‘दुःखी त हामी छौं, कांग्रेसका साथीहरु त असाध्यै खुसी छन्’


२ श्रावण २०७६, बिहीबार
sudan kirati 1

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य युवा नेता सुदन किराती भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । सांसद किराती पार्टी भित्र र बाहिर दुबै मोर्चामा प्रष्ट र आलोचनात्मक चेत सहित बोल्ने नेता हुन् । वैचारिक रुपमा समेत प्रष्ट सांसद राईले पछिल्लो समयमा संसदमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा बोलेको बिषय चर्चित भयो । उनले बजेटमा भोजपुरका योजनाहरुलाई नसमेटिएको भन्दै सभामुख मार्फत रातो किताब मन्त्रीलाई नै फिर्ता गरेको घोषणा समेत गरे । उनले भनेका थिए, ‘बजेटका लागि दिन मन्त्रालय धाउँदा जुत्ता फाट्यो, बजेट हेरेपछि मनै फाट्यो ।’

सांसद किराती संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको सदस्य छन् । पछिल्लो समयमा बहुचर्चित इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) १९ को आयोजनाको उनले समितिमा तिब्र बिरोध गरे । सरकारका मन्त्री र नेपाल पर्यटन बोर्डले आइफाको २० औँ संस्करणको आयोजनाले राष्ट्रिय गौरव बढ्ने दाबी गरिरहेको बेला भारतीय पक्षको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामाथि आँच आउने भन्दै उनले कटु आलोचना समेत गरे ।

संसदमा आफ्नै मन्त्रीहरुको बिरोध, संसदीय समितिमा आफ्नै सरकारको बिरोध । प्रमुख प्रतिपक्षी दलका सांसदहरु भन्दा सत्तारुढ दलकै सांसदहरुमा यस्तो असन्तुष्टी र आक्रोश ? सरकारले जे गरीरहेको छ, सत्तारुढ नेता र सांसद हुनुको नाताले कस्तो लागिरहेको छ । सांसद किरातीसँग २६ असार २६ मा लामो कुराकानी गरेको थियो ।

‘साथीहरु गुमाउँदाको त्यो पीडा’

Sudan Kirati
२५ असारमा भोजपुर बोया घर भई नेत्रविक्रम चन्द ‘विप्लव’ का ओखलढुङ्गा जिल्ला इञ्जार्ज नीरकुमार राई ‘प्रशान्त’ र प्रहरी जवान सञ्जीव राई मारिए । यो घटनाको बिगोगान्त कथा बेग्लै छ । यी दुबै जना सांसद किरातीका कुनै बेलाका सहयोद्धा थिए । प्रशान्त त माओवादी जनयुद्धका कम्पनी कमाण्डर । सन्जिव जनयुद्धका जनमिलियिसा । जहाँ घटना भयो, त्यो होटलकी साहुनी मौसमी तामाङ जनयुद्धकै जनमिलिसिया । उनीहरु सबैको एकजना नेता मध्येका एक थिए, सुदन किराती ।

समय फेरियो । सपनाहरु फेरिए । बाध्यताहरु फेरियो । उनीहरु शान्ति प्रक्रियासँगै जना अलग भए । बाटो अलग भयो । किराती आज संसद छन्, प्रशान्त अहिलेका सरकारका दुश्मन अर्थात् प्रतिबन्धित पार्टीका नेता । प्रशान्त शान्ति प्रक्रियासँगै क्रान्ति अधुरो भएको भन्दै ‘विप्लव’तिर लागे । सन्जिव आफ्नै बाध्यताहरुले प्रहरीमा भर्ना भए ।

मौसमी चटपटे बेच्दैँ होटल सञ्चालक बनिन् । प्रहरी बनेका सन्जिव राई पछिल्लो समयमा जिल्ला गएको बेला सांसद किरातीको सुरक्षा गार्डको रुपमा खटिने गरेका थिए । जनयुद्धका साथी प्रशान्त र सन्जिव एकै पटक मारिएको घटनाले सांसद किराती निकै दुःखी भेटिए । उनले अन्तर्वार्ताको क्रममा निकै गहिरो पीडा पोखे ।

‘विचार प्रष्ट भएन, अलमल भयो’
सांसद किराती पार्टी नेतृत्वप्रति पनि उतिधेरै सन्तुष्ट देखिएनन् । दुई कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेको १३ महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन अर्थात् विचार प्रष्ट नभएको भन्दै उनले असन्तुष्टी पोखे । भने, ‘हाम्रो विचारमा प्रष्ट नहुँदा समस्या भयो । हामी अलमलिएका छौं । हाम्रो बाटो के हो ? कुन बाटो भएर जाने हो भने प्रष्ट अझै भएको छैन । विचारमा प्रष्ट भएन भने हामी अन्धकारतिरै फस्दै जानेछौं । हामी महासागरमा छौं, अहिले कम्पास हराएको छ ।’

२ जेठ २०७५ मा तत्कालिन नेकपा (एमाले)का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का प्रचण्डबीच भएको ५ बूँदे गोप्य सहमतिमा नेकपाको कार्यदिशा ‘जनताको जनवाद’ भएको थियो । त्कालिन एमालेको जबज र एक्काइसौँ शताब्दीको जनवादलाई स्थगन गरेर ‘जनताको जनवाद’ अबको कार्यदिशा तय भएको हो ।

पछिल्लो समयमा सांगठानिक एकता नटुंगिदै सैद्धान्तिक बहस सुरु भएको थियो । खासगरी पूर्व एमालेहरुले जबज नै उययुक्त भएको भन्दै यसको पक्षमा बहस गरेका थिए । सांसद किराती सहमति बिपरित कोही पनि पछाडि फर्किनु गलत हुने बताउँछन् । उनले भने, ‘अब पछाडि फर्केर गन्तव्यमा पुगिन्दैंन । सहमति अनुसार नै विचारमा प्रष्ट भएर पार्टीलाई अगाडि बढाउनुपर्छ ।’

‘यसरी भए हामी सकिन्छौं’

अहिले सरकारले अहिले जे गरिरहेको छ, त्यसले सत्तारुढ दल नेकपाकै नेता, कार्यकर्ता र सांसदहरु दुःखी भएको उनको बुझाई छ । अहिले सबैभन्दा नेपाली कांग्रेस र उसका नेताहरु खुसी भएको उनको भनाई छ । उनले भने, ‘सत्तापक्षले नराम्रो गर्दा अहिले खुसी त नेपाली कांग्रेसका साथीहरु छन् । हामी सत्तापक्षका सांसदहरु चै धेरै दुःखी छौं ।’ 

अब समिक्षा गरेर नयाँ शिराबाट काम अघि नबढाए सरकार मात्रै होइन नेकपा पनि समस्यामा पर्ने बताए । भन्छन्, ‘एकजना मात्रै दौडेर सगरमाथा पुगेर समाजवाद आउँदैन, सबै जना अभियानको रुपमा जानुपर्छ ।’ 

पार्टी एकतासँगै काम र निर्णयको प्राधिकार नेतृत्वलाई गएको छ । ‘निर्णय र कामको अधिकार दुई नेताबाट लाखौँ नेता–कार्यकर्तामा फर्किएला ?’ सांसद किराती भन्छन्,‘नफर्किए हामी पनि पार्टी सिद्धिन्छ, हामी पनि सकिन्छौं, इतिहास सकिन्छ ।’ हेर्नुहोस् सांसद किरातीसँग गरिएको कुराकानी :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७