कीर्ते बैंक ग्यारेन्टी बनाई ठगी गर्ने कृषि बैंकका शाखा प्रमुखसहित चार जना दोषी ठहर


५ श्रावण २०७६, आईतवार
uchha adalat patan

काठमाडौं, ५ साउन । उच्च अदालत पाटनले कीर्ते बैंक ग्यारेन्टी बनाएको ठहर गर्दै नेपाल कृषि विकास बैंक लगनखेलका शाखा प्रमुख र सुनौलो खिम्ती कन्ट्रक्सनका प्रमुखसहित चार जनालाई दोषी ठहर गरेको छ ।

उच्च अदालतको वाणिज्य इजलासले ४ करोड बराबरको बैंक ग्यारेन्टी नक्कली बनाई ठगी गर्ने कार्यमा कृषि विकास बैंक लगनखेलका तत्कालीन शाखा प्रमुख बद्रीराज सुवेदी, कर्मचारी उमेशबहादुर राना, ताराप्रसाद काफ्ले र सुनौलो खिम्ती कन्ट्रक्सनका प्रमुख धर्मराज भन्डारी (भिमसेन) को संलग्नता ठहर गरेको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र किरण पौडेलको इजलाशले शाखा प्रमुख सुवेदीलाई ४ वर्ष कैद र ३ करोड २२ लाख ९८ हजार जरिवाना हुने ठहर गरेको छ । त्यस्तै बैंकका अर्का कर्मचारी ताराप्रसाद काफ्लेलाई ४ वर्ष कैद, ३ करोड १४ लाख ४८ हजार जरिवाना गर्ने फैसला सुनाएको छ । सुनौलो खिम्तीका प्रमुख धर्मराज भण्डारी (भीमसेन) लाई उच्च अदालतले ४ वर्ष कैद र ३ करोड १७ लाख ४२ हजार जरिवाना गर्ने फैसला सुनाएको छ ।

अनियमिततामा संलग्न भएको आरोप लागेका कृषि विकास बैंकका अर्का कर्मचारी उमेशबहादुर राणालाई उच्चले २ वर्ष कैद १ करोड ५७ लाख २४ हजार जरिवाना गर्ने फैसला सुनाएको छ । बानियाँले ताराबहादुर काफ्लेको मतियारका रूपमा काम गरेको देखिएको भन्दै उच्चले उनलाई आधा सजाय गर्ने फैसला सुनाएको हो । करौडौंको योजना हात पार्न उनीहरुले तीन करोड ४८ लाख बैक ग्यारेन्टी नक्कली देखाएका थिए ।

योजना ठेक्कामा पार्न कृषि विकास बैंकको नक्कली ग्यारेन्टी खडा गरिएको थियो । उक्त बैंकको सिस्टममा समेत समावेश नगरी सुवेदी र अन्य कर्मचारीको संलग्नतामा धर्मराज भण्डारीले नक्कली बैक ग्यारेन्टी बनाएको भेटिएको थियो ।

बैंकलाई समेत थाहा नदिई निर्माण भएको उक्त बैंक ग्यारेन्टीको रहस्य ठेक्का तोकेपछि मात्र थाहा भएको थियो । समयमा सडक निर्माणको ठेक्का सम्पन्न नगरेपछि सरकारले बैंक ग्यारेन्टी जफत गर्न खोज्दा नक्कली बनाएको रहस्य खुलेको थियो ।

वाणिज्य इजलासले बैंक ग्यारेन्टी बापतको ३ करोड ४८ लाख असुल गर्न समेत सरकारको नाममा आदेश गरेको छ। त्यस्तै बैंक ग्यारेन्टी राखेको अवधिसम्मको ब्याज २ लाख ९४ हजार धर्मराज भण्डारी र बद्रीराज सुवेदीसँग असुल गर्नु पर्ने उच्च अदालतको फैसलामा उल्लेख छ ।

उच्च अदालतले २०७६ जेठ २७ गते किर्ते गरी बैंक ग्यारेन्टी निर्माण गरेको अभियोगमा चार जनालाई दोषी ठहर गरेको थियो । सजाय भने उच्चले २०७६ असार २७ गते तोकेको थियो । यता उच्च अदालतले कृषि विकास बैंकका कर्मचारी पुसाम्गेल शेर्पालाई भने सफाइ दिएको छ । शेर्पाका मृत्यु भइसकेको भन्दै उच्चले उनलाई सफाई दिएको हो । उनीहरु विरुद्ध बैकिङ कसुरका चार थान मुद्दा दायर भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७