नेपाली वाम विद्यार्थी आन्दोलन र जनवादी शिक्षा


१ श्रावण २०७६, बुधबार
LK Rai

एल. के राई

नेपाली राजनीतिलाई वर्तमानको युगसम्म डोहोर्‍याउन नेपाली विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको छ । नेपाली राजनीतिमा विद्यार्थी संगठनहरुको यो भूमिकालाई नेपाली राजनैतिक इतिहासको पानामा स्वर्ण अक्षरमा लेखिएको छ ।

जसको योगदानलाई कहिल्यै बिर्सन नसकिने भएको छ । विशेष गरी निरंकुश पञ्चायती कालखण्डमा नेपाली राजनैतिक दलहरु प्रतिबन्धित भएको कारण पार्टीहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समयमा विद्यार्थी संगठनहरुले पार्टीको रुपमा आफूलाई उभ्याउँदै जनताको माझमा चेतना, संगठनको विकास र विस्तारमा क्रियाशिल भूमिका खेलेका थिए । यसरी राजनैतिक गतिविधि सञ्चालन, संगठन र कार्यशैलीमा वाम विद्यार्थीहरुको भूमिका अतुलनीय छ ।

माक्र्सवादप्रति आस्था राख्ने विद्यार्थीहरुको संगठनहरु नै वाम विद्यार्थी संगठनहरु हुन् । हुन त नेपालको इतिहासमा वाम विद्यार्थी संगठन निर्माण हुनु भन्दा अगाडि पनि शिक्षा सुधारको माग राखेर विद्यार्थी आन्दोलनहरु भए ।

नेपालको इतिहासमा वि.स. २००४ सालमा शिक्षामा सुधारको माग राखी सत्ताको विरोधमा भएको विद्यार्थी आन्दोलन जयतु संस्कृतम् आन्दोलनलाई पहिलो विद्यार्थी आन्दोलनको रुपमा लिइन्छ । तर, त्यो आन्दोलन असंगठित र अव्यवस्थित रुपमा सञ्चालित थियो । त्यही कारण तत्कालीन राणा शासनले आन्दोलन दबायो । त्यसपछि वाम निकट विद्यार्थीहरुले २००७ असार १७ गते अखिल नेपाल विद्यार्थी फेडेरेसनको स्थापना गरे ।

पछि नेपालका कम्युनिष्ट पार्टीहरुमा आएको विभाजनसँगै अनेविफे पनि बिभाजित हुँदै गयो र अस्तित्व पनि लोप हुँदै गयो । पछि २०२२ साल जेठ १ गते सुजन (आत्माराम) खरेलको नेतृत्वमा नेपाल राष्ट्रिय विद्यार्थी युनियन स्थापना भयो । यसलाइ नेपालको वाम विद्यार्थी आन्दोलनको इतिहासमा प्रथम आधिकारिक वाम विद्यार्थी संगठनको रुपमा लिइन्छ ।

पछि नेपाल राष्ट्रिय विद्यार्थी युनियनको दोश्रो सम्मेलन २०२५ ले संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नामाकरण गर्‍यो । विसं २०२३ सालमा पार्टीमा आएको विभाजनको असर अखिलमा पनि पर्‍यो र अखिल पनि पार्टी विभाजनसँगै विभाजित हुन पुग्यो ।

विसं २०२३ सालदेखि वाम विद्यार्थीहरु पनि विभिन्न समयमा गुट, टुट, फुट र जुट हुँदै हालसम्म पनि विभिन्न कम्युनिष्ट पार्टी र समूह निकटका विभिन्न अखिलहरु क्रियाशिल छन् । हालसम्म अस्तित्वमा रहेका प्रमुख वाम विद्यार्थी संगठनहरु निम्न छन :-
१) अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) अनेरास्ववियू
२) अनेरास्ववियु (क्रान्तिकारी) वैद्य समूह
३) अनेरास्ववियु (क्रान्तिकारी) विप्लव समूह
४) नेपाल क्रान्तिकारी विद्यार्थी संघ
५) नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन
६) अनेरास्ववियु (छैठौंं)
७) अनेरास्ववियु (एकीकृत)
८) अनेरास्ववियु (पाँचौ)

हाल विभिन्न रुपमा वाम विद्यार्थी संगठनहरु विभाजित भएर रहे पनि सबै वाम विद्यार्थी संगठनहरुको लक्ष्य र उद्देश्य एउटै रहेको छ । राष्ट्रियता, जनजीविका र जनवादी शिक्षाको एजेण्डा सम्पूर्ण वाम विद्यार्थी संगठनहरुको साझा एजेण्डा रहेको पाइन्छ । विद्यार्थी संगठनहरुको मुख्य एजेण्डा शैक्षिक क्षेत्रको विकृति हटाई शिक्षाको बैज्ञानिक रुपान्तरण गर्नु हो ।

