शीर्ष नेतालाई भुसालको सन्देश, ‘यदि पार्टीमा न्याय छ भने स्कुल विभाग मलाई दिनुहोस्’


७ श्रावण २०७६, मंगलवार
Ghanshyam bhusal घनश्याम भुसाल

काठमाडौं, ६ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य घनश्याम भुसालले पनि पार्टी स्कुल विभागमा दाबेदारी प्रस्तुत गरेका छन् । सचिवालय सदस्यहरुबीच नै स्कुल विभाग लिने बिषयमा तिव्र हानथाप भइरहेको बेला स्थायी कमिटि सदस्य भुसालले पनि शिर्ष नेताहरुलाई भेटेर स्कुल विभागमा आफ्नो दाबेदारी सुनाएका हुन् ।

विभागहरुको बाँफडाँड सचिवालय बैठकमा नै टुंगो लगाउने भएपछि नेता भुसालले नेताहरुलाई भेटेर दाबेदारी सुनाएको स्रोतले बतायो । उनले शिर्ष नेताहरुलाई भेटेर भनेका छन्,‘यदि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा न्याय छ भने स्कुल विभागको जिम्मेवारी मलाई दिनुहोस् । म यसको स्वाभाविक दाबेदार हुँ ।’

नेता भुसालले नयाँ पेजसँग पनि आफूले दाबेदारी प्रस्तुत गरेको स्वीकार गरे । उनले भने,‘हो, मैले नेताहरुलाई भेटेर पार्टीमा न्याय भए मलाई स्कुल विभागको जिम्मेवारी दिनुहोस् भनेको छु ।’ आफू भएको पार्टीको कमिटिसम्म यो छलफल आइनपुग्ने देखेर आफूले नेताहरु मार्फत दाबेदारी प्रस्तुत गरेको उनको भनाई छ । उनले भने,‘यदि स्थायी कमिटिमा छलफल हुने भए म त्यही आफ्ना दाबेदारी प्रस्तुत गर्ने थिएँ । अब औपचारिक दाबेदारी नै गर्न नपाएपछि नेताहरुलाई आफ्नो कुरा सुनाएको हुँ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्वनिर्धारित सचिवालय बैठक स्कुल विभागको बिषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ । केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिने बिषयमा सहमति गरेका शिर्ष नेताहरु आफैले लिने जिम्मेवारी बिषयमा भने बिभाजित भएका छन् ।

मंगलबार बोलाइएको सचिवालय बैठक स्कुल विभागमा सहमति जुट्न नसकेपछि स्थगित भएको एक सचिवायल सदस्यले बताए । स्कुलिङ विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ‘प्रकाश’ को दाबी छ । 

स्थायी कमिटिका नेताहरु पनि यो विभागमा रुची भएपनि पनि सचिवालयकै नेताहरुले बाँडेर लिएपछि स्थायी कमिटिका सदस्यहरुले दाबी गर्ने अवस्था समेत बनेको छैन । नेकपाको स्कुल विभागको जिम्मेवारी वैचारिक नेताका रुपमा स्थापित भु्साललाई दिनुपर्ने आवज पनि पार्टीभित्र छ । तर, नेताहरुले सचिवालयमै बाँडेर लिएपछि भुसाल लगायतका नेताहरु दाबी गर्नबाटै बञ्चित भएका छन् ।

पार्टीले अंगिकार गरेको सिद्धान्तको बारेमा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नु यो विभागको मुख्य काम हो । पाठ्क्रम नै बनाएर केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरुलाई पढाउने काम यो विभागले गर्छ । नेता तथा कार्यकर्ताहरुलाई वैचारिक रुपमा प्रष्ट र स्पातिलो बनाउने काम यो विभागको हो ।

भुसाल किन दाबेदार ?
पूर्व एमालेमा भुसाल यो विभागको स्वाभाविक दाबेदार हुन् । २०७१ असार १९ देखि साउन १ मा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव निर्वाचित भुसाल मात्रै भएनन् उनको विचार पनि पारित भयो ।

भुसाल र उनको समूहले प्रस्तुत गरेको विचार नवौं राष्ट्रिय महाधिवेशनबाट सर्बसम्मत पारित भयो । जनताको बहुदलीय जनवाद (जबज)लाई ‘तलमाथि’ चलाउन नहुने अडानको बीच भुसालले व्याख्या गरेको नेपाली समाजको चरित्रलाई मानेर कार्यदिशा तय भयो । भुसालले व्याख्या गरे अनुसार नै नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक नरहेको निचोड निकालियो ।

