‘खलासी जस्तो’ भएर आउने भन्दै प्रिन्सिपलले कुटे शिक्षक


३१ असार २०७६, मंगलवार
teacher adhikari

भोजपुर, ३१ असार । भोजपुरका एक शिक्षक आफ्नै प्रिन्सिपलबाट कुटिएका छन् । सदरमुकामस्थित स्थानीय सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि कुटपिट गरेका हुन् ।

आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी गरिरहेका बेला आफूलाई प्रिन्सिपल आलेले आफ्नै चेम्बरमा बोलाएर टाइ र कोट किन नलगाएको भन्दै कुटपिट गरेको शिक्षक अधिकारीले बताएका छन् ।

Nibedan

‘आइतबार बिहान खाना खाएर सर्ट र पेन्ट लगाई उहाँको चेम्बरमा पुग्न साथ ’खलासी जस्तो भएर आउने’ भन्दै गाली गर्नुभयो,’ पीडित शिक्षक अधिकारीले भने, ‘जवाफमा मैले कसैको गाली खान आएको होइन, मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासी कुटपिट गर्नुभयो ।’

यसअघि पनि पटक पटक धम्की दिने गरेको भन्दै उनले आफूलाई गाला र ढाडमा कुटपिट गरेको बताएका छन् । यता प्रिन्सिपल आलेले भने शिक्षकको व्यवहार नै अस्वभाविक भएकाले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको बताएका छन् ।

विद्यालयमा टोलाउने, काम नगर्ने भएको कारण सम्झाएको मात्र उनले बताएका छन् । आफूमाथि कुटपिटको आरोप निराधार भएको आलेले बताए । शिक्षक अधिकारीको तलबमा समेत तलमाथि नगरेको उनले बताएका छन् ।

ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ घर भएका २८ वर्षीय अधिकारी विगत पाँच महिनादेखि उक्त विद्यालयमा कक्षा ७ देखि १० लाई अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँदै आएका थिए । विद्यालयले नियुक्ति पत्र पनि नदिएको उनको गुनासो छ । प्रति महिनाको ३५ हजार पारिश्रमिकमा पढाउँदै आएका शिक्षक अधिकारीले विद्यालयले एक महिनाको तलब पनि रोक्का गरिदिएको उनको भनाई छ ।

प्रिन्सिपलले आफूमाथि गरेको दुर्व्यवहारप्रति पीडित शिक्षक अधिकारी अहिले न्यायका लागि प्रहरी प्रशासनमा पनि पुगेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफूकहाँ कारबाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समाधान गरिदिन पत्र पठाएको बताए ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले पनि दुवै पक्षलाई बोलाएर छलफल गरी समस्याको समाधान खोजिने बताए । नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थकुमार राईले एउटा श्रमजीविमाथि भएको कुटपिटमाथि आपत्ति जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७