‘प्रदेश–२ मा स्वास्थ्य र शिक्षाको अवस्था कहालीलाग्दो’


९ श्रावण २०७६, बिहीबार
1 janakpur today 111 15

जनकपुरधाम, ९ साउन । उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताएका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडाँै उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक देखिएको चर्चा गरे ।

उनले प्रदेश नं २ मा हृदय, मृर्गौला, मधुमेहलगायतका नसर्ने बिरामी अन्य प्रदेशको दाँजोमा धेरै देखिएकाले खानपान र आचरण सुधारका लागि जनचेतना अभिवृद्धिको अभियान सञ्चालनको आवश्यकतामा जोड दिए । उपप्रधानमन्त्री यादवले प्रदेश नं २ का मुटुरोगीहरूको संख्यालाई दृष्टिगत गर्दै शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखा जनकपुरधाममा स्थापना गरिएको उल्लेख गरे ।

‘हृदय केन्द्रलाई विस्तार गर्न जनकपुर अस्पतालले जग्गा उपलब्ध र प्रदेशले भवन निर्माणका बजेट विनियोजन गरिसकेकाले आगामी दिनमा यसबाट अत्याधुनिक उपचार सेवा उपलब्ध हुनेछ’, उपप्रधानमन्त्री यादवले भने ।

प्रदेश नं २ मा क्यान्सर रोगको उपचारका लागि अस्पताल निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको र अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उनले प्रारम्भमा भरतपुर क्यान्सरको सहयोगमा यस प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन हुने जानकारी दिए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अस्पताललाई प्रदेशको नमूना अस्पताल बनाउनु पर्ने खाँचो आँैल्याए । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको जनकपुरधाममा शाखा स्थापनाले प्रदेशवासीले उपचारमा सहजता पाएको चर्चा गर्दै उनले शाखाबाट अन्तरङ्ग सेवा पनि सञ्चालन हुनु आवश्यक रहेको बताए ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारद्वारा आगामी ७० दिनभित्र शाखामा क्याथ ल्याब स्थापना गरिने जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुर अस्पतालको स्तरोन्नति हुनुपर्ने धारणा राखेका छन् ।

जनकपुर अस्पतालका प्रमुख डा. नागेन्द्रप्रसाद यादवले अस्पतालमा पूर्वाधार पर्याप्त भएकाले यसको सेवा विस्तारका लागि सरकारसँग रु १० करोडको व्यवस्थाका लागि माग गरे । प्रदेश नं २ का स्वास्थ्य निर्देशक डा. प्रमोद यादवले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको शाखाबाट प्रदेशका ६० लाख जनसंख्याले सहज रूपमा उपचार सेवा पाउने बताए ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले जनकपुर शाखाबाट आगामी तीन वर्षभित्र आकस्मिक र अन्तरङ्ग सेवा पनि उपलब्ध हुने जानकारी दिए । शाखाका प्रमुख डा. राकेश साहले शाखाले गत माघ महिनादेखि हालसम्ममा तीन हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरेको जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७