कर्मचारीसँग रिसाए मुख्यमन्त्री : सोधे, ‘लज्जास्पद र घृणित काम कसको आडमा भइरहेको छ ?’


६ श्रावण २०७६, सोमबार
Sherdhan Rai

विराटनगर, ६ साउन :  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर एकमा घूसखोरी, कमिसन र सेटिङ्ग नांगो रुपमा भइरहेको भन्दै तिव्र आक्रोश व्यक्त गरेका छन् । प्रदेश नम्बर एकका कार्यालयहरुमा दिउँसै घुस संकलन गरेर र अमुक ठाउँमा पुर्‍याउने गरेको आफूलाई सूचना आइरहेको भन्दै उनले कर्मचारीलाई सचेत गराएका हुन् ।

प्रदेश नम्बर एकको बिभिन्न स्थानमा अख्तियार अनुसन्धान आयोगले कर्मचारीहरु रंगेहात नियन्त्रणमा लिन थालेपछि सोमबार मुख्यमन्त्रीको कार्यालयमा आकस्मिक बैठकमा बोलाएर मुख्यमन्त्री राईले कर्मचारीलाई सचेत गराए । सञ्चारकर्मीहरुलाई समेत राखेर बोलाइएको बैठकमा मुख्मन्त्री राई निकै आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

कर्मचारीहरु धमाधम रंगेहात पक्राउ परेको भन्दै कसको आडमा यो भइरहेको छ भन्दै उनले तिव्र आक्रोश पोखे । ‘यो बैठक मुख्यमन्त्रीको निर्देशनमा अत्यन्त जरुरी भएर बोलाइएको हो । आमसञ्चारकर्मीहरुलाई पनि राख्नुपर्ने अवस्था आयो,’ उनले सोधे, ‘मुख्यमन्त्रीले मिडियालाई पनि बैठकमा राखेर केही कुरा बोल्नुपर्ने भयो । भोजपुरमा इञ्जिनियर रंगे हात पक्राउ परे । यी त्यस्ता खालको सेटिङ्ग, कमिशन खुलारुपमा लिनेदिने काम कसको आडमा भइरहेको छ ?

मुख्यमन्त्री राईले प्रदेशका सचिव, मन्त्री र कर्मचारीहरुलाई राखेर सबैलाई सचेत गराए । उनले सोधे,‘मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालय ? सचिवालाय ? मन्त्रीहरु, प्रमुख सचिव वा सचिवालय वा अमुक व्यक्ति ? कहाँबाट ? कसको आडमा त्यसप्रकारको कमिशन लिने, बोलकबोल गर्ने अनि घुस नांगो रुपमा लिने कसरी भइरहेको छ ?’

‘लज्जास्पद, अत्यन्तै घृणित कुराहरु नोटिसमा छ’
मुख्यमन्त्री राईले प्रदेश सरकारको नोटिसमा अत्यन्तै लज्जास्पद र घृणित कुराहरु नोटिसमा आएको बताए । उनले भने, ‘दिउँसै अड्डामा रक्सी पिएर जाने, ठाडै घूस माग्ने, बजेट संकलन गर्ने । अत्यन्तै लज्जास्पद, अत्यन्तै घृणित यस्तो खालको कुराहरु जब प्रदेश सरकारको नोटिसमा आइरहेको छ । बेलैमा गम्भीर हुनुपर्छ, सचेत हुनुपर्छ । नत्र एक पछि अर्को गर्दै व्यक्ति सकिन्छ, कारबाहीमा पर्छ, छानबिनमा पर्छ । त्यसले सन्देश कस्तो जान्छ ? त्यसले दाग कसलाई लाग्छ ?’


यही कारणले मिडिया राखेर आकस्मिक बैठक बोलाउनुपर्ने अवस्था आएको उनको भनाई छ । उनले भने, ‘कम्तीमा आजको दिनबाट त्यस्ता खालका कुराहरु नदोहोरियोस् ।सचेत भएर अघि बढ्न सकौं । नैतिक मुल्यको जगमा उभिएर काम गर्न सकौं ।’

‘म नाम लेखाउन मात्र मुख्यमन्त्री बनेको होइन’
मुख्यमन्त्री राईले आफू नाम लेखाउन मात्रै मुख्यमन्त्री नभएको बताए । उनले भने, ‘मेरो बारेमा कुनै पनि प्रकारको भ्रम नपार्न आग्रह गर्छु । म नाम लेखाउन मात्र मुख्यमन्त्री बन्न आएको होइन । सेटिङ मिलाउन आएको होइन । कमिशन, घुसको कुरा दिमागमा छैन ।’

उनले स्वच्छ, सवल र समृद्ध प्रदेश निर्माण गर्न आएको बताए । उनले भने, ‘त्यो नैतिक मुल्यको जगमा उभिएर नेतृत्व गर्न चाहन्छु, र सबैको साथ त्यही जग, इमान, इच्छाशक्तिबाट चाहन्छु । मेरो दृष्टि, सबैलाई हेर्ने चस्मा एउटै हुन्छ । एउटा विचारबाट अएको छु, तर सबैलाई समानरुपमा हेर्नेछु । कुनै आग्रह, पुर्वाग्रहबाट, वहानाबाट मान्छेलाई हेर्ने, बुझ्ने काम मबाट र प्रदेश सरकारबाट हुदैन ।’

मुख्यमन्त्री राईले आफूमाथि स्लो भएको आरोप लागेको उल्लेख गर्दै अब स्पिड सुरु हुने बेला भएको बताए । उनले भने, ‘ममाथि एउटा आरोप छ कि मुख्यमन्त्री स्लो भयो । मलाई राम्रो हेक्का छ, कतिखेर स्लो हुनुपर्ने, कतिबेला एग्रेसिभ हुनुपर्छ भन्ने । चुप लागेर बस्ने दिन अत्य हुदैछ, अब हाम्रो स्पिड शुरु हुदैछ ।’

मुख्यमन्त्री राईले प्रदेशमा भइरहेका विकृतिको सूचना दिन पनि अनुरोध गरे । उनले भने,‘मलाई सुचना दिनुपर्यो । मेरो फोन नम्बर र इमेल राख्नु पर्यो, र सुचना दिनुपर्यो । मेरो सचिवालयको कोही सदस्य हुनसक्छन्, मन्त्रीहरु हुनसक्दछ, प्रमुख सचिव, सचिव हुनसक्छ, वा राजनीतिक व्यक्ति हुनुसक्दछ । कस्को आडबाट भइरहेको छ ? त्यसको सुचना मलाई दिनुपर्छ ।’

मुख्यमन्त्री राईले सूचना पाएको एक घन्टाभित्र कारबाही गर्ने पनि बताए । उनले भने,‘नांगो रुपमा यो कहाँबाट शुरु भयो ? कसरी भयो ? थुप्र ैकमिशन, कलेक्सनहरु भएको छ भन्ने सुचना पाएको छुँ, ती पोकाहरु फुकाउनुछ, खोतलिनेछ । त्यसैले त्यो आड कहाँबाट भइरहेको छ । ? आफ्नै ज्ञान, बुद्धि, तागतले संघीयता कार्यान्वयन भइरहेको बेला, संघीय लोकतान्त्रिक गणतन्त्रको बेला स्वयम व्यक्तिमा हिम्मत, आँट पलायो होला अथवा विवेक तलमाथि भयो होला भन्ने मलाई त्यस्तो लाग्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७