अन्य एजेण्डाहरु सहायक हो । यसको अर्थ यो होइन कि राष्ट्रियता र जनजीविका गौण विषय हु्न । राष्ट्रियता र जनजीविका समग्र पार्टी र अन्य संगठनहरु मजदुर, युवा, किसानलगायतका पनि साझा एजेण्डा हुन् । त्यसैले विद्यार्थी संगठनको मुख्य क्षेत्र भनेको शैक्षिक क्षेत्र हो । वाम विद्यार्थीहरुले संगठित भएदेखि नै जनवादी शिक्षा प्राप्तीलाई आफ्नो प्रमुख लक्ष्य बनाउँदै आएका छन् ।

तर जति कार्य वाम विद्यार्थी संगठनहरुले राजनैतिक अधिकार प्राप्ती, राष्ट्रियता र जनजीविकाको पक्षमा गरेका छन् त्यसको एक प्रतिशत पनि कार्य जनवादी शिक्षाको प्राप्तिमा गरेका छैनन् । नेपाली वाम विद्यार्थी आन्दोलनको इतिहासमा राष्ट्रियताको पक्षमा गरेका कार्यहरु निम्न लिखित छन ः

राष्ट्रियताको पक्षमा गरेको कार्यहरु :-
– अनेरास्ववियुको कालापानी मार्च अभियान–२०५५
– अनेरास्ववियुको लक्ष्मणपुर मार्च–२०५६
– अनेरास्ववियुको महेशपुर सीमा अतिक्रमणविरुद्ध मार्च–२०२५
– अनेरास्ववियुको मेची–काली सीमा रक्षा अभियान–२०५६
– अनेरास्ववियुको लिपुलेक मार्च
– भारतीय नाकाबन्दी २०७२ को विरोधमा प्रदर्शन भारतीय विस्तारवादसामु नझुक्न नेपाल सरकारलाइ चेतावनीलगायत विभिन्न समयमा भएका सीमा अतिक्रमणविरुद्ध र वैदेशिक हस्तक्षेपको बिरोधमा आन्दोलन र प्रदर्शनहरु हो ।

जनाधिकारको सन्धर्भमा गरेका कार्यहरु :-
पञ्चायतकालमा पार्टीहरु प्रतिवन्धित भएको समयमा जनताको माझमा रहि प्रजातन्त्र प्राप्तिको लागि पार्टीको भूमिका विद्यार्थी संगठनहरुले निर्वाह गरेका थिए । प्रजातन्त्र प्राप्ती आन्दोलनको बीउ जनतामा विद्यार्थी संगठनहरुले छरेका थिए । त्यस्तै झोडा काण्ड, किसान विद्रोहलगायत निरंकुशताको विरुद्धमा भएका विभिन्न आन्दोलनमा वाम विद्यार्थी संगठनहरुले अग्र मोर्चामा रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए ।

जनजीविकाका सवालमा गरेका कार्यहरु :- 
नेपाली वाम विद्यार्थी संगठनहरुले जनजीविकाका सवालमा निरन्तर आवाज बुलन्द गर्दै आएका छन् । महँगी, भ्रष्टाचार र पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा पटक–पटक वाम विद्यार्थी संगठनहरुले आन्दोलन गरेका छन् ।

विद्यार्थीको हकअधिकारको सवालमा वाम बिद्यार्थी संगठन अझ विशेष गरी अनेरास्ववियुले आफ्नो स्थापनाकालबाट नै संघर्ष गरेको छ र सफलता पनि प्राप्त गरेको छ । यातायातमा बिद्यार्थीहरुलाई प्राप्त ४५ प्रतिशत छुट र सरकारबाट निव्र्याजी शैक्षिक ऋणको ब्याबस्था गर्न सक्नु नै सबै भन्दा ठूलो उपलब्धी रहेको छ । बिद्यार्थी अधिकारका निम्ति अन्य धेरै कार्यहरु अनेरास्ववियु तथा वाम बिद्यार्थी संगठनले गरेका छन् ।

