एनआरएन हङकङमा फुपू भदैको रोचक प्रतिस्पर्धा


६ श्रावण २०७६, सोमबार
Phupu Bhadai

हङकङ : अघिल्ला दुई अधिवेशनको मिति घोषणा हुनु अघि नै चुनावी माहौल उत्कर्षमा पुगेको गैर–आवासीय नेपाली संघ हङकङको सातौं अधिवेशन दुई हप्ता बाँकी रहदा पनि कुनै रौनक आएको छैन ।

संघले नयाँ सदस्यता र अद्यावधिकका लागि सार्वजनिक गरेको सूचना अनुसार अब म्याद चार दिन मात्र रहेको छ । सूचना अनुसार जुलाई १५ पछि सदस्यताको काम बन्द हुनेछ ।

 हङकङबाट सञ्चालित एक मात्रै नेपाली भाषाको पत्रिका एभरेष्टखबरले लेखेको छ, अध्यक्ष पदका लागि जुन २७ का दिन फेसबुकमार्फत उपाध्यक्ष निरञ्जन गुरुङले उमेदवारी घोषणा गरेका छन् । अध्यक्ष राधिका गुरुङको दोहोर्याउने मनस्थिति भए पनि औपचारिक घोषणा गरेकी छैनन् ।

श्रोतका अनुसार उनले बैठकमा वर्तमान कार्यसमितिलाई निरन्तरता दिने प्रस्ताव गरेकी थिइन् । अधिकांशले अध्यक्षको प्रस्तावमा समर्थन जनाए पनि उपाध्यक्ष निरञ्जन गुरुङले विरोध गरेका थिए ।

निर्वाचनको प्रक्रियाबाट चयन भएको कार्यसमितिमा एकजना बाहेक राधिका गुरुङको प्यानलका रहेका छन् । एउटै प्यानलका दुईजना अध्यक्षका उमेदवार बने अधिकांश तटस्थ बस्ने मनस्थितिमा देखिएका छन् । कार्यसमितिका एक पदाधिकारीले भने, “हिजो एउटै प्यालनबाट चुनाव लडियो, आफ्नै प्यानलबाट दुई अध्यक्ष भए तटस्थ बसिन्छ ।”

एउटै प्यालनमा विभाजन आउनुमा व्यक्तिगत कारण देखिए पनि अहिलेसम्म हिजोको अर्को प्यानलको बाहिरी गतिविधि शून्य रहनु रहेको छ । बाह्य नभएपछि आन्तरिक प्रतिस्पर्धा देखिएको हुन सक्छ । प्यानल फुटोस् भन्ने अर्को प्यानलको रणनीति पनि हुन सक्छ ।

प्रधान शत्रु परास्त गर्न अन्य शत्रुसंगको मिलन त लडाइँमा रणनीति नै हुन्छ । फुपू भदैमा हिजोदेखि नै सौहर्दता नरहेको निकटकाहरु बताउँछन् । प्रधान शत्रुको निस्क्रियतामा आन्तरिक द्वन्द्व छल्केको हुन सक्छ । हिजो फुपू भदैको मिलनमा लागेकाहरु पनि अहिले निस्क्रिय देखिएका छन् ।

राधिका गुरुङ र निरञ्जन गुरुङ साइनोले फुपू भदै हुन् । उनीहरु दुईजना बाहेक युवा संयोजक प्रेम लामाले सार्वजनिक रुपमा अध्यक्षको उमेदवारी दिने बताउँने गरे पनि घोषणा गरेका छैनन् । उनी हाल नेपाल गएका छन् ।

सचिव टीका रानाले नयाँ समितिमा नरहने फेसबुकमार्फत नै जानकारी गराइसकेकी छन् । श्रोतका अनुसार कार्यसमितिका आधा जतिले निरन्तरता नदिने मनसाय व्यक्त गरेपछि बाँकी रहेका मध्ये केही सहमतिको वातावरण बनाउँनेमा लागेका छन् ।

महासचिव राई र सदस्य विजयकुमार गुरुङ अध्यक्ष र उपाध्यक्षबीच सहमति गराउँने प्रयासमा छन् । अर्का उपाध्यक्ष कर्मा गुरुङ खुलेका छैनन् । “कसैलाई उठ् वा बस् भन्ने पक्षमा म छैन ।” उनले भन्ने गरेका छन् ।

