एक लाहुरेको बुझाई : इमानले काम गरे यो देश १० वर्षमा स्वर्ग बन्छ


४ श्रावण २०७६, शनिबार
Naryan Gurung

काठमाडौं, ४ साउन :  काठमाडौं बूढानिलकण्ठ नगरपालिका वडा नम्बर–१० स्थित आर्दशटोल र ज्योतिनगर क्षेत्रमा ओहोर दोहोर गरीरहेका भेटिन्छन्, ‘एकजना फरासिला र हसमुख मान्छे ।’ उनीलाई टोलबासीले बोलाउँने नाम अनेक छन् । कसैले ‘नारान दाई भन्छन् । कसैले भन्छन्, ‘नारान सम्धी’ । सबैले सम्मान र मायाले बोलाउँने नाम हो । टोलमा कसैलाई केही भयो अथवा केही गर्नका लागि सबैले सम्झिहाल्छन्, ‘उही नारान दाई ।’

नारान अर्थात् सिंगापुर प्रहरीबाट अवकाश प्राप्त नारायणकुमार गुरुङ । सिंगापुर प्रहरीको ‘चिफ इन्सपेक्टर’ पदबाट सन् २०१४ मा अवकाश पाएका गुरुङ त्यसयता सामाजिक र विकास निर्माणको अभियानमा खटिरहेका छन् । उनी जति काम गर्छन्, त्यो सबै सामाजिक कार्यकर्ताको रुपमा निशुल्क गर्छन् । भन्छन्,‘मलाई पुग्ने कमाइसके अब समाजको लागि केही गरौं भन्ने भावनाको साथ काम गरीरहेको छु ।’

सधैं सक्रिय : सुधारका शुत्रधार

Narayan Gurung
शनिबार बिदाको दिन हो । शहरमा बसेकाहरु यो दिन आफ्नो पारिवारिक काममा व्यस्त हुन्छन् । ४ साउन २०७६ डोजर लिएर धोवीखोलाको किनारमा वरिपरी बाटो बनाइरहेका थिए, उही नारान दाई । जहाँ पानीको परेको दिन हिलाम्मे हुन्छ । घाम लागेको दिन धुलम्मे । त्यही समस्या समधानको निम्ती उनी जुटिरहेका थिए । डोजर भन्ने बित्तिकै हाम्रो समाजमा ‘सरकारी पैसा’ भन्ने बुझिन्छ । तर, गुरुङले कुनै सरकारी पैसाले होइन केही साथीभाईसँग मागेर र आफ्नो पैसाले बाटो बनाइरहेका थिए ।

चर्को घाममा बाटो डोजरलाई यताउता भन्दै निर्देशन दिइरहेका गुरुङलाई हामीले सोध्यौं,‘नारान दाई, बाटो खन्ने ठेक्का पार्नु भयो की कसो ?’ ‘ठेक्का पारेको होइन बाटो खनेको चहि हो,’ उनले सुनाए,‘घरबाट निस्किने बित्तिकै हिलोमा डुब्नुपर्ने अवस्था छ । वडा र नगरपालिकामा समस्या जानकारी गरायो, ठेक्का लागिसकेको बाटो भन्छ । तर, कहिल्यै बनेन । अनि आफैले पैसा उठाएर बनाउन थालेको हो ।’

काठमाडौं क्षेत्र न.४ कांग्रेसको चर्चित युवा नेता गगन थापाको निर्वाचन क्षेत्र हो । प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई उनका निकटतम् प्रतिद्धन्द्धी हुन् । दुई ठुला दलको निर्वाचन क्षेत्र बिकास निर्माणका हिसाबले काठमाडौंकै कमजोर क्षेत्र हो । कपन क्षेत्रका अधिकांस सडकहरु हिलाम्मे छन् । नारायण गुरुङ जस्तै टोलका अभियान्ताहरुले आफैले पैसा उठाएर घर अगाडिको सडक बनाउनु पर्ने बाध्यतामा छन्, यहाँका टोलबासीहरु ।

