गोरखा सैनिकहरुलाई किन भनिन्छ, ‘लाहुरे’ ?

  • मञ्जीब सिंह पुरी

    नेपालमा शिखहरूको सानै भए पनि जीवन्त समुदाय छ, जसलाई यातायात क्षेत्रमा उनीहरूको योगदानका हिसाबले सम्झने गरिन्छ। उनीहरूले हाँकेका सवारी साधनले नै यो मुलुकलाई आधुनिक संसारसम्मको पहुँच बनाइदिएको थियो।

यति हुँदाहुँदै धेरैलाई नेपालमा शिख समुदायको इतिहास यो धर्मकै धरोहर मानिने गुरू नानक देवसँग जोडिएको छ भन्ने थाहा छैन।

गुरू नानक देवले आफ्नो ‘तेस्रो उदासी’ बेला नेपाल भएरै यात्रा गरेका थिए। काठमाडौंमा रहँदा उनी ‘नानक मठ’ मा बसेका थिए। त्यहाँ रहेको पिपलको रूखमा गुरु साहिबले ध्यान गरेको ठ्याक्कै विन्दु पाइन्छ।

काठमाडौंका अन्य केही धार्मिक धरोहरजस्तै यो मठमा पनि पिठाधिशका रूपमा एक महन्थ छन्, जुन ‘उदासी’ परम्परासँग जोडिएको छ। उतिधेरै नचिनिएको यो मठ उपेक्षित अवस्थामै छ। यसलाई ठम्याएका लेखक डेसमन्ड डोयगले ‘शिखहरूको बिर्सिएको मठ’ भनेर उल्लेख गरेका थिए।

नेपालले ‘गुरू ग्रन्थ साहिब’ का थुप्रै हस्तलिखित प्रति आफूसँग रहेको दाबी गर्ने गरेको छ। तीमध्ये केही त पशुपतिनाथ मन्दिर परिसरमै रहेको बताइन्छ।

नेपालसँग शिखहरूको सम्बन्ध महाराजा रञ्जित सिंहको शासनसँगै विकास भएको थियो। त्यति बेला कांगडा क्षेत्रमा शिख सैनिक र गोर्खालीहरूले युद्ध लडेका थिए। लडाइँमा गोर्खालीहरूले देखाएको बहादुरीबाट प्रभावित भएर लाहौर ‘कोर्ट’ ले उनीहरूलाई सैनिक भर्तीमा लिने निर्णय गरेको थियो। आज पनि भारतीय सेनामा लिइने नेपाली तन्नेरीहरूलाई ‘लाहुरे’ भनेरै पुकार्ने गरिन्छ।

पछि गएर जब महारानी जिन्द कौर बेलायतीहरूबाट भागिन्, उनी नेपाल आइन् र धेरै वर्षसम्म यहीँ बसिन्। उनका साथमा शिखहरूको ठूलै दस्ता नेपाल आएको थियो। महारानी फर्केर गए पनि उनीसँग आएका धेरैले नेपालगन्ज आसपास आफूलाई स्थापित गरेर बसोबास गरे।

जिङरिङ्ग कपाल पालेका, सेरोफेरोका गाउँघरमा समेत गुरुद्वारा चलाएर आफ्नो चिनारी जोगाइरहेका यी यस्ता शिख हुन्, जो आज विश्वभर फैलिएको व्यापक शिख समुदायको पहिचान घेरामा समेत कतै देखानपरी ओझेलमै बाँचेका छन्।

नेपालका शिखहरू अब यातायात व्यवसायमा मात्र सीमित रहेनन्। इञ्जिनियर, डाक्टर, प्रहरी अधिकृत, शिक्षक, शिक्षाकर्मी, विमान चालक र फेसन डिजाइनरका रूपमा समेत अग्रणी भूमिकामा यो समुदायको उपस्थिति देखिन थालिसकेको छ।

राजधानी काठमाडौंमा पहिलोपटक खानेपानी पाइप ओछ्याउने श्रेय अरू कसैलाई नगई एक जना शिख मनोहर सिंहलाई जान्छ। काठमाडौंलाई धेरै पुरानो समयमा पुगेर हेर्नेहरूले प्रारम्भिक समयताका रेस्टुरेन्ट चलाउने शिखहरूलाई पनि चिनेकै हुनुपर्छ, जसले ‘शेरे पञ्जाब’ का विभिन्न स्वाद नेपालमा लोकप्रिय बनाएका थिए।

शिख यातायात व्यवसायीहरूको सुनौला विगतका कथा नेपालमा प्रसिद्धै छन्। सन् ५० को दशक प्रारम्भमै भारतको जम्मु क्षेत्रका शिखहरू व्यक्तिगत ऊर्जाबाट तानिएर त्यतिखेर भर्खर बनेको त्रिभुवन राजपथका सडक आसपास आइपुगेका थिए। उनीहरूले नै त्यो बेला तलको समथरदेखि आफ्ना ट्रकहरूलाई धेरै खोला पार गराएर काठमाडौंसम्म ल्याइपुर्याएका थिए।

नेपालमा पहिलो सार्वजनिक बस सेवा सुरू गराएको श्रेय पनि उनीहरूलाई नै जान्छ। त्यसैगरी यस मुलुकमा आधुनिक विद्यालयहरू स्थापनाका लागि पनि उनीहरू नै सक्रिय रहँदै आएका छन्।

सन् ८० दशकताका त नेपालमा बसोबास गर्ने शिखहरूको संख्या केही हजारभन्दा बढ्तै नाघेको थियो। उनीहरूले काठमाडौं उपत्यकाभित्र कुपण्डोलमा गुरुद्वारा नै खडा गरेका थिए। त्यसैगरी वीरगन्ज, नेपालगन्ज र कृष्णनगरमा पनि स-साना गुरुद्वारा स्थापना गरिएका थिए।

समयक्रममा यो धर्म अँगाल्ने सरदार गुरुबक्स सिंहजस्ता थुप्रै नेपालीले अझ विस्तारित स्वरुपमा यसलाई अघि बढाउँदै लगेका छन्।

नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध विकासमा पनि शिख समुदायको बलियो उपस्थिति देखिन्छ। सन् १९४७ मा पहिलो भारतीय राजदूत नियुक्त भएपछि सरदार सुरजीत सिंह मजिथियाले नै यहाँ भारतीय दूतावास स्थापना गरेका थिए। मजिथियाले हवाइजहाजबाट नेपालमा पहिलोपटक ओर्लंदा र उड्दा प्रयोग गरेको गौचरन नै अहिले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ का रूपमा विकसित छ।

हामीले गुरू नानक देवको ५५० औं जन्मदिन मनाउँदै गर्दा नेपालले यो समुदायसँगको आफ्नो सम्पर्कलाई अझ प्रगाढ तुल्याउँदै तीन प्रकारका सिक्का नै प्रकाशन गर्ने भएको छ। त्यसमध्ये २५ सय रुपैयाँ र एक हजार रुपैयाँका दुई सिक्का चाँदीका हुनेछन् भने सय रुपैयाँको अर्को सिक्का ढलौटको हुनेछ।

यसरी राज्यले आफ्नो वैधानिक सिक्कामै शिख सम्पर्कलाई प्राथमिकता साथ उल्लेख गर्ने अत्यन्त थोरै मुलुकमध्ये नेपाल पनि एक भएको छ।

(नेपालका लागि भारतीय राजदूत पुरीको यो लेख हिन्दुस्तान टाइम्समा लेखेका हुन्)

प्रतिक्रिया दिनुहोस्