प्रहरीमाथि गोली चलाउने पेस्तोलसहित पक्राउ


५ श्रावण २०७६, आईतवार
taskar

मकवानपुर, ५ साउन । प्रहरी र गाँजा तस्करबीच मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया राप्तीखोलामा गोली हानाहान भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहका अनुसार राक्सिराङबाट पर्सा राष्ट्रिय निकुञ्ज निस्कने खोलाको भित्री बाटो हुँदै गाँजा ओसारपसार गर्ने गिरोह र प्रहरीबीच शनिबार मध्यरातमा गोली हानाहान भएको हो ।

विशेष सूचनाको आधारमा उक्त स्थान पुगेको प्रहरीमाथि गोली प्रहार भएसँगै प्रहरीले जवाफी फायर गरेको थियो।घटनामा संलग्न मुख्य नाइके राक्सिराङ–१, ढुंगेनका ४३ वर्षीय कुमार स्याङ्तान भन्ने राजु स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्तानलाई खोँचमा घेरा हालेर नियन्त्रणमा लिइएकोप्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट कटुवा पेस्तोल एक थान, फायर भएको खोका एक थान, लाइभ राउण्ड एक थान, लागूऔषध गाँजा दुई पोकामा गरी ३१ केजी चारसय ग्राम समेत नियन्त्रणमा लिएको छ ।

‘गाँजा आोसारपसारमा संलग्न अन्य फायरिङ भएसँगै भाग्न सफल भएँ । तर, हामीले मकवानपुरको पश्चिमी क्षेत्रमा लागूऔषध कारोबार, आपराधिक क्रियाकलापहरुमा संलग्नलाई पत्राउ गर्न सफल भयौँ ।’, प्रहरी उपरीक्षक सिंहलेभने । उनका अनुसार पक्राउ परेको स्याङ्तान पूर्वपश्चिम राजमार्गमा विभिन्न समयमा सवारी र यात्रु लुट्ने कार्यमा समेत संलग्न रहेका थिए ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले २०७१ साल पुस १६ गते स्याङ्तानलाई एकसय केजी गाँजासहित कीर्तिपुर नगरपालिका–१६ बाट पक्राउ गरी कारबाही समेत गरेको पाइएको छ । प्रहरी उपरीक्षक सिंहले भने, ‘हामीले उनलाई धेरै समयदेखि खोजी गरिरहेका थियौँ । उनीमाथि हामीले तीनवटा मुद्दा दर्ता गराएका छौँ । अन्य विषयमा समेत अनुसन्धान अगाडि बढिरहेको छ ।’

स्याङ्तानलाई हातहतियार खरखजाना, ज्यान सम्बन्धी कसुर र लागूऔषध नियन्त्रण ऐनअन्तर्गत पटके कायम गरी थप सजायको माग गरी मुद्दा दर्ता गराइएको छ । मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी, राक्सिारङ र कैलाश गाउँपालिका लागूऔषध उत्पादन र कारोबार हुने मुख्य थलो हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७