तर, वाम बिद्यार्थी संगठनहरुको मुख्य लक्ष्य जनवादी शिक्षा प्राप्तिमा भने खासै प्रगती गर्न सकेको छैन । प्रथम संविधान सभा निर्वाचन पछि नेपालमा सात पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भए पनि जनवादी शिक्षा प्राप्तिको लागि वाम विद्यार्थी संगठनहरुले कुनै बहस र छलफलसम्म पनि गरेको पाइँदैन । यसको जिम्मेवारी सबै वाम बिद्यार्थी संगठनहरुले लिनु पर्छ अझ विशेष गरी ठूला वाम विद्यार्थी संगठनहरुले लिनु पर्दछ ।

जनवादी शिक्षा के हो ?
नेपालको शिक्षा प्रणालीमा जनवादी शिक्षा प्रणालीको बिषयमा वाम बिद्यार्थी संगठनहरुमा नै मतभेद रहेको पाइन्छ । कसैको भनाईमा मास्र्कवादी शिक्षा नै जनवादी शिक्षा हो त कसैको बुझाईमा व्याबहारिक शिक्षा जनवादी शिक्षा हो । अनि कसैको लागि प्राबिधिक शिक्षा जनवादी शिक्षा हो साथै कसैको लागि श्रमयुक्त शिक्षा जनवादी शिक्षा हो भने कसैको लागि निशुल्क शिक्षा जनवादी शिक्षा हो । तर, यी दृष्टिकोणहरुले मात्र हेर्दा जनवादी शिक्षाको सम्पूर्ण पाटो हेर्न सकिंदैन । 

जनवाद शब्द मुख्य गरी मास्र्कवादी शव्द हो । त्यसैले जनवादी शब्दसँग गैरकम्युनिष्ट शक्तिहरु तर्सनु स्वभाविकै हो । तर, हामीले जनवाद, प्रजातन्त्र, लोकतन्त्र जे भने पनि यसको अंग्रेजी रुपान्तरण डेमोक्रेसी (democracy) नै हुन्छ । आज पूँजीवादका ठेकेदार मुलुकहरुले पनि मार्क्सवादको आर्थिक र राजनैतिक पक्षको आधारभूत सिद्धान्तहरुलाई आफ्नो मुलुकमा लागू गरेका छन् । मार्क्सवाद एक बिज्ञान हो, बिज्ञान अधुरो हुन सक्छ तर झुटो हुँदैन ।

त्यसैले बिज्ञान सबैको साझा हुन्छ । यहि कारण जनवादी शिक्षा सबैको साझा हुनुपर्ने हो तर, नेपालको परिवेशमा त्यसो हुन सकेको छैन । त्यसैले जनवादी शिक्षा पनि सबैको साझा मुद्दा बन्न सकेको छैन ।

जनवादी शिक्षा भन्नाले पूँजीवादी अर्थतन्त्रको बिकासका लागि उपयोगी हुने, समाजवादी ब्यबस्थाका लागि क्रियाशिल रहन मद्दत पुर्‍याउने, शिक्षामा राज्यको पूर्ण उत्तरदायित्व भएको, पाठ्यक्रममा समानता भएको, प्राबिधिक दक्षता हासिल गर्न सक्ने, विपन्नहरु शिक्षाबाट बञ्चित हुन नपर्ने, बेरोजगार जनशक्ति उत्पादन नहुने, भूगोल र जनसंख्या अनुसारको पाठ्यक्रम शिक्षा भएको, ब्याबहारिक र पूर्णरुपमा श्रममा आधारित शिक्षा नै जनवादी शिक्षा हो ।

जनवादी शिक्षाको नारा वाम विद्यार्थी संगठनहरुले आफ्नो स्थापनाकालदेखि नै बोके पनि हालसम्म जनवादी शिक्षा प्रणाली स्थापना गर्न असफल भएको देखिन्छ । निम्न कुराहरुलाई यसको कारणहरु मान्न सकिन्छ :-
१) शैक्षिक अधिकार भन्दा राजनैतिक अधिकारको लागि संघर्ष
नेपालमा कहिल्यै पनि पूर्ण क्रान्ति सफल भएन । संविधान सभाबाट संविधान बन्नुपूर्व हरेक १० वर्षमा विद्रोह भएका छन् । ती विद्रोहहरुमा वाम विद्यार्थी संगठनहरुको नेतृत्वदायी भूमिका रहेको थियो ।

