सामान्य खुट्टा दुखेर अस्पताल गएका विरामीको मृत्यु, नोबेल अस्पताल तनावग्रस्त


५ श्रावण २०७६, आईतवार
nobell

मोरङ, ५ साउन । उपचारको क्रममा बिरामीको ज्यान गएपछि मोरङको विराटनगरस्थित नोबेल अस्पताल तनावग्रस्त बनेको छ ।

गएको बिहीबार उपचारका लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका–६ का अनिल कुमार साहको ज्यान गएको थियो । खुट्टामा सामान्य चोट लागेपछि अघिल्लो बिहीबार नोबेल अस्पतालमा गएका अनिललाई अस्पतालले सामान्य ब्याण्डेज गरेर औषधि दिएको र एक हप्ता पछि आउन भनेको आफन्त बताउँछन् ।

त्यतिले खुट्टा ठिक नभएपछि यो बिहीबार फेरि अस्पतालमा आएका उनको डाक्टरहरुको सुझाव अनुसार शुक्रबार अप्रेसन भयो । अप्रेसन गर्नुभन्दा अगाडि सामान्य रहेका अनिल अप्रेसनपछि बेहोस भएको मृतकका भाई प्रदिप साहले बताएका छन् ।

शुक्रबार अप्रेसन गरिएका अनिललाई आइतबार बिहान मृत घोषित गरिएको थियो । अनिलको आइतबार बिहान ६ बजे नै मृत्यु भएको पुष्टि गरेको भए पनि आफन्तलाई ९ बजेपछि मात्र जानकारी दिइएकाले चिकित्सकको लापर्वाही भएको मृतकका भाइ प्रदिपको आरोप छ ।
अस्पतालका डाक्टरको लापर्वाहीका कारण अनिलको ज्यान गएको बताउँदै अप्रेसन गरेर ल्याएपछि अनिलको आँखामा पट्टी बाँधिएको र हेर्न खोज्दा देखाउन समेत नमानेको मृतकका परिवारको आरोप छ ।

अनिलको मृत्यु भएपछि अहिले नोबेल अस्पतालमा बिरामीका आफन्तले घेराउ गरेर प्रदर्शन गरिरहेका छन् । डाक्टरलाई कारबाहीको माग गर्दै उनीहरुले अस्पतालाई मान्छे मार्ने लाइसेन्स नभएको भन्दै नाराबाजी समेत गरेका छन् । अस्पतालमा सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।

अस्पताल प्रशासनले भने अनिलको हृदयाघात ज्यान गएको बताएको छ । अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले बिरामीको हृदयघातका कारण मृत्यु भएको बताउँदै समस्या समाधानको प्रयास जारी रहेको बताएका छन् । बिरामीको मृत्युको बारेमा अस्पताल प्रशासनले वार्ताको पहल गरिरहेको भए पनि मृतकका आफन्त भने कारबाही नहुँदासम्म आन्दोलन नरोक्ने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७