हिजो प्यानल बनाउँन सक्रिय मीनबहादुर गुरुङ, दिलिपसिं गुरुङ र धरमकुमार गुरुङ मौन छन् । बाहिरी मौन रहे पनि भित्री रुझान मीन, धरम र कर्माको निरञ्जनप्रति र दिलिपको राधिकाप्रति  रहेको बुझिन्छ ।

किसन राईलाई जो भए पनि समस्या नभए पनि विजय गुरुङ चेपारोमा छन् । दुई गुरुङको लडाइँमा तेश्रोले बाजी मार्ला र अपजस बोक्नु पर्ला भन्ने डर उनलाई छ किन कि उनी तमू ट्हो ह्युलका अध्यक्ष पनि हुन् । हिजो राधिका र दिलिपसिंको लडाइँमा ललित आङबुहाङले बाजी मारेका थिए ।

फुपू भदैको आ–आफ्नै रणनीति

अहिलेसम्मका अधिवेशन हेर्ने हो भने स्वस्फूर्त रुपमा सदस्य बन्ने नगन्य छन् । ५० भन्दा कम सदस्य रहेको संस्थापन कालको पहिलो अधिवेशनमा त्रिलोक गुरुङ र चेतनाथ चौलागाईँ अध्यक्षमा लड्ने भएपछि दुवै पक्षको जोडबलमा तीन सयको हाराहारीमा सदस्य बनाइएका थिए । चौथो अधिवेशनमा मीनबहादुर गुरुङको प्रतिस्पर्धाका लागि असफल प्रयासमा केही सदस्य थपिएका थिए ।

सबै भन्दा बढी पाँचौं अधिवेशनमा थपिएका थिए । अध्यक्षका तीन प्रत्याशीले यथासक्य प्रयास गर्दा हजार जति नयाँ सदस्य बनाइएका थिए । छैटौं अधिवेशनमा नयाँ पुराना गरी दुई हजारको हाराहारीमा सदस्यता अद्यावधिक गराइएका थिए ।

अहिलेसम्मका दृष्टान्तले के देखाउछ भने मुस्किलले १० प्रतिशत सदस्यता स्वाद्यावधिक भएका छन् भने बाँकी गराइएका छन् । अध्यक्षका प्रत्याशीले एक लाख डलरको हाराहारी सदस्यतामा खर्च गरेको पाइन्छ ।

यसरी हेर्दा चुनावी प्रतिस्पर्धा हुने हो भने अध्यक्षका उमेदवारले सदस्यता र अद्यावधिकमा लाग्नै पर्ने हुन्छ । यसका लागि फुपू भदै नै आन्तरिक तयारीमा लागेको देखिन थालेको छ ।

भदैको घोषणा फेसबुकमा सिमित देखिएकोले फुपू पनि औपचारिक घोषणा गरेर उनलाई नचिढाउने रणनीतिमा देखिन्छन् । उनी सकेसम्म भदैलाई अरुमार्फत सहमतिको प्रयास गराउने पक्षमा छन् । यसका लागि विजय गुरुङ प्रयास गरिरहेका छन् ।

त्यसो त भदै पनि फुपूलाई तयारीमा लाग्न सक्रिय हुन नदिने वातावरण बनाउँनमा तल्लिन देखिन्छन् । फुपू र समन्वयकर्ताको सहमतिको आग्रहमा उनी मौन देखिने गरेका छन् ।

हिजोदेखि भदैको सदस्यता बनाउने र अद्यावधिक गर्नेमा सक्रियता बढेको देखिएपछि समझदारीको संभावना टरेको आभास मिल्न थालेको छ । त्यसो त फुपू पनि भदैलाई बाहिरी रुपमा फकाउदै भित्री रुपमा प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छन् ।

अब चार दिनमा जसले सदस्यता बढी बढाउन सक्छ उसैको पल्ला भारी हुनेछ । यही ९६ घण्टाको प्रयासले कि त जोर्डनस्थित मिनि चुङकिङको दोश्रो तलाको आठ नम्बर कोठाको भित्तामा भदैले फोटो थपेर छवटा बनाउँने छन् नत्र अरु दुई वर्षका लागि पाँचैवटामा सिमित हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७