अझ पार्टीहरु प्रतिबन्ध भएको पञ्चायती कालखण्डमा पार्टीको भूमिका पनि बिद्यार्थी संगठनहरुले निर्वाह गर्नु परेको थियो । यो सिलसिला २०६२–६३ को दोस्रो जनआन्दोलनसम्म रह्यो । यो समयमा बिद्यार्थी संगठनहरु राजनैतिक अधिकारको संघर्षमा होमिनु परेको थियो ।
२) पार्टी तथा बिद्यार्थी संगठनमा आएको बिभाजन 
नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न समयमा आयको बिभाजनले बिद्यार्थी संगठनहरुमा पनि बिभाजन आयो । संगठनमा आएको बिभाजनले संगठनहरु कमजोर हुनु र एक अर्काको विरोधी हुनुको कारणले जनवादी शिक्षाको उद्देश्य भन्दा सांगठनिक श्रेष्ठता प्रदर्शनमा बिद्यार्थी संगठनहरुले समय ब्यतित गर्नु ।
३) अस्थिर सरकार
प्रजान्त्र प्राप्तीपछि संविधान निर्माणको समयसम्म नेपाल अस्थिरताको भूमरीमा रह्यो । कुनै पनि सरकारले आफ्नो पूर्ण कार्यकाल सम्पन्न गर्न पाएनन् । त्यसैले यो समयमा नीति निर्माण र यसको कार्यान्वयन हुनै पाएन ।
४) बिद्यार्थी नेताहरुमा आएको वैचारिक विचलन
खास गरी अहिले वाम विद्यार्थी नेताहरुमा बैचारिक बिचलन आएकाले गर्दा बिद्यार्थी नेताहरु माझ नै जनवादी शिक्षामा अस्पष्टता देखिएको छ । जनवादी शिक्षा अधिबेशनमा नाराको रुपमा मात्र सीमित हुन पुगेको छ ।

त्यसपछि यो मुद्दा कुनै पनि विद्यार्थी संगठन वा विद्यार्थी नेताहरुले अपनाएको देखिंदैन र अहिलेको परिस्थितिमा विद्यार्थी आन्दोलन निजी शिक्षण संस्थासँग आर्थिक सहायता लिने र सरकारी शिक्षण संस्थालाई आफ्नो राजनैतिक भबिष्य वा आफ्नो शक्ति सञ्चय र प्रयोगको स्थान मात्र बनाउने साधन बनेको छ । बिद्यार्थी नेताहरु बिचार र उद्देश्यको आधारमा भन्दा नेताको सिफारिस र चाकडीको आधारमा नेता बन्ने र बिद्यार्थी आन्दोलनलाई हक अधिकार प्राप्ती र उद्देश्य प्राप्तिको साधन भन्दा आर्थिक उपार्जनको साधन बनाउने प्रवृतिले जनवादी शिक्षाको उद्देश्य ओझेलमा परेको छ ।
५) बुझाईमा समस्या 
जनवादी शिक्षा भनेको कम्युनिष्टहरुको मात्र हो भन्ने गैरकम्युनिष्टहरुको मस्तिष्कमा रहेको छ । जसले गर्दा जनवादी शब्दसँग पनि विभिन्न बिद्यार्थी संगठनहरुको जुँगाको लडाई भएको बुझाईको फरकले सारमा बिभाजन ल्याएको छ ।
६) बिद्यार्थी संगठनहरु पार्टीको प्रबक्तामा रुपान्तरित हुनु
अहिलेको समयमा चाहे वाम विद्यार्थी संगठन हुन् वा अन्य विद्यार्थी संगठन हुन् । यी संगठनहरु पार्टीको प्रवक्ताको जस्तो भूमिकामा सीमित भएका छन् । आफ्नो मुख्य भूमिका बिर्सेर यदि माउ पार्टी सरकारमा छ भने सरकारको समर्थन र माउ पार्टी प्रतिपक्षमा छ भने सरकारको बिरोध गर्नुमा नै आफ्नो समय ब्यतित गरिरहेका छन् । जसले गर्दा आफ्नो सांगठनिक एजेण्डा निर्माणमा अहिले बिद्यार्थी संगठनसँग समय छैन ।

जनवादी शिक्षा प्राप्तिको लागि वाम बिद्यार्थी संगठनहरुले गर्नुपर्ने कार्यभारहरु :-

