अनमोलका लागि बाबु नै बने ‘भिलेन’


३० असार २०७६, सोमबार
bhuwan anmol

काठमाडौं, ३० असार । सधैं सफाचट भएर हिंड्न रुचाउने नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसीलाई केही दिनयता हल्का फुलेको दाह्री र जुँगामा देख्न सकिन्छ । जीवनमा कहिल्यै जुँगा नकाटेका उनलाई दाह्रीमा भने यसअघि निकै कम देखिएको थियो ।

धेरैले उनले फुलेको दाह्री सजाउनुको रहस्य जान्न चाहेका छन् । उमेरले ५० नाघे पनि अझै ३०–३२ वर्षको जवान लाग्ने उनले कतै अब आफू बुढ्यौलीतिर ढल्किँदै गएको देखाउन त खोजेका होइनन् ? धेरैलाई चासोको विषय बनेको छ ।

bhuwan kc5

तर, अभिनेता भुवनले फुलेको दाह्री नकाट्नुको कारण एक नयाँ फिल्मका लागि हो । गत वर्षको फागुनमा रिलिज भएको फिल्म ‘क्याप्टेन’ पछि उनी फेरि होम प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म निर्माण गर्दैछन्, जसमा अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहनेछ । यसको केही समयदेखि स्क्रिप्टमा काम चलिरहेको छ । सम्भवतः दशैंपछि फिल्मको छायांकन शुरु हुनेछ । फिल्मलाई उनी आफैंले निर्देशन गर्न सम्भावना प्रवल छ ।

एक समय भुवन अभिनीत फिल्म हेरेर धेरैले प्रेम गर्न सिकेका थिए । तर, करीब ७ वर्षदेखि उनी अभिनयबाट टाढा छन् । छोरा अनमोलको करिअर मजबुत बनाउन दिन रात खटिरहेका उनले यस वर्ष फिल्म अभिनयमा कमब्याक गर्दैछन् । उनले हालै फिल्म ‘मिस्टर नेपाली’ को छायांकन भ्याएका छन् । यसमा उनी दोहोरो भूमिकामा छन्, पिता र छोराको । दुईमध्ये एक क्यारेक्टर नेगेटिभ छ । उनी पहिलो पटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् ।

यो फिल्मको आइतबार राजधानीमा आयोजित इन्डक्ल्याप पार्टीमा अभिनेता भुवन केसीले फुलेको दाह्री नकाट्नुको रहस्य खोले । उनले चाँडै आफू एक फिल्ममा भिलेनको भूमिकामा देखिन लागेका कारण दाह्री पालेको बताए ।

उनी भन्छन्, ‘धेरैले मलाई दाह्री किन पालेको भनेर सोधिरहेका छन् । म चाँडै नयाँ फिल्ममा अनमोल केसीसँग पूरै नेगेटिभ रोलमा आउँदैछु । यो दाह्री अझै बढाउनु पर्नेछ ।’ उनले फिल्मको विषय अरु जानकारी भने दिएनन् ।

लामो समयदेखि पिता र छोरा (भुवन र अनमोल) ले स्क्रिन साझेदारी गरेको हेर्ने दर्शकहरुको ठूलो इच्छा थियो । यद्यपि, भुवनले छोरा अनमोलसँग फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ र फिल्म ’होस्टेल’ को एक सिनमा सँगै काम भने गरेका थिए । तर, अनमोलले खेलेको फिल्ममा अहिलेसम्म उनले प्रमुख भूमिकामा भने निभाएका छैनन् । अब, पहिलो पटक पर्दामा दुई हिरो र भिलेनको रुपमा प्रस्तुत हुने भएका छन् । फिल्ममा छोरा र पिताको जुगलबन्दी हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७