ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने


२९ मंसिर २०७४, शुक्रबार
ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने बताएका छन् ।ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने

ओलम्पियन खेलाडीहरुको सम्मानार्थ राखेपले आयोजना गरेको चन्द्रागिरी हिल्स अवलोकन÷भ्रमण कार्यक्रमलाई चन्द्रागिरीमा सम्बोधन गर्ने क्रममा सदस्य–सचिव विष्टले पहिलो ओलम्पियनलाई मासिक रुपमा नगद उपलब्ध गराउदै आएकोमा बाँकी ओलम्पियनलाई पनि मासिक नगद पुरस्कार उपलब्ध गराउने बताएका हुन् ।

‘हामीले पहिलो ओलम्पियनलाई मासिक १० हजार उपलब्ध गराउदै आएका छौं । बाँकी ओलम्पियनलाई पनि सम्भवतः आगामी माघ-फागुनदेखि आन्तरिक व्यवस्था गरी मासिक तीन हजार उपलब्ध गराउने तयारीमा छौं । आउने आर्थिक वर्षदेखि मासिक ५ हजार दिने गरी व्वयस्था मिलाउने छौं । साथै दक्षिण एसियाली खेलकुदका रजत र कांस्य पदक विजेतालाई मासिक नगद पुरस्कारको व्यवस्था समेत गर्ने छौं ।’

सदस्य–सचिव विष्टले अवलोकन-भ्रमण कार्यक्रम त्यत्ति ठूलो नभएपनि उपत्यकामा उपलब्ध सबै ओलम्पियनलाई एकै थलोमा भेटघाट गराउने उद्देश्यले आयोजना गरिएको बताउदै कार्यक्रम सानो-ठूलो भन्दा पनि खेलाडी प्रति सदभाव राख्नु र खेलाडीहरुलाई सम्झिनु पनि महत्वपूर्ण कुरा भएको बताए । उनले उपत्यका बाहिरका ओलम्पियनको सम्मान पनि उनीहरुकै क्षेत्रमा यस्तै कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

कार्यक्रममा उपत्यकामा उपलब्ध पुराना पुस्ताका ओलम्पियन नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीदेखि नयाँ पुस्ताकी ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलगायत गरी ३० ओलम्पियन उपस्थित थिए ।

राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले एसियाली खेलकुदका लागि शीघ्र तयारी थाल्नु पर्ने बताउदै गरिब भनिएका मुलुकले पनि खेलकुदमा ठूलो फड्को मार्न सक्ने क्षमता रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा ओलम्पियनलाई चन्द्रागिरी हिल्स अवलोकन-भ्रमण कार्यक्रममा सहुलियत प्रदान गरेको चन्द्रागिरी हिल्स लि। लाई राखेपले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो । अवलोकन-भ्रमण कार्यक्रमअघि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ओलम्पियनलाई ट्रयाकसुट वितरण गरिएको थियो भने राष्ट्रिय टिम तयारीमा रहने खेलाडीका लागि राखेपले खरिद गरेको बसको पनि सदस्य–सचिव विष्टले उद्घाटन गरेका थिए ।

राष्ट्रिय टिम तयारीमा रहने खेलाडीको सुविधालाई ध्यानमा राखि बस खरिद गरिएको बताउदै सदस्य–सविच विष्टले हाल १ बस मात्र खरिद गरिए पनि थप ३ बस खरिदका लागि प्रकृया अगाडि बढाइने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७