जनवादी शिक्षा प्राप्तिको लागि अन्य बिद्यार्थी संगठनहरु भन्दा वाम विद्यार्थी संगठनहरु नै जिम्मेवार र क्रियाशिल रहनु पर्दछ । यसका लागि वाम विद्यार्थी संगठनहरुले गर्नुपर्ने कार्यभारहरु निम्न लिखित हुन सक्छ :-
१) राजनैतिक भन्दा शैक्षिक एजेण्डामा केन्द्रीत हुने
२०७२ आश्विन ३ गते संविधान सभाबाट संविधान जारी भएपछि जनताको सम्पूर्ण राजनैतिक अधिकार सुरक्षित भएको छ । अब राजनैतिक अधिकारका लागि संघर्ष गर्ने कार्य सप्पन्न भएकाले आफ्नो सम्पूर्ण शक्ति शैक्षिक उद्देश्य प्राप्तिमा लगाउने ।
२) शैक्षिक बहस कार्यक्रम सञ्चालन गर्ने 
जनवादी शिक्षाको उपयोगिता, जनवादी शिक्षा लागू गर्दा हुने चुनौती र जनवादी शिक्षा सम्बन्धमा बिद्यार्थी, अभिभावक, सरकारी संयन्त्र र सम्पूर्ण सम्बन्धित पक्षसँग छलफल र बहस सञ्चालन गर्ने ।
३) राज्यलाई जनवादी शिक्षा नीति लागू गर्न दवाव दिने 
अहिले कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाईको स्थिर सरकार रहेको छ । यो अवस्थामा ठूला वाम बिद्यार्थी संगठनहरुले आफ्नो माउ पार्टी तथा सरकारलाई जनवादी शिक्षा नीति लागू गराउन दवाव सिर्जना गर्ने ।
४) कार्यगत एकता
विभिन्न वाम विद्यार्थी संगठनहरु जनवादी शिक्षाको लक्ष्यमा एकमत भई यो मुद्दामा सम्पूर्ण वाम बिद्यार्थी संगठनहरुबीच कार्यगत एकता गरी जनवादी शिक्षा प्राप्तिका लागि संघर्ष गर्ने ।
५) बुझाईमा एकरुपता  
वाम विद्यार्थी संगठन र गैरवाम बिद्यार्थी संगठनहरुबीच जनवादको नाम र शब्दमा बिभाजन देखिन्छ । नाम जे भए पनि सारमा जनवादी शिक्षा लागू गराउन सम्पूर्ण बिद्यार्थी संगठनहरुलाई एकमत गराउने ।

वाम बिद्यार्थी संगठनहरुले आफ्नो स्थापनाकालबाट नै जनवादी शिक्षालाई मुख्य नारा बनाउँदै आईरहेका छन् । तर, हालसम्म पनि यसको ब्याबहारिक कार्यान्वयन हुन सकेको छैन । जनवादी शिक्षा आफैमा ब्याबहारिक शिक्षा हो र जनवादी शिक्षा प्रणाली ब्यबहारगत कार्यान्वयन हुनुपर्दछ ।

जनवादी शिक्षाको नारा कुनै ललिपप र चकलेट जस्तो गुलियो नारा मात्र होइन र जनवादी शिक्षा जनवादी राज्य ब्यबस्थामा मात्र लागू हुन्छ भन्नु पनि ठूलो भ्रम हो । त्यसैले जनवादी शिक्षा प्रणाली जुनसुकै ब्यबस्थामा पनि लागू गर्न सकिन्छ ।

यसका लागि आम बिद्यार्थी संगठनहरु विशेष गरी वाम विद्यार्थी संगठनहरुको क्रियाशिलता र सरोकार बलियो हुनुपर्दछ । साथै यसका लागि इच्छाशक्तिको पनि आवश्यकता पर्दछ । आम बिद्यार्थीहरुबाट बिद्यार्थी संगठनहरु आलोचित भइरहेको यो समयमा जनवादी शिक्षा प्राप्तिका लागि आई पर्ने हरेक चुनौतिहरुको सामना गरेर जनवादी शिक्षा प्रणाली कार्यान्वयन गराउनु अबको वाम विद्यार्थी संगठनहरुको प्रमुख जिम्मेवारी र चुनौती हुनेछ ।

यदि अब पनि यो जिम्मेवारी पूरा गर्नका लागि ठूला भनिएका विद्यार्थी संगठनहरु नलाग्ने हो भने वा यो काम गर्न नसक्ने हो भने बिद्यार्थी संगठनहरुको अस्तित्वमाथि नै संकट उत्पन्न हुनेछ र औचित्य अगाडि पनि ठूलो प्रश्नचिन्ह खडा हुनेछ । साथै बिद्यार्थी संगठनप्रति आम सरोकारवालाहरुको आशा र भरोसा पनि मरेर जानेछ । जसले गर्दा बिद्यार्थी संगठन मृत्यु शैंया जाने अवस्थामा पनि कोही कसैले समबेदना र सहानुभूतिसम्म पनि देखाउने छैन ।
(लेखक अनेरास्ववियू पशुपति बहमुखी क्याम्पसका नेता हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७