पुस्तकविनाको जीवन कल्पनासमेत गर्न सक्दिनँ


१३ आश्विन २०७४, शुक्रबार
Nayanraj Pandey

दसैँका वेला पुस्तक पढ्ने गर्नुभएको छ ? 
मलाई दसैँमा पुस्तक पढ्छु भन्ने आडम्बर हो जस्तो लाग्छ । दसैँमा म कहिल्यै पनि पुस्तक पढ्दिनँ । दसैँ भनेको फुर्सदको समय पनि हो, त्यसैले यो समय परिवार र इस्टमित्रलाई दिउँ भन्ने हुन्छ । पुस्तक पढ्नु भनेको एक खालको तनाव नै हो । दसैँजस्तो चाडमा पनि कति तानाव लिएर बस्नु रु
भनेपछि, यो दसैँका लागि कुनै पुस्तक पनि छनोट गर्नुभएको छैन ?
छैन । मेरा लागि दसैँ मात्र नभएर सधैँ बिदा हो । म कुनै संघसंस्थामा छैन, जागिर पनि छैन । पूर्णकालीन लेखक भएकाले मेरो काम नै लेख्ने र पढ्ने हो ।

Nayanraj Pandey
कुन समयमा पुस्तक पढ्न रुचाउनुहुन्छ ?
म प्रायः बिहानबाट पढ्न सुरु गर्छु । फ्रेस मुडमा पुस्तक पढ्ने बानी छ । अर्को, म एकदमै छिटो पढ्न पनि सक्दिनँ । त्यो किनभने मलाई पुस्तकका पात्रहरूमा घोत्लिन मन लाग्छ । पीडा, खुसीलाई कसरी अभिव्यक्त गरेको होला भनी मुग्ध भएर सोचिरहेको हुन्छ । प्रभावित पार्ने मात्र घटनाक्रम, च्याप्टर र प्रस्तुतिको नयाँ शैली भए त्यसले मलाई केही समय अल्झाउँछ ।

पुस्तकबाट तपाईंले ग्रहण गर्ने कुरा के हुन् ?
हरेक लेखकले पुस्तक पढ्दा केही न केही एस्पेक्टेसन राखेको हुन्छ । हुन त पाठक भएरै हो पुस्तक पढ्ने । मलाई मानवीय संवेदनाले छुन्छ । पात्रहरूको आपसी सम्बन्ध, मानवीय संवेदना र प्रस्तुतीकरणलाई नै मैले ग्रहण गरिरहेको हुन्छु ।

तपाईंको विशेष अध्ययनको रुचिचाहिँ कुन विषयमा हो ?
मानवीय संघर्षबाट उम्रिएका सुखद टुसाहरूलाई पढ्न मन पर्छ । पीडा मात्र नभएर पीडाबाट कसरी बाहिर आउन सक्यो, मानवीय संवेदनको विषय, पुस्तकमा भएका समस्या र त्यससँग जोडिएको राजनीतिक विषय भए पढ्न अझ मजा लाग्छ । जस्तै पिटी ब्वाई पुस्तकले गहिरो जोस नै उत्पन्न गराउँछ । देश, काल, परिस्थितिसँग कतै न कतै जोडिएको विषय पढ्न मन पर्छ । लेखन क्षेत्रमा आएकोमा गर्व छ मलाई । जति काम गरेँ, आत्मसन्तुष्टिका लागि गरेँ । पुस्तकहरू मेरा आफन्त हुन्, साथी हुन् ।

पढ्न निकै इच्छा भएको तर पढ्न नपाएको कुनै पुस्तक छ ?
मार्केजको ‘हन्ड्रेड इयर्स अफ सोलिटियुड’ भन्ने पुस्तक पढ्न निकै प्रयास गरेँ । ती लेखकको नाम नेपाली साहित्यकारले निकै प्रयोग पनि गर्नुहुन्छ । तर, त्यो उपन्यासभित्र कहिल्यै रहनै सकिनँ । या भनौँ अडिनै सकिनँ । त्यो उपन्यास पढ्न नसकेकोमा पीडा छ मलाई ।

तपाईं र पुस्तकको सम्बन्ध के ?

पुस्तकबाहेकको जिन्दगी कल्पना पनि गर्न सक्दिनँ । फेरि मलाई खुसीको कुरा यो लाग्छ कि लेखक हुन सकेँ । लेखन क्षेत्रमा आएकोमा गर्व छ मलाई । जति काम गरेँ, आत्मसन्तुष्टिका लागि गरेँ । पुस्तकहरू मेरा आफन्त हुन्, साथी हुन् ।

तपार्इंमा प्रभाव छर्न सफल केही पुस्तकको नाम लिनुपर्दा ?
किशोरकालमा पढेका पुस्तकहरूले ममा निकै प्रभाव जमाएका छन् । मलाई प्रभाव पार्ने किताबमध्ये एक मेक्सिम गोर्कीको ‘आमा’ उपन्यासलाई लिन्छु । त्यसका पात्रहरू सबै जीवन्त लाग्छन् । हाम्रो पनि त्यस्तै समाज भइदिए हुन्थ्यो भनेजस्तो लाग्छ ।

दोहोर्‍याएर पढेका पुस्तक कुनै छन् ?
दोहोर‍याएर एकदमै कम पढेको छु । किनकि दोहोर्‍याएर पढ्न त्यति रुचिकर लाग्दैन । किशोर अवस्थामै ‘आमा’लाई दुई–तीनपटक नै पढेको थिएँ ।
तपाईंको उपन्यास लु, उलार र सल्लेपीर सबै चर्चित बने, आफ्नै किताबचाहिँ दोहोर्‍याएर पढ्नुभएको छ कि छैन रु पढिएको छैन । किनकि पाण्डुलिपि यति धेरै हेरिएको हुन्छ कि दिक्क भइसकेको हुन्छ । तर, केही प्लटहरूबाट सामग्री लिनुपर्ने भएमा चाहिँ हेर्ने गरेको छु ।

बाहिरी किताबहरू कत्तिको पढ्नुहुन्छ ?
एकताका तामिल र रसियन लेखकका पुस्तकहरू खुव पढियो । नेपाली भाषामा प्रकाशित भएका भेट्टाएसम्मको पुस्तक पढ्छु । बाहिरीचाहिँ उपन्यासहरू नै पढ्ने गरेको छु । ननफिक्सनचाहिँ त्यति धेरै पढ्ने बानी छैन ।

रातारात पढेका पुस्तकहरू छन् ?
किशोर अवस्थामा त्यस्तो बढी हुन्थ्यो । खासमा त्यतिवेला लाइब्रेरीबाट पुस्तक ल्याइन्थ्यो र तीन दिनमै फिर्ता गर्नुपथ्र्यो । त्यसकारण पनि रातारात पढिन्थ्यो । जस्तै, वार एन्ड पिस, टोल्सटोयका किताबहरू द वल्र्ड मेन एन्ड सी, एनिमल फर्मलगायत र साना आकारका पुस्तकहरू रातारात पढिन्थ्यो ।

नयाँ पाठकलाई कस्ता किताब पढ्न सुझाउनुहुन्छ ?
लाइट र हल्का किताबबाट पढ्न सुरु गर्नुस् भन्छु । त्यो किनभने एकैपटक हेभी पुस्तक पढ्यो भने कुनै प्लटमा गएर उसलाई आकर्षण नगर्न पनि सक्छ । त्यसपछि उसको किताबप्रति त्यति धेरै  मोह हुँदैन ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७