प्रदेश सभामुखको पाकेट मार्ने युवक हिरासतबाटै फरार, दुई प्रहरी निलम्बित


८ श्रावण २०७६, बुधबार
paketmar 1

बारा, ८ साउन । प्रदेश–२ का सभामुख सरोज यादवको पाकेट मारेको आरोपमा पक्राउ परी बाराको सिमरौनगढ इलाका प्रहरी कार्यालयको हिरासत हिरासतमा थुनिएका युवा फरार भएपछि दुई प्रहरी निलम्बनमा परेका छन् ।

चोरी आरोपमा पक्राउ परेका भारतको मोतिहारी जिल्ला लिपनी–४ का स्थायी बासिन्दा १९ वर्षीय फिरोज मियाँ साउन ३ गते पक्राउ परेका थिए । बाराका डिएसपी रञ्जित राठौरका अनुसार मेसमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएको पुष्टि गरेका छन् ।

प्रदेश– २ का सभामुख सरोज यादवका अनुसार साउन ३ गते सिमरौनगढको हाट बजारमा गएको बेला मियाँले उनको पकेट मारेको जनाइएको छ । सभामुख यादवको पाकेट मारेर भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय युवाले समातेका थिए ।

‘म भीडभाडमा स्थानीयहरुसँग गफ गरिरहेको बेला मेरो पाकेट मारेको एउटा अर्को युवकले देखेको रहेछ,’ सभामुखले भने, ’उसले समातेर ल्याएपछि पो मेरो पाकेट मारिएको थाहा भयो । उसले ५० हजार झिकेर भागेको रहेछ ।’ सभामुख यादवले आफू हाट बजारमा घुम्न जाँदा त्यहाँ कुनै प्रहरी नदेखेको र पाकेटमारलाई नियन्त्रणमा लिएर खबर गर्दा पनि त्यहाँको इन्चार्जले वेवास्ता गरेको दाबी गरे ।

‘मेरो पाकेट मारेर भाग्यो त ठिक छ । छुरा हानेको भए के हुन्थ्यो ?’ उनले प्रश्न गरेका छन् । यसैबीच हिरासतबाट थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालयले ड्युटीमा खटिएका प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साहलाई निलम्बन गरेको छ ।

कार्यालयका डीएसपी रञ्जित सिंह राठौरका अनुसार उनीहरुलाई ३ महिनाका लागि निलम्बन गरिएको हो । हिरासतबाट फरारको खोजी भइरहेको उनले बताए । खोजीका लागि नेपाल र भारतमा प्रहरी टोली परिचालन गरिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७