महाधिवेशनपछि भुसालले पार्टीले स्कुल विभागको जिम्मेवारी पाउने अनुमान सबैले गरेका थिए । तर, ओली आफैले त्यो जिम्मेवारी राखे । भुसाललाई जिम्मेवारीविहिन बनाइए । पार्टी उपमहासचिवमा निर्वाचित भएपनि कुनै पनि जिम्मेवारी विना नै बस्नुपर्ने पीडा भोगे भुसालले । तर, विभिन्न फोरमहरु मार्फत भुसालले निरन्तर आफ्ना विचार प्रभाव गरे । प्रभाव राखे ।

पार्टीको औपचारिक जिम्मेवारी नपाएपनि भुसाल नेतृत्वमा वैचारिक अभियानका कार्यक्रमहरु भएका छन् । कार्लमार्क्स द्विशतवार्षिकी मूल समारोह समितिको नेतृत्व गरेर यसअघि देशभरी प्रशिक्षण भुसालको नेतृत्वमा चलाइएको छ । यो वर्ष मार्क्सवादको प्रशिक्षण अभियानलाई देशव्यापी बनाएर २० हजार युवालाई प्रशिक्षित गराउने उनले बताएका छन् ।

भुसालका विचारहरूका आधारमा प्रचण्डले आफ्नो पार्टीको सातौं महाधिवेशनका लागि दस्तावेज लेखे भनेर विश्लेषण समेत भयो । त्यही बेला कुनै बेलाका माओवादी नेता विश्लेषक मुमाराम खनालले लेखेका थिए, ‘कहिलेकाहीं समयले कस्तो कठोर व्यङ्ग गर्छ भने मार्क्सवादी सिद्धान्तको आधारमा माओवादी भुसालहरूले करिब डेढ दशकदेखि उठाउँदै आएका र नेकपा एमालेको बुटवल महाधिवेशनमा दस्तावेजका रूपमा प्रस्तुत भएका सैद्धान्तिक र राजनीतिक विचारहरूका आधारमा प्रचण्डले तयार गरेको दस्तावेजको नाम भने ‘नेपाली क्रान्तिको नयाँ संश्लेषण : एक ऐतिहासिक आवश्यकताु राखिएको छ ।’

एकताको सातौं महाधिवेशन नामकरण गरिएको उक्त अधिवेशनको लागि प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन नेपाली समाज अब पुँजीवादमा प्रवेश गरिसकेकोले यसको चरित्र पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक नरहेको उल्लेख गर्दै उक्त पुँजीवादको चरित्र दलाल र नोकरशाही भएको उल्लेख गरेका थिए । 

एमालेको आठौं महाधिवेशनमा भुसाल लगायतका युवाहरूको एउटा समूहले एउटा दस्तावेज पेस गरेको थियो । त्यसमा उनीहरूलेनेपाली समाज अर्धसामन्ती-अर्धऔपनिवेशिक होइन, बरु दलाल पुँजीवादी भनेका थिए । 

‘प्रचण्ड प्रतिवेदनमा नयाँ भनिएका मूल विषयवस्तु एमालेका युवा नेता घनश्याम भुसाल लगायतले आठौं महाधिवेशनमा प्रस्तुत गरेको अवधारणापत्रमा आधारित छ,’ खनालले लेखेका छन्, ‘बरु प्रचण्डको प्रतिवेदनभन्दा भुसालले नेपाली समाजको सामाजिक-आर्थिक चरित्र, वर्ग विश्लेषण र समाजवादी क्रान्तिको अवधारणालाई प्रचण्डले भन्दा निकै अध्ययन र तर्कसङ्गत ढंगबाट प्रस्तुत गरेका छन् ।’

प्रचण्डले समेत भुसालको विचारको बिषयमा सकरात्मक धारणा राख्ने गरेका छन् । यो पृष्ठभूमिका कारण भुसाल अहिलेका दाबेदार हुन् । तर, सचिवालयमै टुंगो लगाएपछि भुसालहरु दाबेदारीबाटै बञ्चित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७