सई-असई पद अब खारेजीमा पर्ने


८ श्रावण २०७६, बुधबार
Nepal police

काठमाडौं, ८ साउन :  भारतीय फौजी संरचनामा आधारित नेपालको प्रहरी सेवालाई अब अन्तर्राष्ट्रिय अभ्यासमा लैजाने गरी छलफल शुरु भएको छ । तर, सशस्त्र प्रहरीले भने धेरै छलफल नगरी प्रस्तावित संरचनालाई अनुमोदन गरेर पुनःसंरचना थालिहाल्ने सुरसार कसेको छ ।

नेपाल प्रहरी र सशस्त्रको विद्यमान नियमावलीअनुसार प्रहरी सहयोगी (परिचर), जवान (सिपाही), सहायक निरीक्षक (असई) र निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना खुल्दै आएकोमा अब त्यसलाई हटाएर एकथरि राजपत्रांकित तृतीय श्रेणीकै अधिकृत हुने, अर्काथरि श्रेणीविहीन (सहायक स्तर) को (सिपाही) रहने अवधारणा अगाडि सारिएको छ ।

फौजी संगठनको तल्लो दर्जामा धेरै पद सिर्जना गर्दा जिम्मेवारी बहन गर्नेभन्दा बढी ती पदोन्नतीकेन्द्रित भूमिकामा सक्रिय हुने भएर यस्तो व्यवस्था गर्न लागिएको हो । यसो गर्दा सशस्त्र प्रहरीमा सिपाही र हवल्दारपछि एकैचोटि इन्स्पेक्टरको पद हुने भयो ।

बीचमा रहने सई र असईका नयाँ पद खारेजीमा पर्दैछन् । यस्तो अभ्यास नेपाली सेना र अधिकांश देशका सुरक्षा निकायमा छ । सेनाले गैरप्राविधिक भर्नाका क्रममा सिपाहीपछि एकैपल्ट उपसेनानी (सेकेण्ड लप्टन) पदमा भर्ना लिन्छ । प्लस टुलाई शैक्षिक योग्यता निर्धारण गर्दै भर्ना आह्वान हुने र उपसेनानीलाई तालिमकै क्रममा सैनिक शिक्षामा स्नातक तहको अध्यापन गराउने व्यवस्था छ ।

सशस्त्रले पनि त्यस्तै अभ्यास शुरु गर्दै छ । नेपाल प्रहरीले क्रमशः भर्ना प्रक्रियालाई यही किसिमले रुपान्तरण गर्ने गरी संरचना बनाइरहेको बताइन्छ । धेरै पद र पदोन्नतीको सुविधाका कारण विशेषतः नेपालको निजामती कर्मचारी सेवा प्रभावित भएको छ ।

नायव सुब्बामा भर्ना भएको कर्मचारी अड्डाको काम छाडेर शाखा अधिकृत परीक्षाको तयारीमा लाग्ने, शाखा अधिकृत भएकाले उपसचिवको परीक्षा र उपसचिव भएकोले सहसचिवको परीक्षा तयारी गर्दागर्दै तोकिएको जागिरमा ढाँट्ने, छल्ने क्रम बढ्दो छ ।

फलतः कर्मचारीबाट जनतामा हुनुपर्ने सेवाप्रवाह प्रभावित हुँदै आएको छ । सुरक्षा निकायमा पनि निजामतीको जस्तो ठ्याक्कै त होइन, तर एकपछि अर्को पदका लागि प्रतिस्पर्धा गर्न पाइने सुविधाका कारण काममा भन्दा पदोन्नतीमा बढी ध्यान दिइने क्रम बढेपछि यस्तो अवधारणा अगाडि सारिएको हो । असई र इन्स्पेक्टरमा एकैचोटि भिड्यो, तल फेल भए जागिर खाँदै र राम्रो पोष्टिङ खोज्दै माथिको परीक्षामा जुट्यो ।

अहिले यस्तै अस्वस्थ गतिविधिका कारण सशस्त्रको कारवाहीमा असई (कूल जागिरे संख्या १६६०) र सई (१३७०) को मात्रा धेरै रहेको बताइन्छ । विकसित मुलुकमा सार्जेन्ट र अफिसर गरी दुईखाले भर्ना हुन्छ । नेपाली सेनामा समेत प्राविधिक तर्फबाहेकमा जेसिओज अर्थात् जुनियर कमाण्डरको भर्ना लिइँदैन । कि सिपाही, कि सेकेण्ड लप्टनको मात्र भर्ना खोलिन्छ । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७