै शव फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा–६ स्थित टहरोमा बसिरहेका तीन जनाको शव पहिरोबाट निकालिएको हो ।

शुक्रबार दिउँसो माथिबाट खसेको पहिरोले टहरो पुर्दा उनीहरु हराइरहेका थिए । मृत्यु हुनेमा ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र उनका छोरा १० वर्षीय कुन्दन यादव रहेको परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनीहरु बारा जिल्लाका हुन् । टहरोमा डेरा बसिरहेका थिए । वर्षाका कारण पहिरोले टहरो पुरेपछि हराइरहेका उनीहरुलाई एक्साभेटरको सहायताले खोजिएको थियो । ‘पहिरो हटाउँदा तीनै जनाको शव भेटियो,’ उनले भने ।

बोगटीका अनुसार काठमाडौंका अधिकांश खोलाहरुमा पानीको सतह बढेकाले छेउछाउ नबस्न अनुरोध गरिएको छ । ‘खोला छेउछाउ बस्नेहरुलाई सुरक्षित स्थानमा सर्न अपिल गरिएको छ,’ उनले भने ।

खोलाको छेउछाउका बस्ती जोखिममा परेपछि प्रहरीले उद्धार टोलीलाई ‘अलर्ट’ राखेको छ । कलंकी मालपोत क्षेत्रमा उद्धार टोली बाढी क्षेत्रमा खटिइरहेको बोगटीले बताएका छन् ।


भक्तपुर :  हनुमन्ते बस्तीमा पस्न थाल्यो

Nepal Kathmandu
 कााठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै शुक्रबार महानगरपालिका–१४ कलङकीस्थित मालपोत कार्यालय वरपर बाढी बस्तीमा पसेपछि उद्वार गर्दै सशस्त्र प्रहरी ।

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान सुरु भएको छ। बिहिबारदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो।

हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताए। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ भट्टका साथै नेपाली सेना, प्रहरीसहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्र अनुगमन गरेको छ।

भने, ‘हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छौँ, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।’ 

नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छ। बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शङ्खधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायत क्षेत्रबाट बाढी बस्तीमा पस्न थालिसकेका छन्। शङ्खधर चोकबाट दधिकोट जाने पुल भासिएको छ। मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायत क्षेत्र डुबानमा परेका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवकको टोली जिल्लामा आइपर्ने विपद् न्यूनीकरणका लागि उच्च सतर्कतामा रहेका छन्। प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा यस वर्ष रु २० लाख विपद् व्यवस्थापन एवं उद्धार सामग्रीहरु खरीद गरेर उद्धारको तयारीमा राखिएको छ।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र कमरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायत क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौँ घर डुबानमा पर्नाका साथै करोडौँको धनमाल क्षति भएको थियो।

यस वर्ष हनुमन्ते करिडोर निर्माण सुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दामा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएकाले थप समस्या बल्झिएको हो।

सांसद बस्नेतले बाढीको जोखिममा रहेका क्षेत्रको अनुगमन गर्दै हनुमन्ते करिडोर निर्माण रोकिँदा थप समस्या आएको बताए। उनले उक्त करिडोर निर्माण रोकिएकै क्षेत्रमा पानीको बहाब फर्किएर गएको पाइएको बताउँदै जोखिम न्यूनीकरण गर्न आवश्यक पहल भइरहेको बताए।

विसं २०७५ मङ्सिरदेखि उक्त करिडोरको निर्माण कार्य शुरु भई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा असार लागेलगत्तै भूमाफियाको चलखेलमा रोकिएको छ। मध्यपुर थिमि नपा–३ र सूर्यविनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माण कार्य पुगेपछि २०२१ सालको नापी नक्साअनुसार खोला बग्न दिन हुन्न भन्दै भूमाफियाले अवरोध पुर्‍याएपछि करिडोर निर्माण रोकिएको बालकोटका रामशरण श्रेष्ठले बताए।

आज आएको बाढी करिडोर निर्माण रोकिएकै ठाउँबाट फर्किएर बस्तीमा पस्न थालेको बताउँदै यसबाट हुने क्षतिको जिम्मेवारी रोक्ने व्यक्तिहरुले लिनुपर्ने बताए। मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलमा हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ।

जग्गाधनीको सहमतिअनुसार सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा तयार पारेको नक्साका आधारमा दीर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गाहरु फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार करिडोर निर्माण गरिएकामा एक महिनादेखि रोकिएको छ।

