बाढी र डुबानको क्षतिबारे बुझ्न गृहमन्त्रीसहित मन्त्रीहरुको टोली प्रदेश-२ मा

सांसद र वडा अध्यक्षले बाढी पीडितमाथि हातपात गरेको आरोप


१ श्रावण २०७६, बुधबार
minister

काठमाडौं, १ साउन । केही दिनअघिको भारी वर्षाका कारण पुगेको क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुको एक टोली प्रदेश गएको छ ।

बाढी तथा डुबानले पुर्‍याएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न टोली तराईका विभिन्न जिल्लामा जान लागेको हो ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का, रौतहटका सांसद प्रभु साह लगायतको टोली २ नं प्रदेशका जिल्लाहरुमा जान लागेको हो ।
टोलीले बाढी तथा डुबानले पुर्‍याएको क्षति अवलोकन गर्दै राहत र उद्धारको अवस्था बुझ्ने जनाइएको छ ।

सांसद र वडा अध्यक्षले बाढी पीडितमाथि हातपात गरेको आरोप
यसैबीच जनकपुरमा राहत तथा उद्धारका विषयमा कुराकानी गर्न वडा अध्यक्षको घरमा पुगेका बाढी पीडितहरुलाई समाजवादी पार्टी नेपाल प्रदेश–२ का प्रदेशसभा सदस्य रामआषिश यादव र उनका भाइ वडा अध्यक्ष प्रमेश्वर यादवले हातपात गरेको आरोप लागेको छ ।

जनकपुर उपमहानगरपालिका–१७ का बाढीपीडितले राहत र सहयोग नपाएपछि गुनासो गर्नका लागि वडा अध्यक्ष प्रमेश्वर यादवको घर पुगेका थिए । त्यहाँ गएर प्रदेश सांसद र वडाअध्यक्षको विरोधमा नारावाजी गर्न लाग्दा दुवै भाइले हातपात गरी भगाएको आरोप उनीहरुले लगाएका छन् ।
वडाध्यक्ष यादवले भने योग शिविर सञ्चालन भइरहेको बेला एक युवाको समूहले अनावश्यक नारा लगाएकाले शिविरमा आएका व्यक्तिहरुले कुटपिट गरेको दावी गरेका छन् ।

उनले भने, ‘बाढी सबैतिर आएको छ, कुरा के हो बसेर गरौं भन्दा उनीहरुले कुरै गर्न मानेनन्, हुलदंगा गर्न थालेपछि त्यही शिविरमा आएका व्यक्तिहरुले सामान्य कुटपिट गरको हुन् ।’ आफू र प्रदेशसभा सदस्य यादवले घटनामा संलग्नता नरहेको उनले बताए । कुटपिटबाट केही युवा अस्पताल पनि भर्ना भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७