सुरज वैद्यको कारण भिजिट नेपाल अलपत्र


८ श्रावण २०७६, बुधबार
Suraj Vaidya

काठमाडौं, ८ साउन :  पर्यटन व्यवसायीहरूबाट नै नरुचाइएका व्यापारी सुरज वैद्यलाई ‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय संयोजक बनाइएपछि अपेक्षाकृत रूपमा कामले गति लिन सकेको छैन । निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले विरोध जनाउँदा–जनाउँदै पर्यटन क्षेत्रभन्दा बाहिरका वैद्यलाई राष्ट्रिय संयोजक बनाइएको थियो ।

‘भिजिट नेपाल २०२०’ सुरु हुन अब पाँच महिनाजति बाँकी छ । तर, समय नजिकिँदै गए पनि राष्ट्रिय संयोजक वैद्यले सन्तोषजनक रूपमा कामलाई अघि बढाउन सकेका छैनन् । २० लाख पर्यटक भित्राउने लक्ष्य लिइएको ‘भिजिट नेपाल २०२०’ को अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न विभिन्न बैठक, गोष्ठी र अन्तक्र्रियाहरू गर्नुपर्नेमा अहिलेसम्म केही काम पनि हुन सकेको छैन ।

भ्रमण वर्षलाई सार्थक तुल्याउन गैरआवासीय नेपालीहरूका साथै नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तक्र्रिया गर्नुपर्नेजस्ता कार्यहरू पनि अहिलेसम्म हुनसकेका छैनन् ।

तर भिजिट नेपाल २०२० का लागि सरकारले यो आर्थिक वर्षको बजेटमा १० करोड विनियोजन गरे पनि संयोजक वैद्य भने बजेट अपुग भएको भन्दै सरकारसँग बजेट बढाउन माग गरिरहेका छन् । कम्तीमा ५० करोड नथपिए भ्रमण वर्षलाई सफल तुल्याउन सकिँदैन भन्दै उनी हिँडिरहेका छन् । सरकारले छुट्याएको १० करोड कर्मचारी खर्चमा नै जाने उल्लेख गर्दै उनले केही दिनअघि मात्रै सरकारसँग थप ५० करोड माग गरेका थिए ।

बजेट वृद्धिको माग गरे पनि वैद्यले पर्यटन व्यवसायी र संघसंस्थाहरूसँग भने राम्रो समन्वय गरेर गति दिन सकेका छैनन् । भ्रमण वर्षलाई सफल तुल्याउन सातवटै प्रदेशमा प्रदेशस्तरीय कमिटीहरू गठन भएका छन् । प्रदेशस्तरीय कमिटी गठन भए पनि ती कमिटीहरू त्यति चलायमान हुन सकेका छैनन् । ती कमिटीहरू नाम मात्रको कमिटी रहेको बताइन्छ ।

राष्ट्रिय संयोजक वैद्यले ‘भिजिट नेपाल २०२०’को कमिटीलाई पनि आफ्नै तौरतरिकाले चलाइरहेका छन् । १९ जनाको कमिटीमा केही पर्यटन व्यवसायीहरूलाई राखे पनि वैद्यले अधिकांश सदस्यहरूमा भने आफ्नै अनुकूलका मानिसहरूलाई राखेका छन् । उनले आफ्ना कुरा नकाट्ने होटल अन्नपूर्णका मालिक सिर्जना राणा, चारू चढ्ढा, पोखराको बाराही होटलका मालिक विप्लव पौडेल, विज्ञापन व्यवसायी रञ्जित आचार्यलगायतलाई टिममा राखेका छन् ।

पर्यटन व्यवसायीका तर्फबाट भने टानका अध्यक्ष नवराज दाहाल, कृष्णहरि खत्रीलगायतलाई राखिएका छन् । यसैगरी अरू सदस्यहरूमा यती एयरलाइन्सका विजय श्रेष्ठ, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी पनि टिममा रहेका छन् ।

तर, टिममा पर्यटन व्यवसायीहरू राखिए पनि संयोजक वैद्यले भने बजेट बनाउने र त्यसलाई कार्यान्वयन गर्ने काममा भने आफ्ना विश्वासपात्रहरूसँग मात्रै सल्लाह गर्ने गरेको बताइन्छ । पर्यटन व्यवसायीहरूलाई भने देखावटी रूपमा मात्र राखिएको देखिएको छ ।

बजेट बनाउने विषयमा उनले राणा, चढ्ढा, पौडेल र आचार्यलाई मात्र हातमा लिने गरेका छन् । संयोजक वैद्यले पर्यटन व्यवसायी तथा संघसंस्थाहरूलाई परिचालित नगरी सीमित व्यक्तिहरूलाई मात्र हातमा लिएर काम गर्दा भिजिट नेपाल २०२० सार्थक ठहरिनेमा आशंका गर्न थालिएको छ ।

बुधबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७