ओखलढुङ्गा : पहिराले दर्जनौँ बस्ती जोखिममा

okhaldhunga
ओखलढुंगाको खिजीफलाटेका धनबहादुर तामाङको पहिरोले भत्काएको घर । तस्वीर : पूर्णप्रसाद न्यौपाने


वर्षापछि आएको पहिराका कारण जिल्लाका विभिन्न ठाउँका बस्ती जोखिममा परेका छन् । पहिराले घर र विद्यालयमा क्षति पुगेको छ ।  पहिरोले खिजिदेम्बा गाउँपालिका–५ खिजिफलाटे बजारस्थित धनबहादुर तामाङको तीन तले घर भत्काएको छ । यस्तै पहिरो खस्दा सुनकोशी गाउँपालिका–९ कोषहाटका भीमबहादुर तामाङको टहरा बगाएको छ ।

गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले तामाङ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताए ।  यस्तै सुनकोशी गाउँपालिका–४ जैरुङघाटमा बाढी पहिराका कारण सात घर जोखिममा छ । पहिराको जोखिम भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरिएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

सुनसरी : सप्तकोशीमा खतराको सङ्केत
दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ ।

आज अपराह्नसम्म सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७२ हजार ६२५ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार नाघेपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो झण्डा र रातो बत्ती बाल्ने गरिन्छ ।

पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले र स्थानीय तहले नदी किनार आसपासका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । वर्षा शुरु भएकाले राहत र उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयार रहेको जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्भावित बाढीबाट जोगिन सर्तकताका लागि आग्रह गरे ।

झापा :  खोलाले बगाएर दुईको मृत्यु
खोलाले बगाएर झापामा आज एक बालिकासहित दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार इलाम चुलाचुली गाउँपालिका–१ का ५१ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई हाल दमक–१० मावली आएकी छ वर्षीया बालिका एलिजा न्यौपाने रहेका छन् ।

आज बिहान घर नजिकैको कमल खोलाले बगाएर बेपत्ता भएका ५१ वर्षीय लावतीको शव झापाको कमल गाउँपालिका–२ स्थित भालु गाउँस्थित कमल खोलामा अपराह्न ४ बजे मृत अवस्थामा शव भेटिएको प्रनि एक्तेनले बताए ।

यसैगरी मामा घर आएकी पुनम न्यौपानेकी छोरी एलिजा स्थानीय खोलाले बगाएर आज अपराह्न मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सुनसरी : इनरुवाका अधिकांश वडा डुबानमा
बाढीका कारण सुनसरी सदरमुकाम इनरुवामा अहिलेसम्म ५३८ घर डुबानमा परेका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतमका अनुसार बाढीबाट इनरुवा–२ मा ४०, वडा नं ३ मा ६९, वडा ४ मा ५० घर, वडा नं ९ मा ३५ तथा १० मा ३५० घर डुबानमा परेको छ । सुनसरी, सेउती, टेङ्ग्रा, बूढी, मरियालगायत खोलामा आएको बाढीका कारण सयौँ घर डुबानमा परेको छ । इनरुवा–९ को २९ घरमा बाढी पसेपछि उनीहरुलाई सरस्वती माविमा राखिएको छ ।

डुबानमा परेकाको उद्धार तथा राहत उपलब्ध गराउन इनरुवा नगरपालिकाले पहल थालेको विपद् व्यवस्थापन समितिका सदस्य एवं इनरुवा–५ का वडाध्यक्ष अञ्जनी पोखरेलले बताए ।

यस्तै हरिनगर गाउँपालिका वसन्तपुरका ४५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुनसरी खोला किनारका बासिन्दालाई सचेत पारिएको छ । प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सप्तकोशी नदीमा पछिल्लो मापनअनुसार बहाव एक लाख ८३ हजार ७४५ क्युसेक रहेको छ । कोशी ब्यारेजका २३ ढोका खोलिएका छन् ।

सिन्धुली : पहिराले गोठ बगाउँदा महिलाको मृत्यु

Banepa
  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालमा अविरल बर्षाका कारण शुक्रबार विहान घरमाथिको ढिस्को (पहिरो) झरेर भत्किएको स्थानीयबासिन्दा रामप्रसाद दंगालको घर । सो घर भत्किँदा दई जनाको मृत्यु भएको छ ।