त्यसो त सरकारबाट आएको अनुदान तथा विकास बजेटको पनि समयमै खर्च नहुने, काम भएपनि कम गुणस्तीय काम हुने समस्या छ । यसअघि उनकै नेतृत्वमा आर्दश टोलमा ३२४ मिटर १६ फिटेबाटो कालोपत्रे गरियो ।

यो सडक यति गुणस्तरीय बनाइयो की स्थानीयबासीहरु समेत छक्क परे । गुरुङ उपभोक्त्ता समितिका अध्यक्ष थिए । स्थानीयवासी तथा युवा नेता परिर्वतन किराती भन्छन्,‘इमानदारिताको साथ काम गरिए कम बजेटमा पनि गुणस्तरीय र उत्कृष्ट काम गर्न सकिन्छ भन्ने नमुना उनले त्यो सडकमा निर्माण देखाएका छन् ।’

संकटका साथी

Naryan Gurung
संखुवासभा  स्थायी घर भएका गुरुङ त्यसो त सामाजिक अभियान र आन्दोलनमा पनि उत्तिकै सक्रिय छन् । आफ्नो जिल्लादेखि समुदायका अभियानका कामहरुमा सधैं उनी खट्छन् । भन्छन्,‘यो मेरो अब अवकाशको जीन्दगी हो । सकेसम्म राम्रा कामहरु गरौं भन्ने अभियानमा छु ।’

त्यसो त लाहुरे अर्थात् गोरखा सैनिकहरु विश्वकै इमानदार र बहादुर सिपाहीको रुपमा मानिन्छन् । सिंगापुर आफैंमा एसियाको सुरक्षित टापु मानिन्छ । आफूलाई असुरक्षा ठानिरहेकाहरु पनि सिंगापुरमा सुरक्षित ठान्छन् । कारण हो, गोरखा । सिंगापुर प्रहरीको गोर्खा टुकडीका विभिन्न तहमा २ हजार ७ जना कार्यरत छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुचर्चित वार्ता उनै गोरखाहरुको सुरक्षामा भएको थियो ।

भन्छन्, ‘इमानको खाँचो छ’

उनी कुनै बेला त्यही प्रहरीको कमाण्डर मध्येका एक अर्थात् ‘चिफ इन्सपेक्टर’ थिए । उनले विश्वका बिभिन्न देश हेरेका छन् । घुमेका छन् । सिंगापुरको बिकासलाई नजिकबाट देखेका छन् । भन्छन्,’हाम्रो जस्तो देश अरुको कहाँ छ र ? तर हामी आफैले पो बिगारेको छौं ।’

इमानदारिताको साथ काम गरे सुरक्षा, बिकास सबै सम्भव रहेको उनी बताउँछन् । भन्छन्,‘अहिले सरकारले बिकासको निम्ती जति बजेट विनियोजन गरेको छ, त्यसलाई इमानदारिताको साथ खर्च गरेर काम गर्ने हो भने देश बिकास छोटो समयमा  हुन्छ । तर, विनियोजन भएको रकम पैसा अरु तिरै जान्छ ।’

अराजकता, अनुशासनहिनता र अनियमितताले नेपाल पछि परेको उनको बुझाई छ । भन्छन्,‘हाम्रो जस्तो सुन्दर मुलुक अरुले कहाँ पाएका छन् र ? हामीसँग सबथोक छ । केवल देशप्रतिको इमानदारिता भएन । देश सञ्चालकहरु बेइमान भए । मलाई यस्तो लाग्छ, ‘हामी अवकाश प्राप्त गोरखा सैनिकहरुलाई १० वर्ष बिकास निर्माणको जिम्मा दिए भने हामी स्वर्ग बनाइदिन्छौं । किनभने हामीसँग इमानदारिता छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७