सिन्धुलीमा लगातारको अविरल वर्षाका कारण पहिराले गोठ बगाउँदा एक महिलाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–१ झुल्केमा पहिराले गोठसहित बगाउँदा महिलाको पुरिएर मृत्यु भएको हो । गोठमा गाईलाई खोले दिन गएकाबेला ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिराले बगाउँदा मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् । माथिबाट खसेको पहिराले गोठसहित बगाउँदा तीन गाई, दुई बाख्रासमेत बताइन् ।

वर्षाका कारण फिक्कलमा पर्ने मध्यपहाडी लोकमार्गका नवलपुर, बाजुरा, खाङसाङ खोला, सोखुखोला लगायतका स्थानमा राजमार्ग अवरुद्ध भएको उनकाेभनाइ छ । गएरातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । केही पहिरो पन्छाएर एकतर्फीका सवारीसाधन सञ्चालनमा ल्याए पनि पहिरो खसिरहेकाले अझै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

Bajura river
  ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका सवारीसाधन । बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन

महोत्तरी : जलेश्वर कारागार जलमग्न
दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाकोसमेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार जलमग्न बनेको छ ।

मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको निमित्त जेलर मकसुदन महासेठले बताउनुभयो । राणाकालीन उक्त कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाका बेला यो कारागार जलमग्न बन्ने गरेको निमित्त जेलर महासेठ बताउँछन् ।

कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म दुई फिटसम्म पानी जमेको छ । त्यसैगरी कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भए पनि बाहिरको पानी भित्र प्रवेश गरेर पानी जमेर कारागारको अवस्था अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले बताए ।

चार सय ६३ कैदीबन्दी रहेको जलेश्वर कारागारमा वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न समस्या भएको चौकीदार यादवले जानकारी दिए

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेकसमेत वर्षाको पानीले प्रभावित बनेको जनाइएको छ । सुरक्षाकर्मीलाई पानीमै ड्युटी बस्नुपरेको छ । पानीले कारागारको प्रशासनिक कामकाजसमेत प्रभावित भएको जेलर महासेठले बताए । 

मकवानपुर : बाढीले बगाएर बालिकाको मृत्यु
मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

सोही वडाको दम्की खोलाले बगाउँदा १४ वर्षीया छात्रा सन्तमाया घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी अविरल परेको वर्षाले हेटौँडा नारायणगढ सडकखण्डको ज्यामिरेमा आज अपराह्न पहिरो आई सो सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

उक्त पहिरो हटाउन इलाका प्रहरी कार्यालय मनहरीले डोजर त्यसतर्फ पठाइसकेको र करीब दुई घण्टाभित्रै यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए अहिले पनि अविरल परेको वर्षात्को बाढीले त्रिभुव राजपथको बागझोरामा यातायात सञ्चालन गर्न अझै पनि कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

खोटाङ्ग : बेपत्ता रहेका तीनको शव फेला
खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ । घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उनका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो ।

पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते हुनुभएको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

Bajura River Nepal
नरन्तरको वर्षाका कारण बाजुरा जिल्लाको ठूलो बुढीगङगा नदी थुनिँदै गएपछि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटसहितको टोलीद्वारा अनुगमन

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ । बिहान करीब ५ बजेतिर पहिराले घरमा सुतिरहेका चारैजनालाई बगाएको थियो । पहिरो आउनासाथ स्थानीयवासीले विष्णुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता बनेका दुई छोरा र आमालाई इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट उद्धारमा खटिएका प्रहरी टोली र स्थानीयवासीले अपराह्नपछि मृत फेला पारेका हुन् ।

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ता बनेकाको उद्धारमा ढिलाइ भएको जनाइएको छ । घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो खसेर राई परिवारलाई घरसहित बगाएको जनाइएको छ । 

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातारको वर्षासँगै चलेको हावाहुरीले गएरातिदेखि विद्युत्समेत अवरुद्ध बनेको छ । विद्युत् सेवासमेत अवरुद्ध भएपछि जिल्ला अहिले अस्तव्यस्त बनेको छ । अवरुद्ध विद्युत् कहिले सञ्चालन हुने भन्नेमा टुङ्गो छैन ।

केही दिन अझै भारी वर्षा हुने
न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए ।

विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ । खासगरी २५ जिल्लामा कहिले मध्यम केहिले भारी वर्षा भइरहेने बताइएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ । खास गरी प्रदेश नं १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कता माथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १९.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २३.०, दाङमा २३.४, जुम्लामा १५.९, धनगढीमा २५.५, नेपालगञ्जमा २५.६, सिमरामा २४.४, दिपालमा २४.६ र वीरेन्द्रनगरमा २४.३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

तस्बिरहरु : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७